जुम्ली उर्फ राजन सर

कृष्ण सुदामा

शिक्षक,नयाँकिरण कमलकुसुम मा. वि. भाजाड,चितवन।

आखिर भेट्नु र छुट्नुको उपक्रम न रहेछ जिन्दगी ।शिरमा ढाका टोपी , घाँटीमा रामनामी पीत वस्त्र , जोसिलो र हँसिलो युवा।शिक्षक तालिमको दौरानमा शिक्षक तालिम केन्द्र भरतपुरको तालीम कक्षमा भेट्टिनु र ख्याल ख्यालमै उसको व्यक्तित्व , लबज र हाउभाउले नजानिदो स्नेहभाव, आकर्षक र बन्धुत्वभाव बढोत्तरी हुँदै जानु। तालिमको समयावधिमा जुम्ली मेरो मन मष्तिष्कमा छाइरह्यो।जिज्ञासा र जानकारीलाई मज्जाले राख्नसक्ने खुवी यदाकदा आवश्यकताभन्दा कमबेसी हुँदा म आफूले नै बिराए झैँ चुप रहनु बेश हुन्थ्यो कि झैँ लाग्थ्यो मलाई ।डेढ अक्कलीको हूलमा उ कहिल्यै लगलगी कामेको र लुसुक्क आफ्नो बाटो लागेको भेउ पाइन मैले।पहाडी भेग चण्डीभञ्ज्याङ्ग अन्तर्गतको तत्कालीन राष्ट्रिय प्राथमिक विद्यालय तुन्तेसमा प्र। अ। भै आफूले गरेका प्रयासहरुको फेहरिस्तले मान्छे जाँगरिलो र आँटिलो पुष्टि हुन्थ्यो । घाम र घडी हेरेर तनखा थाप्नेहरुका अगाडि उ कर्मवीर भान हुन्थ्यो यद्यपि सोह्र श्राद्दका पुरेतझैँ झोला भिरेर यो वा त्यो बहानामा कार्यालय कत्तिको धायो , उपलब्धि कति पायो, हाकिमलाई कति र कसरी रिझायो, साथीहरुलाई कति जोतायो र आफू कति जोतियो यसको लेखाजोखासरोकारवाला र मुल्यांकन इतिहासले गर्ला ।

जुम्ली उर्फ राजन कार्की,शिक्षक,नयाँकिरण कमलकुसुम मा. वि. भाजाड,चितवन

तालीमबाट छुटे पश्चातको पहिलोभेटमा उसलाई र मलाई रोगले एकैचोटि अठ्याएको र तङ्रीएको विषयप्रमुख बने हामी माँझ।पृथ्वी गोलो छ।घुम्दै फिर्दै आज मेरो सहकर्मी भएको छ जुम्ली।हाम्रो चाख, उसको खुवी र विद्यालयको आवश्यकतानुसार लामो कसरत पछि हामी उसलाई पाउन सफल भयौं ।जुम्लीको कुटुरो भित्रको ज्ञान, सीप र प्रविधिको पोको क्रमशस् फुकाउँदै र हस्तान्तरण गर्दै जाने क्रम शनैस् शनैस् सुरु भयो।टल्कने पहेँला धातुहरु सबै सुन हुन नसकेझैँ जुम्लीपनि सबैका नजरमा उम्दा नठहर्नु अनौठो होईन फेरि सुन जाँच्ने जौहरी कत्तिको पारखी छ भन्ने कुराले पनि धातु पहिचान गर्ला। चितवनसँग ससुराली साइनो गाँसे पश्चात् चितवन र जुम्लाको संयोगले उसको खुवीमा पाइन थपेको महसुस हुनथाल्यो।जवानी क्रमशः पग्लदै जाँदा सम्भावनाका ढोकाहरु खुलेका हुन सक्छन् , मेरो मनोविज्ञानको ठहर।हरेक पुरुषको सफलताको पछाडि नारीको हात हुन्छ भने झैँ उसको जीवनमा जेनिता साक्षत् देवी र संजीवनी बनेर आइन् जसले उर्जा मर्न भन्दा भर्न सघाइन्। यि दुई पठित दम्पती शोभनीय जिन्दगीमा रम्ने क्रम बढ्दै जाँदा म हर्षले पुलकित हुन्थे।जुम्ली यत्रतत्र छाउन थाल्यो । पत्रपत्रिका , रेडियो , अनलाइन , अफलाइन, फेसबुक , म्यासेन्जर…

आजसमयान्तरमा दरबन्दी मिलानको दौरानमा जुम्ली कटौतीमा परेर अन्यत्र सरुवा हुने पक्कापक्कीले कताकता नमिठो अनुभूति सिर्जना हुनु प्राकृतिकताको प्रमाण होला।त्यसो त भेट्टिनु र छुट्टिनुको नाम नैतरहेछ जिन्दगी।तथापि केही भेट भरपेट तृप्त नहुँदै छोडीएको खानाझैँ छोड्नुपर्दा हुने मानवीय सम्वेदनाले नै सम्बन्ध अझै गाढा र एकापसका काँढा नामेट पार्न कामयाव हुनेछ भन्ने ठम्याइका साथ जुम्लीको आगामी शैक्षिक यात्रा अझै सबल, सक्षम , उँचो र उजेलो हुने कुरामा अहिले आशावादी मात्रै हुन सकिन्छ।बाँकी समयको जिम्मा।सम्झनाका तरेली र आँखाका परेलीमा छिपेको एउटा बिम्ब जुम्ली उर्फ राजन कार्की।