अनाधिकृत रूपमा मन्त्रालयको नाम र सरकारी छाप प्रयोग भएको शिक्षा मन्त्रालयको आरोप


काठमाडौं/ २१ मंसिर – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाका लागि राष्ट्रिय अभियान एनसिई नेपाल र ग्लोबल एक्सन नेपाल गैह्र सरकारी संस्था द्धारा अनाधिकृत रूपमा मन्त्रालयको नाम,नेपाल सरकारको निसाना छाप प्रयोग भएको भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।


साथै नेपाल सरकारमा रहेको प्रतिलिपि अधिकार समेत उलंघन गरेको आरोप लगाएको छ । मन्त्रालयले यस विषयमा प्रचलित कानुन बमोजिम कारवाही प्रक्रिया अगाडि बढाउन समेत सम्बन्धित निकायलाई पत्र लेखेको विज्ञप्ति मार्फत जानकारी दिएको छ ।


यसप्रकारका कार्यमा संलग्न शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल एनसिई नेपाल र सदस्य संस्था ग्लोबल एक्सन नेपालसँग शिक्षाका क्षेत्रमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र मातहतका निकायले गर्दे आएको सहकार्य भङ्ग गरेको विज्ञप्तिमा भनिएको छ ।


उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सरकारले दुई वर्ष सम्म गुपचुपमा राखेको भन्दै एनसिई नेपाल र ग्लोबल एक्सन नेपालको संयुक्त अगुवाइमा आयोगको प्रतिवेदनलाई पुस्तिकाको रुपमा छापेर मंसिर १९ गते राजधानीमा सार्वजनिक गरिएको थियो ।