उच्च शिक्षाको पुनर्संरचनामा विज्ञता साझा गर्न इयूसँग शिक्षामन्त्रीको आग्रह

काठमाडौँ /१२ जेठ – शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू) सँग आबद्ध विभिन्न मुलुकका राजदूतहरुले शिष्टाचार भेटवार्ता गरेका छन् ।


सिंहदरबारस्थित मन्त्रालयमा नेपालस्थित इयूको कार्यालयका डेपुटी हेड अफ मिसन थोमस मिलर तथा लिथुवानिया, साइप्रस, चेक रिपब्लिक, लक्जेम्बर्ग, रोमानिया, डेनमार्क र नेदरल्याण्डका गैरआवासीय राजदूतहरुले शिक्षामन्त्री पोखरेलसँग संयुक्त रुपमा भेटवार्ता गरेका हुन् । उक्त भेटमा द्विपक्षीय सम्बन्ध, शिक्षा क्षेत्रमा सहकार्यलगायत विषयमा विचार–विमर्श भएको थियो ।


युरोपेली सम्बद्ध मुलुकका प्रतिनिधिहरूले नेपालको परिवर्तित सन्दर्भमा सरकारको प्राथमिकताको क्षेत्रका साथै नेपालको शिक्षा, खासगरी उच्च शिक्षामा सहकार्य र साझेदारी गर्न चासो देखाएका थिए । साथै, उनिहरूले नेपालको नयाँ सरकारको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न सिङ्गो इयू इच्छुक रहेको बताउँदै नेपालको शिक्षा क्षेत्रमा भइरहेको सहयोगलाई निरन्तरता दिने र उच्च शिक्षामा कसरी सहकार्य र साझेदारीलाई अगाडि बढाउने विषयमा जोड दिए ।


नेपाल सरकारको प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा इयूलगायत मुलुकले गर्दै आएको सहयोगका निम्ति धन्यवाद दिदैँ आगामी दिनहरूमा पनि यी देशहरुसँग थप साझेदारी बढाउन मन्त्रालय तत्पर रहेको बताए ।


मन्त्री पोखरेलले सरकारको नीति र प्राथमिकताबारे जानकारी गराउँदै विद्यमान शिक्षाका समावेशिता, पूर्वाधार विकास शिक्षक पेसागत विकास लगायतका क्षेत्रमा भविष्यमा थप सहकार्य गर्न सकिने विचार व्यक्त गरे ।


शिक्षामा प्रविधिको पहुँच विस्तार, उच्च शिक्षामा साझेदारिता आदि विषयमा एक अर्का मुलुकहरूबिचको समन्वयलाई बलियो बनाएर लैजानुपर्नेमा उनले दिए ।


मन्त्री पोखरेलले मन्त्रालयले चालेका कदमबारे थप प्रष्ट पार्दै शिक्षामा डिजिटाईजेसन, उच्च शिक्षामा विद्यार्थी मात्रै नभएर युनिभर्सिटीहरूका ‘फ्याकल्टी मेम्बर’हरुको एक्सचेन्जका कार्यक्रमहरू सञ्चालन गर्न तथा भविष्यमा शैक्षिक संस्था र विश्वविद्यालयहरूसँग थप सहकार्य र साझेदारीता बढाउन मन्त्रालय तयार रहेको उल्लेख गरे ।


मन्त्री पोखरेलले उच्च शिक्षाको पुनर्संरचना गर्न लागिरहेको सन्दर्भमा विभिन्न मुलुकको विज्ञता र आइडिया साझा गर्न पनि आग्रह गरे । उनले दुईदेशकाबिचमा खुला छलफलबाट आगामी दिनमा के कस्ता सहकार्य गर्न सकिने धारणा राखे ।


त्यसैगरी साइप्रस, रोमानिया, नेदरल्याण्ड लगायत मुलुकका राजदूतहरूले शिक्षाको क्षेत्र विशेषतः उच्च शिक्षाको क्षेत्रमा सहकार्य गर्न आफूहरू तत्पर रहेको बताएका थिए । नेपालबाट साइप्रस, रोमानिया लगायतका देशहरूमा उच्च शिक्षा अध्ययनका लागि नेपालीहरु जाने प्रवृत्ति बढिरहेको सन्दर्भमा दुई देशबिचको सम्बन्धलाई थप बिस्तार गरेर अगाडि बढ्नुपर्नेमा उनिहरूको जोड थियो ।