विराटनगर/१३ भदौ – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउन पूर्वाञ्चल विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीले आफ्नो तलबबाट योगदान गर्ने भएका छन् ।
विश्वविद्यालय कार्यकारी परिषद्को भदौ १३ गते बसेको बैठकको निर्णयअनुसार भदौ १० गते रसुवा जिल्लाको रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै यस्तो निर्णय गरिएको हो ।
विश्वविद्यालयका रजिस्ट्रार डा. रमेश बाबु काफ्लेद्वारा जारी सूचनाअनुसार भदौ महिनाको तलब भुक्तानी गर्दा पदअनुसार तोकिएको रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेछ ।
निर्णयअनुसार उपकुलपति र रजिस्ट्रारबाट एक महिनाको तलब, डीन, परीक्षा नियन्त्रक, प्राध्यापक तथा प्रशासनतर्फका सम्बन्धित कर्मचारीबाट आधा महिनाको तलब, सह–प्राध्यापक तथा मुख्य अधिकृतबाट १० दिनको तलब, उप–प्राध्यापक, वरिष्ठ अधिकृत, सहायक प्राध्यापक÷शिक्षण सहायक तथा अधिकृतबाट ७ दिनको तलब योगदान गरिनेछ ।
त्यस्तै, मुख्य सहायक तथा सहायकबाट ५ दिन र सवारी चालक तथा कार्यालय सहयोगीलगायत श्रेणीविहीन कर्मचारीबाट २ दिन बराबरको तलब कट्टा गरिने विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयले आफ्ना सम्बन्धन प्राप्त कलेज तथा क्याम्पसहरूलाई समेत विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत तथा पुनःस्थापना कार्यमा सकेको आर्थिक सहयोग गर्न अनुरोध गरेको छ ।



