खुलेका विद्यालय बन्द गर्न सिन्धुली प्रशासनको निर्देशन


सिन्धुली /१९ असोज – सिन्धुलीका शैक्षिक संस्थाहरू खुल्न थालेपछि सिन्धुली प्रशासनले शैक्षिक संस्था सञ्चालन नगर्न निर्देशन दिएको छ । संक्रमण दर उच्च रुपमा बढीरहेको अवस्थामा जिल्ला भित्रका केहि स्थानका विद्यालयहरुमा भौतिक रुपमै विद्यार्थीहरुको उपस्थितीमा पठनपाठन गर्न थालेकोले विद्यार्थीको उपस्थितीमा पठनपाठन नगराउन निर्देशन दिएको हो ।

शिक्षा मन्त्रालयले विद्यार्थीहरूको शिक्षण सिकाइका गतिविधि अवरुद्ध नहोस भनेर विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेको र निर्देशिका बमोजिम शिक्षण सिकाइका गतिविधिहरु सञ्चालन गर्न सम्पुर्ण पलिकाहरु र विद्यालय व्यावस्थापन समितिहरुलाइ आग्रह गरेको छ ।

विद्यालय, क्याम्पसलगायत सबै प्रकारका शैक्षिक संस्था तथा परीक्षासमेत अर्को सूचना जारी नभएसम्म सञ्चालन नगर्ने–नगराउने निर्णय नेपाल सरकारबाट भएकोले शैक्षिक संस्था सञ्चालन नगर्न भनिएको हो ।

प्रशासनले जारी गरेको विज्ञप्तिमा प्रत्यक्ष सिकाइ अवलम्बन गरी सरकारले गरेको निर्णयविपरीत विद्यालय सञ्चालन गरी संक्रमण फैलिन गएमा संक्रमक रोग ऐन २०२० बमोजिम कारबाही हुने चेतावनि दिएको छ ।

साथै जिल्लामा सामुदायिक वा संस्थागत विद्यालय सञ्चालन गरी संक्रमण फैलिन गएमा सोको सम्पुर्ण जिम्मेवारी सम्बन्धित विद्यालय र विद्यालय व्यावस्थापन समितिले नै लिनुपर्ने सुचनामा उल्लेख छ ।