रानीदेवीको प्रतिबद्धता : संस्कार र प्रविधिसहितको गुणस्तरीय शिक्षा

काठमाडौँ /२१ असार – श्री रानीदेवी माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई मासिक ५ सय शुल्कमा पढाईरहेको जनाएको छ । काठमाडौँ महानगरपालिका वडा नं। ३ रानीबारीमा रहेको उक्त सामुदायिक विद्यालयले यो वर्षदेखि कक्षा ११ र १२ मा व्यवस्थापन, मानविकी र शिक्षा अन्तर्गतका विभिन्न विषयहरू सञ्चालन गरेको छ ।


वडाको सहयोगमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई मासिक ५ सय शुल्क लिएर होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स जस्ता विषय पढाउन सम्भव भएको विद्यालयले जनाएको छ । अघिल्लो वर्ष एसईईमा ३२ जनाले परीक्षा दिएका सबै विद्यार्थी कक्षा ११ मा भर्ना भएर पढिरहेको विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद गौतमले जानकारी दिए ।


आज आयोजना गरिएको एसईई परीक्षामा सम्मिलित विद्यार्थीहरूको सम्मान तथा बधाई कार्यक्रममा बोल्दै छोटो समयमा अभिभावकको विश्वास जित्न विद्यालय सफल भएको गौतमको भनाई छ । वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावक सबैको प्रयासले विद्यालयमा गुणस्तरीय शिक्षा दिन सकिएको विचार व्यक्त गरे ।


विद्यालयका पूर्व प्रधानाध्यापक रामजी गौतमले आफू शिक्षक हुँदा टहराबाट सुरु गरिएको विद्यालयलाई यहाँसम्म ल्याउन अथक प्रयास गरिएको उल्लेख गर्दै क्याम्पस बनाउने लक्ष्य रहेकोले सबैलाई सहयोग गर्न आग्रह गरे । उनले शैक्षिक पाटो प्रधानाध्यापक र शिक्षकका जिम्मेवारी हुने र व्यवस्थापकीय पाटो अभिभावक र विद्यालय व्यवस्थापन समितिको हुने प्रणाली विकास गर्न सकिए विद्यालयलाई उत्कृष्ट बनाउन सम्भव रहेको विचार व्यक्त गरे ।


विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्व शिक्षामन्त्री मानबहादुर विश्वकर्माले उत्कृष्ट शिक्षा दिनका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुने बताउँदै विद्यार्थीहरूलाई भविष्य प्रति सचेत रहेर शिक्षकहरूले देखाएको बाटोमा हिँड्न आग्रह गरे ।विद्यार्थीहरूलाई उत्प्रेरणा दिँदै विश्वको जुनसुकै ठाउँमा गएर पनि गर्न सक्छु भन्ने अठोटका साथ लाग्नुपर्ने बताए ।


वडा नं. ३ का अध्यक्ष प्रेम थापाले विद्यालयले शिक्षा मात्रै नभई संस्कार पनि सिकाउने उल्लेख गर्दै श्री रानीदेवी माध्यमिक विद्यालयको नारा “रानीदेवीको प्रतिबद्धता, संस्कार र प्रविधिसहितको गुणस्तरीय शिक्षा” राखिएको बताए ।


थापाले विद्यार्थीमा संस्कार भए मात्रै जीवनमा सङ्घर्ष गर्न सिकाउने तथ जस्तोसुकै परिस्थितिमा पनि दृढ संकल्पका साथ अगाडी बढ्न सकिने तर्क गरे । उनले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्रै नभई व्यवहारिक ज्ञान दिनका लागि आगामी दिनमा विद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।