काठमाडौँ /२८ वैशाख – सरकारले माध्यमिक सम्मको शिक्षा निःशुल्क गर्न सुनिश्चित गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रममा उक्त योजना समेटिएको हो ।
नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले माध्यमिक तहसम्म निःशुल्क शिक्षा सुनिश्चित गरिने, पुस्तक, दिवाखाजा र पोसाकको सहज वितरणसहित शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी तथा रोजगारमुखी बनाउने र सबै तहको पाठ्यक्रमको समय सापेक्ष पुनरावलोकन गरिने घोषणा गरेका छन् ।
नीति तथा कार्यक्रमका मुख्य अंश
१. माध्यमिक तहसम्म निःशुल्क शिक्षा सुनिश्चित गरिने । पुस्तक, दिवाखाजा र पोसाकको सहज वितरणसहित शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी तथा रोजगारमुखी बनाउने ।
२. सबै तहको पाठ्यक्रमको समय सापेक्ष पुनरावलोकन गरिने ।
३. सार्वजनिक शिक्षामा दीर्घकालीन लगानीको वृद्धि गर्दैै निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थालाई सेवामुखी र गुणस्तर केन्द्रित बनाउन स्वस्थ नियमन गरिने ।
४. इलर्निङ भर्चुअल कक्षा खुला डिजिटल सामग्री कृत्रिम बुद्धिमत्तामा आधारित सिकाई प्रणाली विस्तार गरिने ।
५. उच्च शिक्षालाई श्रम बजारसँग आबद्ध गराउँदै विश्वविद्यालयको प्राज्ञिक तथा शासकीय पुनसंरचना गरिने ।
६. १० हजार सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट, डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्तामा आधारित सिकाई प्रणाली विस्तार गरिने ।
७. विद्यालय नक्सांकन समायोजन, शिक्षक दरबन्दी मिलान पुस्तकालय र प्रयोगशाला सुधार एकीकृत मार्फत कार्यान्वयन गरिने ।
८. विपन्न, सीमान्तकृत,दलित, आदिवासी जनजाति, अपाङ्गता भएका तथा पिछडिएका सबै क्षेत्रका बालबालिकाहरूका लागि गुणस्तरीय शिक्षामा समान पहुँच सुनिश्चित गरिने । स्वस्थ पोषण छात्रवृत्ति आवासीय सुविधा र सुरक्षित सिकाई वातावरणलाई सुदृढ गरिने ।
९. सबै छात्रवृत्ति कार्यक्रमलाई योग्यतामा आधारित र डिजिटल प्रणाली मार्फत सिधै बैँक खातामा भुक्तानी हुने व्यवस्था गरिने ।
१०. शिक्षकका लागि उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने । शिक्षक नियुक्ति, पदोन्नति र मूल्याङ्कन प्रक्रियालाई योग्यतामा आधारित र पारदर्शी बनाउने । शिक्षकको पेसागत विकासका सँगै पारिश्रमिकको उचित व्यवस्था गर्ने ।



