न्यू मिलेनियम स्कुलमा तीनदिने मोडेल युनाइटेड नेसन्स् कार्यक्रम सुरु

काठमाडौं/१२ मंसिर – न्यू मिलेनियम स्कुलमा आजदेखि तीनदिने मोडेल युनाइटेड नेसन्स् (एमयुएन) कार्यक्रम सुरु भएको छ । मंसिर १२ देखि १४ गतेसम्म सञ्चालन हुने कार्यक्रमको औपचारिक उद्घाटन युनिसेफका प्रारम्भिक बालविकास विशेषज्ञ डा. दिपु शाक्यको प्रमुख आतिथ्यमा गरिएको हो ।


विद्यार्थीलाई कक्षाकोठाको किताबी ज्ञानभन्दा बाहिर अन्तर्राष्ट्रिय परिवेश, विश्वव्यापी समस्या, विभिन्न देशका दृष्टिकोण तथा नीतिनिर्माण प्रक्रियाबारे व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।


कार्यक्रममा विद्यार्थीहरूले विभिन्न अन्तर्राष्ट्रिय मुद्दामाथि छलफल, बहस तथा विचार आदानप्रदान गर्दै सम्भावित समाधानका उपाय र अवधारणाहरू निर्माण गर्नेछन् ।


कार्यक्रम उद्घाटनका अवसरमा प्रमुख अतिथि डा. शाक्यले यस्ता अभ्यासले विद्यार्थीमा नेतृत्व क्षमता, चुनौतीको सामना गर्ने आत्मविश्वास र सामूहिक रूपमा काम गर्ने संस्कारको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले बोल्नुअघि सुन्ने, फरक परिवेश र दृष्टिकोणलाई बुझ्ने तथा सैद्धान्तिक रूपमा असहमत हुँदा पनि सभ्य र तर्कपूर्ण ढङ्गले आफ्नो धारणा राख्न सिकाउने अवसर एमयुएनले प्रदान गर्ने धारणा व्यक्त गरे ।


त्यसैगरी, विद्यालयका संस्थापक अध्यक्ष प्रविज्ञ रेग्मीले विद्यार्थीलाई कूटनीतिक सीप सिकाउनुका साथै विश्वव्यापी रूपमा देखिएका समस्या, तिनका समाधानका उपाय र सामाजिक रूपान्तरणका सवालमा सचेत तथा जिम्मेवार बनाउन एमयुएनले सहयोग पु¥याउने बताए ।


‘मोडेल युनाइटेड नेसन्स्’ कार्यक्रममा विद्यार्थीहरू विभिन्न आठवटा समितिमा विभाजित भई विभिन्न देशका प्रतिनिधिका रूपमा सहभागी हुनेछन् । उनीहरूले सम्बन्धित देशका अन्तर्राष्ट्रिय नीति, दृष्टिकोण र विश्वव्यापी मान्यताहरूको अध्ययन गर्दै समसामयिक अन्तर्राष्ट्रिय समस्या तथा तिनको समाधानका विषयमा छलफल र बहस गर्नेछन् ।


विद्यार्थीको नेतृत्व क्षमता अभिवृद्धि, आलोचनात्मक सोच, सञ्चार तथा सहकार्य सीपको विकासमा योगदान पु¥याउने उद्देश्यले विद्यालयले एमयुएन कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।