काठमाडौँ/३ असोज – एन–प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले नैतिक शिक्षालाई पाठ्यक्रममा राख्दैमा व्यवहारमा परिवर्तन नआउने बताउँदै सकारात्मक सोच निर्माण गर्न सकिए प्रभावकारी हुने बताएका छन् ।
विद्यार्थीलाई रीति रिवाज, मौलिकतामा जोड् दिन सकिए नैतिक शिक्षा त्यही बाट सुरुवात हुने र यसका लागी शिक्षकले पनि कोर्स सक्नका लागी मात्रै पढाउने भन्दा पनि सिकाउनका लागी पढाउनु पर्ने उनको भनाई छ ।
उनले आफूले पनि विद्यालयमा पूर्व व्यवसायी शिक्षा पढेको उदाहरण दिँदै त्यो समयमा नैतिक शिक्षाको पढाई हुने गरेपनि समाजसँग बढी जोडिएको तथा संयुक्त परिवारमा बसेकाले के गर्न हुने, के गर्न नहुने भन्ने सिकाई त्यहीबाट भएको बताए ।
अहिले शिक्षाको सार्थकता खोज्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले भने “त्यतिबेला डिग्रीको बढी मान्यता थियो, अहिले शिक्षाको सार्थकता सिपसँग जोडिन्छ होला, त्यसको समालोचनात्मक सोचसँग जोडिन्छ होला, इनोभेशन, सिर्जनशीलता, सकारात्मक सोचसँग जोडिन्छ । अबको शिक्षाको सार्थकता यही हो जस्तो मलाई लाग्छ ।”



