सरकारसमक्ष शिक्षक महासङ्घको ७ बुँदे माग, सम्बोधन नभए आन्दोलनमा जाने चेतावनी

काठमाडौँ /१३ मंसिर – नेपाल शिक्षक महासङ्घले शिक्षक तथा विद्यालय कर्मचारीका विभिन्न समस्या तत्काल समाधान गर्न सरकारसमक्ष सात बुँदे माग अघि सारेको छ । महासङ्घले विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नभएकोप्रति असन्तुष्टि जनाउँदै माग सम्बोधन नभए कडा तथा निर्णायक आन्दोलनमा जाने चेतावनी दिएको छ ।


महासङ्घले जारी गरेको विज्ञप्तिमा नेपाल सरकार र शिक्षक महासंघबिच विगतमा भएका सहमति कार्यान्वयन भएको भए शिक्षा क्षेत्रका अधिकांश समस्या समाधान भइसक्ने र सार्वजनिक शिक्षाको गुणस्तर सुधारमा उल्लेखनीय प्रगति हुने उल्लेख गरिएको छ ।


शिक्षक आन्दोलनका क्रममा विभिन्न सहमति गर्ने र सार्वजनिक रूपमा प्रतिबद्धता जनाउने तर कार्यान्वयनमा इमानदारीता नदेखाउने राज्यको प्रवृत्तिका कारण शिक्षक–कर्मचारी लामो समयदेखि पीडित बन्नुपरेको महासङ्घको भनाइ छ । वर्तमान सरकारले समेत शिक्षक–कर्मचारीका समस्याप्रति पर्याप्त संवेदनशीलता नदेखाएको विज्ञप्तिमा भनिएको छ ।


महासङ्घले शिक्षा मन्त्रालयलाई निम्न सात बुँदामा ध्यानाकर्षण गराएको छ ।


१. निवृत्तिभरणसम्बन्धी व्यवस्था : नयाँ विद्यालय शिक्षा ऐन जारी भएको मितिलाई आधार बिन्दु बनाई त्यसअघि स्थायी भएका शिक्षकलाई पुरानै प्रणालीअनुसार निवृत्तिभरण दिने व्यवस्था गर्नुपर्ने । नयाँ ऐन जारी भएपछि स्थायी हुने शिक्षक–कर्मचारीका हकमा योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागु गर्नुपर्ने र सोहीअनुसार निवृत्तिभरण ऐन संशोधन गर्नुपर्ने माग गरिएको छ ।


२. अस्थायी सेवा अवधि गणना : आन्तरिक प्रतिस्पर्धाबाट स्थायी भएका शिक्षकको निवृत्तिभरण प्रयोजनका लागि नपुग सेवा अवधि अस्थायी सेवाबाट जोडेर निवृत्तिभरण दिने व्यवस्था गर्नुपर्ने । यो सुविधा हाल निवृत्ति भइसकेका सम्बन्धित शिक्षकलाई समेत उपलब्ध गराउनुपर्ने महासङ्घको माग छ ।


३. दुर्गम तथा स्थानीय भत्ता : दुर्गम क्षेत्रमा कार्यरत शिक्षकलाई विगतमा उपलब्ध हुँदै आएको दुर्गम तथा स्थानीय भत्ता पुनः निरन्तरता दिनुपर्ने माग गरिएको छ । कार्यक्रम कार्यान्वयन पुस्तिकामा समावेश नभएको आधारमा भत्ता हटाउनु र विगतमा प्राप्त भत्ता फिर्ता माग्नु अन्यायपूर्ण भएको महासङ्घको ठहर छ । सबै शिक्षकलाई दुर्गम तथा स्थानीय भत्ता उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।


४. विद्यालय कर्मचारी र इसिडी शिक्षकको दरबन्दी : विद्यालय कर्मचारी तथा प्रारम्भिक बालविकास (इसिडी) शिक्षकका लागि दरबन्दी सिर्जना गरी पदअनुसार नेपाल सरकारबाट तलबभत्ता उपलब्ध गराउनुपर्ने माग महासङ्घले राखेको छ ।


५. विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने : नेपाल शिक्षक महासङ्घसँग संस्थागत सहकार्य र संवाद गरी विद्यालय शिक्षा ऐनको विधेयक मस्यौदा तयार गर्नुपर्ने तथा विगतमा भएका सहमति सम्बोधन हुने गरी विद्यालय, विद्यार्थी, शिक्षक र कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन अविलम्ब जारी गर्नुपर्ने माग गरिएको छ ।


६. ५४ बुँदे माग सम्बोधन : नेपाल शिक्षक महासङ्घको तेस्रो राष्ट्रिय परिषद्बाट पारित भई पेस गरिएको ५४ सूत्रीय माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरिएको छ ।


७. महासङ्घको विधान स्वीकृति : नेपाल शिक्षक महासङ्घले शिक्षा नियमावली (दशौँ संशोधन) को नियम १७८ को उपनियम ३ अनुसार मन्त्रालयमा पेस गरेको विधान अविलम्ब स्वीकृत गर्नुपर्ने माग गरिएको छ ।


महासचिव तुलाबहादुर थापा र अध्यक्ष सुन्दर पन्तद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा मागहरूलाई बेवास्ता गरिए शिक्षक–कर्मचारीका हकहित र सार्वजनिक शिक्षाको संरक्षणका लागि कडा तथा निर्णायक आन्दोलनमा जान बाध्य हुने भनिएको छ ।