काठमाडौं/१२ मंसिर – विद्यालय शिक्षा विधेयकलाई थप व्यावहारिक बनाउन सातै प्रदेशबाट संकलन गरिएका सुझाव शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई हस्तान्तरण गरिएको छ ।
शिक्षा मन्त्रालयको आयोजना तथा प्रधानाध्यापक संघ नेपालको सहजीकरणमा सातै प्रदेशमा सञ्चालन गरिएको ‘शिक्षा संवाद’ कार्यक्रमबाट प्राप्त सुझाव समेटिएको प्रतिवेदन शुक्रबार मन्त्री पोखरेललाई हस्तान्तरण गरिएको हो ।
सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, विद्यालय कर्मचारी, प्रदेश तथा स्थानीय तहका प्रतिनिधिसहित शिक्षा क्षेत्रका विभिन्न सरोकारवालासँग गरिएको छलफलका आधारमा प्रतिवेदन तयार पारिएको जनाइएको छ ।
प्रतिवेदन बुझ्दै मन्त्री पोखरेलले विद्यालय शिक्षा ऐन निर्माण प्रक्रियामा सबै सरोकारवालाको सहभागिता र स्वामित्व सुनिश्चित गर्न शिक्षा संवाद आयोजना गरिएको बताए । पर्याप्त छलफल र परामर्शबिना निर्माण गरिएका कानुन कार्यान्वयनका क्रममा समस्यामा पर्न सक्ने भएकाले सरोकारवालाका सुझावलाई महत्त्व दिइएको उनको भनाइ थियो ।
मन्त्री पोखरेलले यस अघि निर्माण गरिएको शिक्षा ऐनको मस्यौदालाई अगाडी बढाउन सुझाब आएपनि शिक्षक, प्रधानाध्यापक, विद्यार्थी र अभिभावकसँगको छलफलबाट थप महत्त्वपूर्ण विषय समेट्नुपर्ने आवश्यकता महसुस भएको बताए । मन्त्रालयले सातै प्रदेशबाट प्राप्त सुझावको अध्ययन गरी उपयुक्त विषयलाई ऐनको मस्यौदामा समावेश गर्ने प्रतिबद्धता पनि उनले जनाए ।
प्रधानाध्यापक संघ नेपालका अध्यक्ष सुदाम गौतमले सातै प्रदेशसहित विभिन्न माध्यमबाट संकलन गरिएका विद्यालय शिक्षा क्षेत्रका सुझावलाई दस्तावेजीकरण गरी मन्त्रीसमक्ष पेस गरिएको जानकारी दिए ।
संघको भूमिका सुझाव संकलन तथा संवादमा सहजीकरण गर्ने मात्रै रहेको स्पष्ट पार्दै उनले शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, अभिभावक, कर्मचारी तथा अन्य सरोकारवालाका माग, मुद्दा र धारणालाई सम्बन्धित निकायसम्म पु¥याइएको बताए । उनले प्राप्त सुझावको समीक्षा, आवश्यक नीतिगत पैरवी तथा विद्यालय शिक्षा ऐन निर्माण र जारी गर्ने प्रक्रियामा सबै सरोकारवालाको भूमिका महत्त्वपूर्ण हुने अपेक्षा व्यक्त गरे ।
यसैगरी, शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले सातै प्रदेशमा भएका शिक्षा संवादबाट प्राप्त सुझावलाई विषयगत रूपमा वर्गीकरण गरिएको बताए । एनले कुन विषय शिक्षा ऐनमा र कुन विषय शिक्षा नियमावलीमा समावेश गर्न उपयुक्त हुन्छ भन्ने विषय प्रतिवेदनमा छुट्याइएको जानकारी दिए ।
कोइरालाले सरोकारवालाबाट आएका माग तथा सुझाव कार्यान्वयन गर्दा राज्यलाई पर्ने आर्थिक दायित्वको विषयसमेत प्रतिवेदनमा समेटिएको जानकारी दिए । यसले ऐन निर्माणका क्रममा नीतिगत व्यवस्था मात्रै नभई त्यसको कार्यान्वयनका लागि आवश्यक स्रोत र आर्थिक पक्षको मूल्यांकन गर्न सहयोग पुग्ने उनको भनाइ छ ।
शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले सरोकारवालाको अपनत्व र स्वामित्व रहने गरी विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार पार्ने काम भइरहेको बताए । विद्यार्थी, शिक्षक र अभिभावकका विचार तथा सुझाव संकलन गर्ने उद्देश्यले नै शिक्षा संवाद कार्यक्रम सञ्चालन गरिएको उनले स्पष्ट पारे । साथै विद्यालय शिक्षा विधेयकमा अन्य सरोकारवालाका आवाजसमेत समेट्न आगामी दिनमा प्रत्येक हप्ता भर्चुअल बैठक आयोजना गरिने उनको भनाई छ ।
विद्यालय शिक्षा ऐनको मस्यौदालाई अन्तिम रूप दिन शिक्षामन्त्री पोखरेलका सल्लाहकार शैलेन्द्र झाको अध्यक्षतामा छुट्टै समिति गठन गरिएको छ । सातै प्रदेशबाट प्राप्त सुझाव, मन्त्रालयले तयार पारेको मस्यौदा र विभिन्न सरोकारवालाका धारणाको अध्ययन गरी विधेयकलाई अन्तिम रूप दिने सरकारको तयारी छ ।



