शिक्षा विधेयकको मस्यौदा निर्माणका लागी आज काठमाडौँमा छलफल गरिदैँ

काठमाडौं /७ भदौ-विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्नुअघि सातै प्रदेशबाट प्राप्त सुझाव तथा निष्कर्षको समग्र समीक्षा आज आइतबार काठमाडौंमा गरिने भएको छ ।


शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा हुने छलफलमा शिक्षा क्षेत्रका सरोकारवालाको सहभागिता रहनेछ । मन्त्रालयले विद्यालय शिक्षा विधेयक निर्माण प्रक्रियामा सरोकारवालाको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने उद्देश्यले सातै प्रदेशमा शिक्षा संवाद आयोजना गरेको थियो ।


विराटनगरबाट सुरु भएको शिक्षा संवाद सुदूरपश्चिमको धनगढीसम्म पुगेर सातै प्रदेशमा सम्पन्न भएको हो । प्रदेशस्तरीय संवादमा शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन, स्थानीय तहका प्रतिनिधि, शिक्षाविद् तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालासँग विद्यालय शिक्षाका समस्या, चुनौती र सुधारका विषयमा छलफल गरिएको थियो ।


सातै प्रदेशबाट प्राप्त सुझाव, प्रमुख विषय तथा निष्कर्षलाई एकीकृत रूपमा प्रस्तुत गरी समीक्षा गर्न आज काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा शिक्षा संवाद आयोजना हुँदैछ । कार्यक्रममा प्रदेशस्तरीय छलफलबाट आएका सुझावका आधारमा विद्यालय शिक्षा विधेयकको मस्यौदामा समेटिनुपर्ने प्राथमिक विषयबारे थप छलफल गरिने मन्त्रालयले जनाएको छ ।


प्रदेशस्तरीय संवादमा शिक्षकको पेशागत विकास, विद्यालय व्यवस्थापन, विद्यार्थीको सिकाइ उपलब्धि, पाठ्यक्रम तथा मूल्याङ्कन प्रणाली, विद्यालयको गुणस्तर सुधार तथा संघ, प्रदेश र स्थानीय तहबीचको शैक्षिक जिम्मेवारी प्रमुख विषयका रूपमा उठेका थिए ।


मन्त्रालयले सातै प्रदेशबाट प्राप्त सुझाव तथा काठमाडौंमा हुने समग्र छलफलबाट आएका थप सुझावलाई आधार बनाएर विद्यालय शिक्षा विधेयकको मस्यौदा अघि बढाउने तयारी गरेको छ ।