काठमाडौँ /१ पुष – काठमाडौँ महानगरका विद्यालय तत्काल नखुल्ने भएका छन । विज्ञहरुको छलफल पछि महानगरपालिका भित्रका विद्यालय तत्काल नखोल्ने निष्कर्षमा पुगेको हो ।
काठमाडौँ महानगरपालि शिक्षा विभागले बुधबार जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरुसँग छलफल गरेको थियो ।
काठमाडौं शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नन्दलाल पौडेलले काठमाडौँका ११ मध्ये ९ वडा स्थानीय तहले विद्यालय सञ्चालन गरेको बताउनु भयो । साथै विद्यालय सञ्चालन गरेकै कारण कोभिड फैलिएको देखिए पनि सरोकारवालसँग छलफल गरेर अघि बढ्दा राम्रो हुने बताउनु भयो ।
त्यसैगरी काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले पनि अहिलेको अवस्थामा अनलाइन कक्षाहरुलाई प्रभावकारी बनाएर केही समयपछि मात्रै खोल्दा राम्रो हुने बताउनुभयो ।साथै ‘स्वास्थ्य मन्त्रालयले उपत्यकामा मात्रै पुस महिना भित्रमा ५० हजारको ‘एन्टीजेन टेष्ट’ गर्ने भनेको छ । यो विचको अवधीमा अनलाइन कक्षालाई प्रभावकारी बनाउँ उहाँले भन्नुभयो ।’
उहाँले बालबालिकाले स्वास्थ्य मापदण्ड आफै पालना गर्न सक्दैनन त्यसैले सबै विद्यालयलाई एउटै मापदण्ड बनाउने र खोलेका विद्यालयको अनुगमन गर्ने, स्वास्थ्य मापदण्ड पुरा नभएको भए बन्द गर्नेसम्मको तयारीमा जानुपर्नेमा बताउनु भयो ।
महानगरपालिका शिक्षा विभाग प्रमुख नमराज ढकालले छलफल र समन्वय गरेरमात्र विद्यालय खोल्ने नखोल्ने निर्णयमा पुग्ने बताउनुभयो । ‘बुधबार जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरुसँग गरेको छलफलले पनि तत्काल जोखिम नघटेकाले विद्यालय सञ्चालन गर्न हतार गर्नु नहुने सुझाव दिएको छ,’ उहाँले भन्नुभयो, ‘ हामी विज्ञहरुसंगको छलफलमा निरन्तर रहन्छौँ । तयारी पनि अघि बढाइ रहन्छौँ । त्यसपछि अवस्था हेरेर मात्रै विद्यालय खुला गर्छौ । तर अहिलेकै अवस्थामा विद्यालय खोल्न नहुने बताउनु भयो ।


