चितवन/१६ असार – चितवनको रत्ननगर नगरपालिकाले आइतवार शैक्षिक संस्था खोले प्रचलित कानून अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।
शनिवार र आइतवार सार्वजनिक विदा दिँदा हुन जाने पाठ्य घण्टा /कार्यघण्टाको क्षतिलाई पुरा गर्न सङ्घीय सरकारबाट अर्को व्यवस्था नभए सम्मको लागि विद्यालय सञ्चालन हुने समयावधि बिहान ९.३० बजे देखि बेलुका ४.३० बजे सम्म कायम गरिएको उल्लेख गर्दै सो चेतावनी दिएको हो ।
पालिकाले सम्पूर्ण विद्यालयहरूलाई (प्रारम्भिक बालविकास केन्द्र तथा मन्टेश्वरी विद्यालयसहित) पठन पाठन कृयाकलापमा एकरुपता कायम गरी पाठ्यक्रमले तोके अनुसारको कार्यघण्टा पुरा गरी पठन पाठनको स्तर अभिवृद्धि गर्ने निर्णयलाई कार्यान्वयन गर्नु रत्ननगर नगरपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालयहरूको दायित्व भित्र रहेको जनाएको छ ।
तर केही विद्यालयले नगरपालिकासँग छलफल तथा समन्वय नै नगरी आफूखुसी नगरपालिकाको निर्देशनलाई अवज्ञा गरी विद्यालय सञ्चालन गरेको भनी व्यापक रूपमा जनगुनासो प्राप्त भएकोले निर्णय कार्यान्वयन गर्न भनिएको छ ।
त्यसैले विद्यालय सञ्चालनको उक्त समय (बिहान ९.३० देखि बेलुका ४.३० बजे )लाई अनिवार्य रूपमा कार्यान्वयन गर्नु गराउनुहुन यस नगरपालिकाको मिति २०८३/०३/१५ को निर्णय अनुसार पुनः ताकेता गरिएको छ । यदि कसैले यो निर्देशनलाई अवज्ञा गरी अन्यथा गरेको पाइएमा प्रचलित कानून अनुसार कारबाही गरिने ब्यहोरा समेत जानकारी गराइन्छ सूचनामा भनिएको छ ।



