प्रिमियरको बहुआयामिक उत्सवसँगै विद्यार्थी केन्द्रित सिकाइ

ललितपुर/८ पुष – प्रिमियर इन्टरनेसनल आइबी कन्टिन्युम स्कुलले कक्षाकोठाभन्दा बाहिरको सिकाइलाई जीवन्त बनाउँदै विद्यार्थीको नेतृत्वमा “सिर्जना गरौँ र समुदायमा योगदान दिऔँ” कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सिर्जनशीलता, नेतृत्व, उद्यमशीलता, खेल भावना र सामाजिक सेवा बारे विद्यार्थीले सशक्त रूपमा उदाहरण प्रस्तुत गरेका थिए । विद्यार्थीले अन्तर्राष्ट्रिय बकालोरियट (आईबी) शिक्षण दर्शनअनुसार “सिर्जना गरौँ र समुदायमा योगदान दिऔँ” भन्ने सिकाइ संस्कृतिलाई स्पष्ट रूपमा देखाए ।


पिवाईपी तथा एमवाईपी भिजुअल आट्र्स प्रदर्शनी अभिव्यक्ति – २०२५” बाट कार्यक्रमको सुरुआत गरिएको थियो । जहाँ प्रारम्भिक तहदेखि एमवाईपी ४ सम्मका विद्यार्थीहरूले तयार पारेका कलाकृतिहरू प्रदर्शनीमा राखिएका थिए । चित्रकला, मूर्तिकला, इन्स्टलेसन र मिक्स मिडियामार्फत विद्यार्थीहरूले आफ्ना विषयगत सिकाइका अवधारणालाई दृश्य रूपमा प्रस्तुत गरेका थिए ।दैनिक जीवनका सीपदेखि सामाजिक विषय र संयुक्त राष्ट्रसङ्घका दिगो विकास लक्ष्यसम्मका गहिरा सन्देश बोकेका कलाकृतिहरूले विद्यार्थीहरूको सोच, कल्पनाशक्ति र आत्मविश्वास झल्काएका थिए ।


यसैगरी पिवाईपी बजारलेले सिकाइलाई व्यवहारिक अनुभवमा रूपान्तरण गरेको पाउन सकिन्थ्यो । साना कक्षाका विद्यार्थीहरूले पुनःप्रयोग र कल्पना गरेर तयार पारेका सामग्रीहरू प्रस्तुत गरे भने माथिल्ला कक्षाका विद्यार्थीहरूले मूल्य निर्धारण, मार्केटिङ, नाफा–नोक्सान जस्ता वास्तविक बजारका अवधारणाहरू प्रयोगमा ल्याएका थिए । पिवाईपी ३ का विद्यार्थीहरूले सम्पूर्ण कार्यक्रमको योजना र व्यवस्थापन आफैँ सम्हाल्दै नेतृत्व र सहकार्य उत्कृष्ट उदाहरण प्रस्तुत गरे । साथै एमवाईपी, डिपी र एनईबीका विद्यार्थीहरूले सामाजिक उद्देश्यका लागि स्टल सञ्चालन गर्दै सहानुभूति र जिम्मेवारीपूर्ण कार्यमा सक्रिय सहभागिता जनाएका थिए । सिर्जनशीलता, नेतृत्व, उद्यमशीलतासँगै खेल भावना, धैर्यता र पारस्परिक सम्मानको सन्देश दिने उदेश्यले वार्षिक खेलकुद गतिविधि सञ्चालन गरिएको थियो ।


एकै दिन कला, उद्यम, खेल र सेवालाई एकसाथ जोडेर आयोजना गरिएका यी गतिविधिहरूले प्रिमियर इन्टरनेसनल आइबी कन्टिन्युम स्कुलको समग्र र मूल्य–आधारित शिक्षण दृष्टिकोणलाई सशक्त रूपमा प्रस्तुत गरेको विद्यालयको भनाई छ । यस्ता एकीकृत अनुभवमार्फत विद्यालयले सबै तहका विद्यार्थीहरूलाई आफ्नो सिकाइको जिम्मेवारी लिन, उद्देश्यसहित काम गर्न र समाजमा सकारात्मक योगदान दिन प्रेरित गरिरहेको जनायो ।