विद्यालय र अभिभावकको साझेदारीमा मात्रै शिक्षामा सुधार गर्न सम्भव

काठमाडौँ /१५ असार – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालको दुईदिने राष्ट्रिय सम्मेलनको शिक्षाविद् केदारभक्त माथेमाले सोमवार काठमाडौँमा उद्घाटन गरेका छन् ।


उनले सम्मेलनमा शिक्षाको राष्ट्रिय प्राथमिकता, सामुदायिक विद्यालयको गुणस्तर वृद्धि, सरोकारवाला र अभिभावकको भूमिकाबारे धारणा राखे । प्राज्ञ माथेमाले सामुदायिक विद्यालयले समाजका हरेक तप्कालाई जोड्ने भएकाले अपनत्व विकास र सुधारमा निरन्तर लाग्नुपर्ने बताए ।


यसैगरी “तीन तहको सरकार : विद्यालय अभिभावक साझेदार“ सम्बन्धी प्यानल छलफल आयोजना गरिएको थियो । छलफलमा शिक्षा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता शिवकुमार सापकोटा, पूर्व सचिव, राष्ट्रिय परीक्षा बोर्डका पूर्व अध्यक्ष डा। महाश्रम शर्मा र नगरपालिका संघका अध्यक्ष भीम ढुङ्गाना सहभागी रहेका थिए ।


शिक्षा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता शिवकुमार सापकोटा विद्यालय व्यवस्थापन समितिलाई विद्यालयको अपनत्व दिनका लागि सरकारले ऐनमा नै केही व्यवस्था गरेर जाने तयारी रहेको धारणा व्यक्त गरे । उनले सामुदायिक विद्यालय अभिभावकबाट टाढा हुँदै गएको उल्लेख गर्दै विद्यालय अभिभावकको साझेदारीमा मात्रै शिक्षामा सुधार गर्न सम्भव रहेको बताए ।


नगरपालिका संघका अध्यक्ष भीम ढुङ्गानाले शिक्षाको अधिकार स्थानीय सरकारलाई भएपनि शिक्षा मन्त्रालयले समयमै ऐन नल्याउँदा शिक्षामा काम गर्न कठिन भएको धारणा राखे । ढुङ्गानाले सरकारले पर्याप्त बजेट विद्यालयलाई नपठाउँदा निःशुल्क शिक्षा कार्यान्वयन गर्न, इसिडी शिक्षक र विद्यालय कर्मचारीलाई तलब उपलब्ध गराउन असहज भएको बताउँदै आइतवार विदा दिने देखि विद्यालयको निर्णय गर्ने अधिकार स्थानीय सरकारलाई हुने बताए ।


पूर्व सचिव तथा राष्ट्रिय परीक्षा बोर्डका पूर्व अध्यक्ष डा. महाश्रम शर्माले तीन तहकै सरकारको सहकार्यमा विद्यालय र अभिभावक साझेदारीलाई अगाडी बढाए मात्रै विद्यालय शिक्षामा सुधार गर्न सकिनेमा जोड् दिए । शर्माले शिक्षा ऐन छिटो ल्याउनु पर्ने, स्थानीय सरकारको अधिकारमा प्रस्ट हुनुपर्ने बताउँदै अभिभावकलाई विद्यालय बाहिर राखेर सामुदायिक विद्यालयको गुणस्तर नसुध्रिने बताए ।


कार्यक्रममा शिक्षाविज्ञ डा।विष्णु कार्कीले विद्यालय शिक्षाको राष्ट्रिय प्राथमिकता र अभिभावकको भूमिकाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । शिक्षा विशेषज्ञ डा।विद्यानाथ कोइरालाले कार्यपत्रमाथि टिप्पणी गर्दै शिक्षक र अभिभावक इमानदार हुनुपर्ने बताए ।
अभिभावक महासङ्घ नेपालका पूर्वअध्यक्ष सुप्रभात भण्डारीले दुर्गमका गरिब बालबालिकाका लागि राज्यले गुणस्तरीय शिक्षाको हक प्रदान गर्नुपर्नेमा जोड् दिए ।


कार्यक्रममा महासङ्घका संस्थापक अध्यक्ष कृष्ण थापालगायतलाई सम्मान गरिएको थियो ।