विद्यालय खोले कारबाही गर्ने काठमाडौं प्रशासनको चेतावनी, सबै पालिकालाई पत्राचार


काठमाडौं/ १६ असोज – काठमाडौ उपत्यकामा विद्यालय खुल्न थाले पछि यस्ता गतिविधि नगर्न प्रशासनले निर्देशन दिएको छ । मन्त्रिपरिषद्को निर्णय विपरीत विद्यालय सञ्चालन हुन थालेपछि प्रशासनले त्यस्ता गतिविधि रोक्न चेतावनी दिएको हो ।

विद्यालयहरुले विद्यार्थीलाई विद्यालय बोलाएर धमाधम पढाउन थाले पछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सम्पूर्ण स्थानीय तहलाई पत्राचार गरेर सरकारी निर्णयको पूर्णः पालना गर्न सचेत गराएको हो । साथै निर्णय कार्यान्वयन गर्न सबै पालिकालाई पत्राचार गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले खबर एजुकेशनलाई जानकारी दिए ।

कोभिड – १९ को महामारी बढिरहेको अवस्थामा धमाधम विद्यालय खुल्न थालेपछि अभिभावकको पनि गुनासो आएको र सरकारले मापदण्ड पालना गरेर सञ्चालन गर्न दिने निर्णय गरेपछि मात्रै विद्यालय खोल्न प्रशासलने आग्रह गरेको छ । साथै यसरी विद्यालय सञ्चालन गरेर सरकारले बन्देज लगाएको गतिविधि गर्नु गैरकानुनी भएको विद्यालयलाई जानकारी गराए प्रशासनले जनाएको छ ।

यदि सरकारको यो निर्णयलाई अटेर गरी कसैले आफ्नै निर्णयमा विद्यालय सञ्चालन गर्न खोज्छ भने कारबाही गरिने दाहालले बताए ।

अरु धेरै क्षेत्रहरु खुला गरिए पनि स्कुल,कलेज लगायतका सम्पुर्ण शैक्षिक संस्थाहरु अझै पनि खुला गरीएको छैन ।