गण्डकी विश्वविद्यालयमा पहिलो उपकुलपति नियुक्त


पोखरा/ १६ असोज – गण्डकी विश्वविद्यालयले पहिलो उपकुलपति पाएको छ । शुक्रबार गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरुङले प्रा.डा. नवराज देवकोटालाई उपकुलपतिमा नियुक्त गरेका हुन । कुलपति नियुक्त भएको सात महिनापछि गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिएको हो ।

गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. गणेशमान गुरुङ र मन्त्रालयका सचिव सदस्य रहेको सिफारिस समितिले प्रा. डा. नवराज देवकोटालाई उपकुलपतिमा सिफारिस गरेको थियो ।

थाइल्यान्डको चियाङ माई विश्वविद्यालयबाट कृषि विज्ञानमा एमएस्सी र न्युजिल्यान्डको मासे विश्वविद्यालयबाट विद्यावारिधि गरेका देवकोटा यस अघि कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अनुसन्धान तथा प्रसार निर्देशक थिए ।

उपकुलपतिमा नियुक्त भएसँगै देवकोटाले गण्डकी विश्वविद्यालयबाट ८० प्रतिशत प्राविधिक र २० प्रतिशत गैरप्राविधिक जनशक्ति उत्पादन गर्ने बताए ।
गण्डकी विश्वविद्यालय गण्डकी प्रदेश सरकारमातहत रहेको विश्वविद्यालय हो ।