शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि पुनः बन्द हुन थाले विद्यालय

कर्णाली /३० मंसिर – शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि खोलिएका विद्यालय पुनः बन्द हुन थालेका छन । सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै लामो समय पछि कर्णाली प्रदेशका विद्यालय खोलिए पनि विद्यालय खोलिएको एक महिना नपुग्दै पुनः बन्द हुन थालेका हुन ।

सुर्खेतमा गरिएको परीक्षणमा एक विद्यालयका ११ सहित १७ शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द हुने अवस्था आएको हो । साथै सङ्क्रमण देखिएका शिक्षकहरु होम आइसोलेसनमा रहेकोे र अवस्था सामान्य रहेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जानकारी दिएको छ । शिक्षकसंगै चार विद्यार्थीमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएका शिक्षकमध्ये सुर्खेत पञ्चपुरी नगरपालिकाको सूर्यप्रकाश माध्यमिक विद्यालय पलैटेका ११ शिक्षक सोही नगरपालिकाको विद्याज्योति माध्यमिक विद्यालय बाबियाचौरका दुई शिक्षकलाई पनि सङ्क्रमण देखिएको छ ।

त्यसैगरी गुर्भाकोट नगरपालिका सुर्खेतको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका दुई र जनसेवा आधारभूत विद्यालयका एक शिक्षकमा पनि कोरोना सङ्क्रमण देखिएको नगरपालिकाले जानकारी दिएको छ । शिक्षकमा कोरोना देखिएपछि विद्यालय बन्द गरिएको छ ।

पञ्चपुरी नगरपालिकाले शिक्षकमा कोरोना सङ्क्रमण नेगेटिभ नआउञ्जेलसम्मका लागि एकसाता विद्यालय बन्द हुने बताएको छ । सङ्क्रमित शिक्षकको कन्ट्याक्ट ट्रेसिङ गरेर रिपोर्ट आएपछि विद्यालय खोल्ने वा नखोल्ने पछि निर्णय गरिने नगरपालिकाले जानकारी दिएको छ ।

त्यसैगरी हुम्ला नाम्खा र ताजाकोट गाउँपालिकाका विद्यालय एक महिनाअघि खोलिए पनि शिक्षक तथा विद्यार्थीमा कोरोना सङ्क्रमण देखिए पछि हुम्लाका विद्यालय बन्द भएका छन । बन्द विद्यालय माघ १५ पछि मात्र खोल्ने शिक्षा विकास तथा समन्वय एकाइ हुम्लाले जानकारी दिनुभएको छ ।