म्याग्दी/११ जेठ – म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई वातावरणमैत्री चोयाका सामान बनाउने सीप संरक्षण र हस्तान्तरण गर्न थालिएको छ ।
विद्यार्थीलाई मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग बढाउने उद्देश्यले डोको, दाम्लो, स्याखु निर्माणसम्बन्धी तालिम सञ्चालन भएको हो ।
बेनी नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौँ’ कार्यक्रममार्फत कक्षा ९ र १० का विद्यार्थीहरूलाई तालिम सञ्चालन गरिएको दीपक माविका सहायक प्रधानाध्यापक विजय सुवेदीले बताए ।
एक महिनासम्म सञ्चालन हुने तालिममा २० जनाभन्दा बढी विद्यार्थीहरू सहभागी भएका छन् । स्थानीय मनबहादुर परियारले पठनपाठन हुने बाहेकको समयमा दैनिक एक घण्टाका दरले निगालोबाट चोया बनाउने र विभिन्न सामग्री बुन्ने सीप सिकाएका छन् ।
निगालो र बाँसको चोयाबाट डोका, नाङ्लो, डाली, थुन्से, भकारी, नाम्लो, दाम्लो बनाउन सिकाइने सहायक प्रअ सुवेदीले बताए ।
बेनी नगरपालिकाले विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सीप सिकाउन ‘हामी सक्छौँ, हामी सक्छौँ’ कार्यक्रमलाई चार वर्षयता निरन्तरता दिँदै आएको छ ।
‘हाउस वायरिङ’, ‘प्लम्बिङ,’ कपाल काट्ने, अतिथि सत्कार, खाना पकाउने, प्रेसर कुकर बनाउनेलगायत सीपमूलक तालिम सञ्चालन गर्न नगरपालिकाले १४ वटा विद्यालयलाई चालु आर्थिक वर्षमा एक लाखका दरले बजेट उपलब्ध गराएको नगर प्रमुख सुरत केसीले बताए ।



