प्रश्न एक, संवाद अनेक : प्रिमियर ज्ञान मेला २०२६ को यात्रा

ललितपुर/२७ जेठ – प्रिमियर इन्टरनेशनल आइबी कन्टिनियम स्कुलको ज्ञान मेला प्रदर्शनी सम्पन्न भएको छ ।

यस वर्षको ज्ञान मेला केवल एउटा प्रदर्शनी मात्र नभई एउटा महत्वपूर्ण प्रश्नको खोज रहेको विद्यालयको भनाई छ । “हामीले जानेका कुरा वास्तवमा कसरी जान्यौँ ?” यही जिज्ञासाले विद्यालय परिसरलाई विद्यार्थी नेतृत्वमा सञ्चालित मेलालाई जीवन्त बौद्धिक मञ्चमा रूपान्तरण गर्न सफल भएको थियो ।

विद्यार्थीलाई नेपालको सांस्कृतिक विविधता र समृद्ध पहिचान दिनका लागि ज्ञान मेलाको आयोजना गरिएको विद्यालयले जनाएका् छ । विद्यार्थीहरू परम्परागत नेपाली पोसाकमा सहभागी भए भने विद्यालय परिसरलाई रतो मच्छिन्द्रनाथको रथ र बौद्धनाथ स्तूपबाट प्रेरित कलात्मक सजावटले सजाइएको थियो ।

कार्यक्रमको मुख्य आकर्षण डिपी १ का विद्यार्थीहरूले सञ्चालन गरेका १५ वटा अन्तरक्रियात्मक प्रदर्शनी स्टलहरू थिए । ती स्टलहरूमा प्राचीन हस्तलिपिदेखि छेत्री पुतली, डिएनएका तस्बिरदेखि ढुंगेधारासम्मका विविध वस्तुहरूलाई ज्ञानको दृष्टिकोणबाट प्रस्तुत गरिएको थियो । विद्यार्थीहरूले सांस्कृतिक सम्पदा र स्थानीय ज्ञानलाई अन्तर्राष्ट्रिय सन्दर्भसँग जोड्दै “हामी के जान्दछौँ ?” भन्दा पनि “हामीले त्यो ज्ञान कसरी प्राप्त ग¥यौं ?” भन्ने प्रश्नमाथि गहिरो छलफल गरे ।

कार्यक्रमका प्रमुख अतिथि द्युतिमान चौधरीले विद्यार्थीका स्टलहरूको अवलोकन गर्दै विद्यार्थीहरूले शैक्षिक अवधारणालाई वास्तविक जीवनसँग जोडेर प्रस्तुत गरेको शैलीको प्रशंसा गरे ।

ज्ञानको सिद्धान्त (टिओके), अन्तर्राष्ट्रिय स्नातक (आइबी) डिप्लोमा कार्यक्रमको महत्वपूर्ण पाठ्यक्रम हो, जसले विद्यार्थीलाई आफूले सिकिरहेको ज्ञानको प्रकृति, स्रोत र विश्वसनीयताबारे गहिरो रूपमा सोच्न प्रेरित गर्छ । टिओके प्रदर्शनी यस पाठ्यक्रमको प्रमुख मूल्याङ्कन प्रक्रिया हो, जहाँ विद्यार्थीहरूले वास्तविक जीवनसँग सम्बन्धित वस्तु छनोट गरी त्यसलाई ज्ञानसँग जोडेर आफ्ना तर्क प्रस्तुत गर्छन् ।

प्रिमियरमा आयोजित ज्ञान मेलाले यस प्रक्रियालाई कक्षाकोठाभन्दा बाहिर ल्याउँदै व्यवहारिक र जीवन्त बनाएको छ । यहाँ ढाकाको कपडा केवल कपडा मात्र रहँदैन, त्यो ज्ञानको एउटा दाबी बन्छ र विद्यार्थी केवल उत्तर दिने व्यक्ति होइन, आफ्नो सोच र बुझाइको आधार प्रस्तुत गर्ने अनुसन्धानकर्ता बन्छ ।