काठमाडौँ /९ असार – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२)ले कक्षा १२ को मौका परीक्षाको समय तालिका तथा आवेदन फाराम बुझाउने समय तोकेको छ ।
गत वैशाखमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रूपमा रजिस्ट्रेसन नम्बरको सुरुका दुई अङ्क ८२ भएका परक्षिार्थीका लागि तालिका सार्वजनिक गरिएको हो ।
परीक्षामा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी दुई विषयमा एनजी प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा अनुपस्थित भएका वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विषयमा एनजी वा कुनै एक विषयमा अनुपस्थित भएका परीक्षार्थीहरू मात्र परीक्षामा सम्मिलित हुन पाउने छन् ।
परीक्षा आगामी साउन २ गते र ३ गते बिहान ११ः०० बजेदेखि २ः०० बजेसम्म सञ्चालन हुने छ । साउन २ गते शनिवार अनिवार्य अङ्ग्रेजी (००४१), एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूको सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको सानो कोड नम्बर भएको विषय तर अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा मौका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) विषयको परीक्षा दिनुपर्नेछ ।
साउन ३ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयहरू मध्येको ठूलो कोड नम्बर भएको विषयको हुने छ । साथै यस दिन अनिवार्य अङ्ग्रेजी ( ००४१) विषयको परीक्षा सञ्चालन हुनेछैन ।
कक्षा १२ को मौका (पूरक) परीक्षामा सहभागी हुनका लागि असार १९ गतेभित्र बोर्डको सम्बन्धित कार्यालयको खातामा परीक्षा शुल्क वापत प्रति विद्यार्थी आठ सयका दरले हुन आउने रकम बुझाइसक्नुपर्नेछ ।
उक्त अवधिभित्र रकम दाखिला गर्न छुट भएका परीक्षार्थीहरूका लागि असार २६ गतेभित्र विलम्ब शुल्क सहितको रकम प्रति विद्यार्थी एक हजार छ सय बुझाई सम्बन्धित विद्यालय मार्फत असार २८ गते कार्यालय समयभित्र रकम दाखिला गरेको भौचर वा अनलाईन
भुक्तानी गरेको प्रमाण सहित बोर्डका सम्बन्धित कार्यालयहरूमा आवेदन फाराम बुझाइसक्नुपर्ने सूचनामा भनिएको छ ।




