काठमाडौँ /३ असार – प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालयले विशेष छात्रवृत्ति कार्यक्रम अन्तर्गत प्रि–डिप्लोमा तथा डिप्लोमा /प्रमाणपत्र तहका कार्यक्रमहरूमा निःशुल्क अध्ययन गर्न भर्ना प्रक्रियाका लागि अनलाइन आवेदन फाराम खुला गरेको छ ।
“सक्नेले छोडौँ नसक्नेलाई जोडौँ” नेपाल सरकारको आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रममा व्यवस्था भए बमोजिम आवेदन माग गरेको हो ।
दलित, मुस्लिम, विपन्न, सीमान्तकृत समुदाय र प्राविधिक शिक्षाको पहुँच नपुगेका ७८ पालिकामा स्थायी बसोबास गर्ने छात्रछात्राहरूबाट डिप्लोमा /प्रमाणपत्र तहमा ४५७ र प्रि–डिप्लोमा तहमा २३ जना गरी जम्मा निर्धारित ४८० वटा कोटाहरूमा आवेदन मागिएको छ ।
प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम अन्तर्गत निःशुल्क प्राविधिक शिक्षा अध्ययन गर्नका लागि योग्य नेपाली नागरिकहरूबाट भर्ना प्रक्रियाका लागि अनलाइन आवेदन फाराम भरी सबमिट गर्न सकिने परिषद्ले जनाएको छ ।
साथै सीमान्तकृत समुदायको हकमा नेपाल सरकारबाट सूचीकृत सुविधाबञ्चित २२ वटा आदिवासी जनजाति समूहहरू (वनकरिया, बराम, बोटे, चेपाङ, दनुवार, धानुक, हायु, झागड, किसान, कुसुन्डा, लेप्चा, माझी, मेचे, कुसवाडिया, राजी, राउटे, सतार, सिंसा (ल्होमी), सियार, सुरेल, थामी र थुनम) र हलिया र कमैया समेतलाई मात्र बुझाउनेछ ।
विस्तृत सूचना www.ctevtexam.org.np मा हेर्न सकिनेछ ।



