काठमाडौँ /१७ भदौ – केही हप्ता अगाडी म एउटा शिक्षक तालिममा सहजकर्ताको भूमिकामा थिएँ । तालिम सुरु हुँदै थियो । मस्तिष्क झन्जाको लागि एउटा प्रश्न सोधुँ भन्ने लग्यो र सोधेँ पनि । “हजुरहरूले आआफ्ना कक्षाका समस्याहरू राख्नुहोस्“। जिज्ञासा तथा समस्याहरूको लर्को लाग्यो । केही मेरा अनुभव वा विज्ञता भन्दा बाहिरका थिए । त्यता पट्टी म लागिन, तर एउटा प्रश्न राम्रो लग्यो । एक महिला शिक्षकले जुरुक्क उठेर भन्नु भयो “ सर, मेरो कक्षामा विद्यार्थीहरूले सुन्ने धैर्य राख्दैनन्, खाली हल्ला गरेर हैरान पार्छन, के गरौँ सर ?” मेरो सत्र पनि कक्षाकोठा व्यवस्थापनमै केन्द्रित भएकाले, मैले आफ्नै कक्षामा अपनाउँदै आएका केही व्यावहारिक उपाय र अनुभवहरू उहाँहरू सामु राखेँ । विद्यार्थीलाई “चुप लागेर सुन” भन्नुभन्दा पहिले, “मेरो कक्षामा उनीहरूले ध्यान दिएर सुन्न चाहने वातावरण म आफैँले कति सिर्जना गरेको छु ?” हामीले आफैँलाई प्रश्न गर्नुपर्छ भनेर मेरो सेसन अगाडी बढाएँ ।
कक्षाकोठामा “सुन्नु” भनेको के हो ? प्रज्ञा नेपाली बृहत् शब्दकोशले सुन्नुलाई केवल कानले आवाज ग्रहण गर्ने क्रिया मात्र नभई, अरूले भनेको कुरामा ध्यान दिनुका रूपमा पनि परिभाषित गरेको छ । यस अर्थमा कक्षाकोठामा सुन्नु भनेको शिक्षकका शब्द विद्यार्थीको कानसम्म पुग्नु मात्र हैन रहेछ । यो ध्यान, बुझाइ, सम्बन्ध र सहभागितासँग जोडिएको सक्रिय प्रक्रिया रहेछ । विद्यार्थी चुपचाप बसेर शिक्षकतिर हेरिरहेको देखिन सक्छ, तर उसको मन भने कक्षाबाट धेरै टाढा पुगिसकेको हुन सक्दो रहेछ । वास्तविक सुन्नु भनेको भनिएको कुरामा ध्यान दिनु, त्यसको अर्थ बुझ्नु, आफूले पहिले जानेका कुरासँग जोड्नु, प्रश्न गर्नु, प्रतिक्रिया दिनु र प्राप्त बुझाइलाई प्रयोगमा ल्याउनु रहेछ । त्यसैले सुन्नु शिक्षकले बोल्ने र विद्यार्थीले चुपचाप ग्रहण गर्ने एकतर्फी प्रक्रिया होइन । यो संवाद र सिकाइको सुरुवात रहेछ । र जब हामी गुनासो गर्छौँ, “हाम्रा विद्यार्थीहरू सुन्दैनन्,” सायद अर्को, अझ महत्वपूर्ण प्रश्न सोध्नुपर्ने बेला आइसकेको छ, के हामीले उनीहरूलाई साँच्चै सुन्ने कारण दिएका छौँ त ?
गुरु–शिष्य परम्परा
मैले आजकल शिक्षा बहसमा गुरु–शिष्य परम्परालाई प्रायः त्याग्नुपर्ने पदानुक्रमका रूपमा प्रस्तुत गरेको पाएको छु । तर यो परम्परा आफ्नो जरामा केवल तह–तप्का थिएन, यो नजिकपनको सम्बन्ध थियो । गुरुले ध्यानपूर्वक हेर्थे, धैर्यसाथ सच्याउथे र शिष्यमा साँच्चै परिवर्तन नआएसम्म साथै रहन्थे । आजका धेरै कक्षाकोठामा हराएको कुरा गुरुको अधिकार होइन, त्यही नजिकपन नै हो । ठूला कक्षा–सङ्ख्या, परीक्षाको दबाब र एकतर्फी व्याख्यानले त्यो सम्बन्धलाई भित्रैबाट खोक्रो बनाइदिएको छ । अहिले बाँकी रहेको भनेको संरचना मात्र हो; त्यसलाई अर्थपूर्ण बनाउने ध्यान भने बिस्तारै हराउँदै गएको छ ।
विगत एक दशक भन्दा बढी विद्यालय तथा विश्वविद्यालयमा अध्यापन गर्दै आउँदा मैले गुरु–शिष्य सम्बन्धकै मूल भावनालाई निरन्तर अँगाल्दै आएको छु । यसलाई त्याग्नुभन्दा यसको जरामा रहेको त्यही ध्यान र नजिकपनलाई पुनस्थापित गर्ने व्यावहारिक उपाय खोज्नु बढी सान्दर्भिक ठानेको छु । जुन आजको परीक्षाकेन्द्रित र प्रविधिले विचलित बनाएको कक्षाकोठासँग पनि मेल खाओस् । विगत लामो कालखण्डमा यही आफ्नै अनुभवजन्य सिकाइबाट मैले एउटा सरल चक्र बनाएर कक्षाकोठामा प्रयोग गर्दै आएको छु, जसलाई मैल LADFRI नाम दिएको छु । यसको विस्तारित रूप क्रमशः सुन्नु (Listen), सोध्नु (Ask), गर्नु (Do), प्रतिक्रिया दिनु (Feedback), मनन गर्नु (Reflect), र सुधार ल्याउनु (Improve) हो । यो कतैबाट सिधै सापटी लिइएको सिद्धान्त होइन; यो मेरै कक्षाकोठामा, करिब एक दशकको निरन्तर हप्तैपिच्छेको प्रयासबाट बनेको हो । वास्तवमा के कुराले विद्यार्थीको व्यवहार बदल्छ भनी नियालेर तयार पारेको छु ।
सुन्नु : पढाउनुअघि बुझ्नु
यो चक्र त्यहीँबाट सुरु हुन्छ, जहाँ कक्षाकोठाका धेरैजसो समस्या जन्मन्छन्, अनि जहाँ समाधान खोज्ने प्रयास सबैभन्दा कम हुन्छ सुन्ने ठाउँबाट पाठयोजना बनाउनु अगाडिनै, कुनै तरिका (strategies) रोज्नुअघि, , गुरुले पहिले सुन्छन् । यो राम्रो पढाउनकै लागि मात्र होइन, बरु विद्यार्थीले कक्षामा के लिएर आउँछन् भन्ने बुझ्नकै लागि पनि हो । तिनीहरूको अन्योल, तिनीहरूको अरुचि, तिनीहरू माथिको बाहिरी दबाब र तेस्रो लहरमा चुपचाप बस्नुको तिनीहरूको आफ्नै कारण छन् । धेरै जसो विद्यालयमा यसको अर्थ धेरै जटिल नहुन सक्छ, कुनै एकाइ सुरु गर्नुअघि, केही भन्नुअघि नै, पाँच मिनेट खर्चेर विद्यार्थीलाई त्यो विषयमा उनीहरूले पहिल्यै के सोच्छन् वा महसुस गर्छन् भनी सोध्नु पर्छ भन्ने लाग्छ । यसको अर्थ कहिल्यै नबोल्ने विद्यार्थीलाई पहिल्याउनु र त्यो मौनतालाई आज्ञाकारिता नभई सूचनाका रूपमा लिनु पनि हो । मेरो अनुभवमा पहिले सुन्ने गुरु कमजोर हुँदैनन् । पहिले सुन्ने गुरुलाई नै साँच्चै कहाँबाट पढाइ सुरु गर्नुपर्छ भनी थाहा हुन्छ ।
सोध्नु : जिज्ञासालाई पाठको इन्जिन बनाउनु
सुन्ने काम गर्दा आफैँ प्रश्नहरू जन्मन्छन्, अनि दोस्रो चरणमा ती प्रश्न विद्यार्थीलाई नै फर्काइन्छ, तर जवाफ चाहिँ तुरुन्तै दिइँदैन ।LADFRI चक्रमा सोध्नु भनेको सम्झना जाँच्नका लागि विद्यार्थीलाई प्रश्न सोध्ने काम मात्रै होइन; यो विद्यार्थीलाई उत्तर पाउनुअघि नै आफ्नै प्रश्न बनाउन लगाउने राम्रो अभ्यास हो । अङ्ग्रेजी भाषा वा नेपाली साहित्यको कुनै अध्याय पढाउँदा, हाम्रा कक्षाकोठामा, पाठको सुरुवात व्याख्याबाट गर्नु हुँदैन । बरु कक्षाभरी उफ्रिने एउटा साँचो प्रश्नले सुरु हुन्छ, ‘तिमीले के देख्यौ’, ‘तिमीलाई केले अलमल्यायो’, कसैले जवाफ नदिए ‘तिमी के जान्न चाहन्थ्यौ’ । सुरुमा केवल जानकारी लिने बानी परेका विद्यार्थी आफ्नै प्रश्न बनाउन भनिँदा चुप लाग्छन् । तर गुरुले परीक्षा लिइरहेका होइनन्, साँच्चै तिनीहरूको सोचमा चासो राखेका हुन् भन्ने बोध भएपछि त्यो मौनता चाँडै हट्छ । सोध्ने चरणमै शिष्य हेरालु पात्रबाट सहभागी बन्न थाल्छन् ।
गर्नु : घोकाइबाट होइन, कार्यबाट सिकाइ
अहिले बिएलई, एसईई र एनईबी पाठ्यक्रमको चापमा , अहिले अधिकांश विद्यालयहरूले छिटो अगाडि बढ्ने र धेरै सामग्री समेट्ने धेरै पाठ थोपर्दिने प्रवृत्ति छ । यस्तो बेलामा विद्यार्थीहरूमा कहाँबाट जिज्ञासा आउँला ? “गर्नु” चरणले ठीक उल्टो प्रवृत्ति माग गर्छ, जति सङ्क्षिप्त भए पनि, विद्यार्थीले सिकेको कुरा केवल सुन्नुको सट्टा त्यसमाथि केही गर्नुपर्छ भन्ने हो । यसका लागि महँगो प्रयोगशाला वा विशाल स्रोत चाहिँदैन, जुन धेरै विद्यालयसँग, नेपालका अन्य ठाउँझैँ, प्रशस्त उपलब्ध छैन । यसको मतलब हातैमा भएको सामग्रीबाट सानो प्रयोग गर्ने, कुनै साँचो स्थानीय मुद्दामा बहस चलाउने वा किताबको वाक्य सारेर लेख्नुको साटो विद्यार्थीलाई आफैँ भन्न मन लागेको कुरा व्याकरणको नियम प्रयोग गरेर लेख्न लगाउने पनि हुन सक्छ । यसर्थ, “गर्नु” चरण जाँच्ने तरिका सजिलो छ, पूरा घण्टाभरि विद्यार्थीको हात वा आवाज चिलरह्यो कि, या शिक्षक मात्रै एक्लै चलीरहे अथवा बोलिरहे ।
प्रतिक्रिया : एकतर्फी फैसला होइन, दुईतर्फी प्रवाह
हाम्रा कक्षाकोठा सामान्यतया एकतर्फी प्रतिक्रियासँग सहज छन्, शिक्षकबाट विद्यार्थीतिर, प्रायः नम्बर वा सुधार्नुपर्ने कुराको रूपमा देखिन्छ । LADFRI चक्रले के भन्छ भने यसैसँगै अर्को प्रवाह पनि चलाउन सकिने कुरा गर्छ, शिक्षणबारे विद्यार्थीबाट शिक्षकतिर बग्ने प्रतिक्रिया पनि हो यो । व्यवहारमा यो हरेक केही सातामा एक–एक बेनामी सानो चिट पठाएर गर्न सकिन्छ, जसमा केवल दुई प्रश्न सोधिन्छ, के कुराले बुझ्न मद्दत ग¥यो, र केले अलमल्यायो । कुनै पनि विद्यार्थीलाई नाम लेख्न लगाइँदैन र शिक्षकले हरेक प्रतिक्रियाको सफाइ दिनु पर्दैन । यसको मूल्य केवल सोध्ने बानीमै रहेको छ, जसले विद्यार्थीलाई कक्षाकोठाको आफ्नो अनुभव मापन गरिनु योग्य छ भन्ने सिधै संकेत गर्छ । गुरुका लागि यो प्रतिक्रिया प्रायः खुसी बनाउनेभन्दा असहज बनाउने हुन्छ, तर त्यही असहजताले नै शिक्षणलाई सिधै सफलता तिर डो¥याउछ ।
मनन : गुरुको निजी अनुशासन
मनन त्यो चरण हो जुन सबैभन्दा सजिलै छुट्न सक्छ, किनभने एक कक्षा सकिनासाथ अर्को सुरु हुन्छ । तैपनि यही चरणले एउटै पाठ बिस वर्षसम्म दोहो¥याउने शिक्षक र साँच्चै सुधार गर्दै जाने शिक्षकबिचको भिन्नता ल्याउँछ । धेरै जसो फुर्सद को समयमा शिक्षकहरू बैठक कक्षमा गफगाफ गर्दा कसरी मननको अर्थलाई सामान्य र दोहो¥याउन सकिने रूपमा हेर्न सक्छन र त्यसलाई कठिन कक्षापछि केही हरफ टिपोट गर्नु, कहाँ अलमलियो, कुन विद्यार्थी विमुख भयो, कुन प्रश्नले अपेक्षाभन्दा राम्रो प्रभाव पा¥यो भनी छलफल गर्नु त कति गज्जब होला ? यसको अर्थ पहिले विद्यार्थीलाई दोष दिने प्रलोभनबाट टाढा रहनु र त्यसको सट्टा पाठकै बनावटमा के कमी थियो भनी सोध्नु पनि हो । यो आत्म–आलोचना आफैँलाई हतकडी लाउनको लागि होइन, यो गुरुले विद्यार्थीको गृहकार्यमा लगाउने उही सोच पूर्ण आफ्नै अभ्यासको काम मात्र हो ।
सुधार : चक्र पूरा गर्नु
अन्तिम चरणले नै यो चक्र साँच्चै सफल हुन्छ कि केवल राम्रो नियतमै सीमित रहन्छ भनी प्रमाणित गर्छ । सुधार भनेको सुनिएको, सोधिएको, गरिएको, प्रतिक्रिया लिइएको र मनन गरिएको कुराका आधारमा अर्को पाठ स्पष्ट रूपमा फरक हुनु हो । निरन्तर विद्यार्थी अलमल्याउने पाठलाई पुनर्संरचना गर्नु, बारम्बार असफल हुने प्रश्न बदल्नु, स्पष्ट आवश्यक भएको छलफलमा पाँच मिनेट थप्नु र स्पष्ट अनावश्यक भएको व्याख्यानबाट पाँच मिनेट घटाउनु झन् कति राम्रो होला ? यी परिवर्तन मध्ये कुनै पनि आफैँमा बनावटी छैनन् । तर एक शैक्षिक सत्रभरि यिनको संयुक्त प्रभावले कक्षाकोठालाई सुरुमा जस्तो थियो, त्योभन्दा चुपचाप फरक बनाइदिन्छ ।
सिद्धान्त होइन, एउटा नौलो प्रयोग
LADFRI एप्रोच कुनै पूर्ण र तयार सूत्र होइन । यो गुरु–शिष्य सम्बन्धको विकल्प पनि होइन । बरु, यो कक्षामा विद्यार्थीलाई ध्यान दिएर सुन्ने र उनीहरूको सहभागितालाई निरन्तर अघि बढाउने एउटा सरल अभ्यास हो । आजको कक्षाकोठामा परीक्षा, समय र स्रोतको दबाबका कारण हामीले विद्यार्थीलाई सुन्ने कुरा बिस्तारै बिर्सदै गएका छौँ । सीमित स्रोत भएका विद्यालयमा पनि एउटा कुरा सम्भव छ, विद्यार्थीले सुन्नका लागि शिक्षकसँग थप कुरिरहनु पर्दैन, शिक्षकले पहिले विद्यार्थीलाई सुन्न सुरु गर्नुपर्छ । अब ढिला नगरौँ ।
(लेखक विनोद दुवाडी हाल अङ्ग्रेजी शिक्षा (English Education) मा पीएचडी अनुसन्धानरत हुनुहुन्छ । उहाँको अनुसन्धान रुचि विशेषतः ठूला कक्षाकोठामा लेखन सीप विकासका लागि कृत्रिम बौद्धिकता (AI) को एकीकरण तथा प्रभावकारी शिक्षण रणनीतिमा केन्द्रित छ । उहाँले विभिन्न शैक्षिक तथा शिक्षक तालिमहरूमा सहजकर्ताका रूपमा सहभागी हुँदै कक्षाकोठा व्यवस्थापन, प्रभावकारी शिक्षण विधि तथा विद्यार्थीको सक्रिय सहभागिता सम्बन्धी तालिम प्रदान गर्दै आउनुभएको छ ।)



