संक्रमित संख्या धेरै रहेको काठमाडौमा खुल्न थाले विद्यालय


काठमाडौ /१५ असोज -अनलाइनबाट पठनपाठन गर्ने सम्भावना कम देखेपछि बाध्य भएर विद्यार्थीलाई विद्यालयमै उपस्थित गराएर काठमाडौका विद्यालयले पनि पठनपाठन सुरु गरेका छन् ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका ७ महादेवस्थानको प्रभात माविले विद्यार्थीलाई भौतिक रुपमा उपस्थित गराएर दिनमा दुई सिफ्टमा विद्यार्थी पढाइरहेको छ । चन्द्रागिरि नगरपालिकाले सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न अनुमति दिएपछि सञ्चालन भएको हो ।

बिहानी सिफ्टमा आइतबार कक्षा ५, सोमबार कक्षा ४, मंगलबार कक्षा ३, बुधबार कक्षा २ र बिहीबार कक्षा १ का विद्यार्थी भौतिक रूपमा नै विद्यालय आएर पढ्छन् । दिउँसोको सिफ्टमा आइतबार कक्षा १०, सोमबार ९, मंगलबार ८, बुधबार ७, बिहीबार ६ को पढाइ हुँदै आएको छ । असोज १ गतेदेखि विद्यार्थी सातामा एक दिन विद्यालय पुगेर पढि रहेका छन् ।

‘विद्यार्थीले अनिवार्य रूपमा मास्क,सेनिटाइजर लगाउनुपर्छ भने कक्षाकोठा प्रवेश गर्नुअघि विद्यार्थीले साबुनपानीले हात धुनुपर्छ । साथै कक्षाकोठामा पनि एउटा बेन्चमा एक जना मात्रै विद्यार्थी राखिएको छ । विद्यालय प्रवेश गर्दा र बाहिर निस्कँदा पनि सामाजिक दूरीअनुसार लाइनमा विद्यार्थीहरू आउने जाने गर्छन् ।

त्यसै गरि काठमाडौंको कागेश्वरी मनोहरा–६, मूलपानीस्थिति विद्यामठ आवासीय विद्यालयमा पठनपाठन सुरु गरिएको छ । भौतिक दूरी कायम गर्दै सातामा ३ दिन विद्यालय सञ्चालन गरिएको छ ।

स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गरी विद्यालय खोल्न स्थानीय तहको निर्णय पछि विद्यालयमा पठनपाठन सुरु गरिएको विद्यालयले जानकारी दिएको छ । साथै भीडभाड नहोस भनेर विद्यालय हाता भित्र क्यान्टिन सञ्चालन गरिएको छैन ।

एउटा बेच्नमा दुई विद्यार्थी मात्रै राख्ने राखिएको छ । त्यसै गरि मास्क, सेनिटाइजर अनिवार्य गर्दै तापक्रम नापेर मात्रै स्कुलमा प्रवेश गराउने गरिएको छ । कक्षाकोठामा पनि मास्क अनिवार्य गराइएको छ । विद्यार्थीलाई बिहान ७ बजेदेखि ११ बजेसम्म मात्र पढाउने गरिएको छ ।

कोरोनाभाइरस महामारीका कारण शिक्षा मन्त्रालय र जिल्ला प्रशासन कार्यालयले विद्यालय नखोल्नू भनेका छन् । तर चन्द्रागिरी नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाले निर्णय गरेर नगरभित्रका विद्यालय खुलाएका छन् ।