काठमाडौं /१४ कार्तिक – नेपाल फर्कन लागेको निहुँमा देहरादुनस्थित शाक्य एकेडेमीमा दसैं टीकाको दिन निर्घात कुटिएका पाँच विद्यार्थी महेन्द्रनगर आइपुगेका छन ।
महेन्द्रनगर आइपुगेका पाँच सहित ५१ जनालाई नेपाल फर्कन लागेको निहुँमा देहरादुनस्थित शाक्य एकेडेमीका अध्यक्ष तथा प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले १० कात्तिकमा निर्घात कुटपिट गरेको विद्यार्थीका अभिभावकहरूले बताएका छन ।
शाक्य एकेडेमीमा करिब दुई सय नेपाली विद्यार्थी अध्ययनरत छन । एकेडेमीबाट आउने लामाहरूले हरेक वर्ष मंसिर पूर्णिमाका दिन लुम्बिनी हुने बौद्ध पुजाबाट गरिब तथा जेहेन्दार विद्यार्थी छनौट गरेर लाने गरेका थिए ।
कुटिनेमा सिन्धुपाल्चोक, बाग्लुङ, रुकुम, जुम्ला, हुम्ला, नुवाकोट, रामेछापलगायत १९ जिल्लाका विद्यार्थी छन । आफूले पहिलो पटक एकेडेमीमा यस्तो घट्ना भएको थाहा पाएको सिन्धुपाल्चोकका एक अभिभावकले बताए ।
विद्यार्थीहरूको विषयमा छानविन भइरहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए । विद्यार्थीहरूलाई उद्धार गर्न माग गर्दै रामेछाप, सिन्धुपाल्चोक र नुवाकोटका अभिभावका काठमाडौं आइपुगेका छन ।
महेन्द्रनगर आइपुगेका पाँच विद्यार्थी सबै रोल्पाका रहेको प्रहरी स्रोतले जनाएको छ ।



