आज विजयादशमी, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ/४ कार्तिक – आज हिन्दुहरूको महानचाड बडादसैँ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडादसैँको सबैभन्दा महत्वपूर्ण दिन ।

आजको दिनलाई सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि विजय प्राप्त गरेको दिन मानिन्छ । त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । आज मान्यजन तथा ठुलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी ं दीर्घायु प्राप्त होस भनी आशीर्वाद लिनेगरिन्छ ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।

यस वर्षको टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १०ः२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने भनिए पनि साईत खोज्नेका लागी उक्त सामय रहेको जनाइएको छ ।

विजयादशमीमा टिका लगाउँदा महिला र पुरुषलाई भिन्न भिन्न आर्सीवाद दिने गरिन्छ जसको मन्त्रोच्चारण शब्द फरक छ ।

पुरुषलाई टिका लगाइदिँदा भन्ने आशीर्वाद

ॐ

आयु द्रोण सुते, श्रृयँ दशरथे शत्रुक्षयँ राघवे

ऐश्वर्य नहुषे, गतिश्च पवन, मानं च दूर्योधने ।।

सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते

विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

यसको अर्थ

द्रोण पुत्र अस्वस्थमाको जस्तो आयु होस्, राजा दशरथको जस्तो कृति होस, रामको जस्तो अजात शत्रुत्व हरणको क्षमता होस, राजा नहुषको जस्तो ऐश्वर्य होस, वायुको जस्तो गति होस, दुर्योधनको जस्तो मान होस । सूर्य पुत्र झै दानी होस, भीमको जस्तो बल होस, युधिष्ठिर जस्तो सत्यवान् होस, विदुरको जस्तो ज्ञान होस, नारायणको जस्तो कृति होस ।

महिलालाई टिका लगाइदिँदा भन्ने आशीर्वाद

ॐ

जयन्ती मङ्गलाकाली,

भद्रकाली कपालिनी।

दुर्गा क्षमा शिवाधात्री,

स्वाहा स्वधा नमोऽस्तुते।

अर्थात् ति देवी जसले सम्पूर्ण संसारलाईनै विजय गर्न सक्ने सामर्थ्य राख्दछिन, जो हरेक अन्धकारको निदान गर्न सक्दछिन, समयको पाबन्दीभन्दा पर रहेकी ति देवी जो मानव खप्परको माला लगाउँदछिन अनि हरेक प्रकारका दुखःको निदान गर्न सक्दछिन । यो जगतको रक्षा गर्ने हे देवी यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौँ ।