असफल शिक्षक

काठमाडौँ /४ पुष – शिक्षक, समाजका मार्गदर्शक र ज्ञानका स्रोत हुन्। शिक्षक माता,पिता पछिको दोस्रो अभिभावक को रूपमा मानिन्छ । ज्ञानको ज्योति बाली सबैलाई उज्ज्वल भविष्य तर्फ डो¥याउने मार्गदर्शक हुन् । शास्त्रमा पनि शिक्षकलाई भगवानको दर्जा दिइएको छ जहाँ सबै अज्ञानता हटाई जीवन सार्थक बनाउदछ । शिक्षकलाई एक नैतिक आदर्शवान र सबै भन्दा उच्च पेशाको रूपमा लिइने गरिन्छ । प्राचीन समयमा ऋषि मुनिहरूलाई ज्ञान प्रवर्तक मानिन्थ्यो । ऋषि मुनिहरूलाई राजाहरूले उच्च दर्जाको सम्मान दिने गर्थे । यिनीहरूको कर्तव्य भनेको छात्र–छात्राहरूलाई ज्ञान मात्र होइन, जीवनका मूल्य, नैतिकतासहितका शिक्षाहरू पनि दिनु हो।समयको चक्र सँगसँगै शिक्षकको परिभाषा , भूमिका काम ,कर्तव्य ,गुणहरूलाई फरक ढंगले लिन र बुझ्ने गरिन्छ ।


शिक्षा र शिक्षक एक कोठा भित्र सीमित भएका छन् जुन हामी सबैको विडम्बना हो । शिक्षाको खुल्लम खुल्ला बिक्री हुनु र किताबसँग मात्र जोड्नु शिक्षालाई सङ्कुचित बनाएको छ । एउटा कोरा कागजमा लेखिएको तर, कतिको व्यवहार यस बखतका शिक्षण पद्धतिहरूसँग मेल खाँदैन। धेरै शिक्षकहरू आजकल आफ्नो जिम्मेवारी र कर्तव्यप्रति लापर्बाही र गैरजिम्मेवार भएको देखिन्छ । शिक्षालाई व्यवसायकरण गरी माफियाहरूको वर्चस्व पाइन्छ । एउटा बच्चाले के सिक्यो , के जान्यो , के बानीको विकास भयो , नैतिक आचरण कस्तो छ भन्ने मा कुनै चासो छैन । सबै कुरा लाई भुलेर कागजमा पाउने अंक सँग तुलना गरेर शिक्षालाई परिभाषित र बुझाउने गरिन्छ ।जसले गर्दा आज हरेक शिक्षक एक पेसागत रूपमा असफल र चारित्रिक निर्माणमा पनि असफल भएका छन् जसले गर्दा विद्यार्थीहरूमा नैतिक आचरण हराउदै गएको छ । यी शिक्षकहरू साँचो अर्थमा ‘असफल शिक्षक’ को रूपमा चिनिन्छन्, जो न त नयाँ पद्धति सिक्न चाहन्छन्, न त विद्यार्थीलाई नयाँ कुरा सिकाउन चाहन्छन्। तिनीहरूको शिक्षण जीवन र पाठ्यक्रम पुरानो, सोच , पाठ्यक्रम , विधिसँग प्रत्यक्ष साक्षात्कार बिना र छिटो बाँच्नको लागि मात्र सीमित भएको छ। कति शिक्षकहरूलाई भने यो प्रवृत्तिको बारेमा बोध पनि छैन। यिनीहरू आफ्नो कक्षामा ज्ञानलाई किताबमा मात्र पाइन्छ जस्ता भनाईले सीमितता मात्र समेटेका छन् । साथै अधिकांश शिक्षकहरूले दलहरूको झोला बोक्ने प्रवृत्तिले शिक्षकहरूलाई असफल मात्र नभई अनैतिक र दास मानसिकता भएका प्राणीको रूपमा समाजमा चित्रण गरिएको छ ।


आजको सन्दर्भमा, टेक्नोलोजी र आधुनिक शिक्षाशास्त्रले शिक्षा पद्धतिमा नयाँ आशा र सम्भावना ल्याएका छन्। तर, अधिकांश शिक्षकहरू नवीनतम ज्ञान,सिप , मूल्य लाई नजरअन्दाज र नयाँ परिवर्तनलाई अनदेखा गर्छन्। उनीहरू आफ्नो कक्षामा विद्युतीय उपकरणहरूको प्रयोग नगरी, आफूलाई पुराना पद्धतिहरूसँग मात्रै जोडेर बस्छन्। यी शिक्षकहरूले न त स्मार्ट क्लासका सुविधाहरूको उपयोग गर्छन्, न त अन्य स्रोतहरू जस्तै ई–लर्निंग प्लेटफर्म, भिडियो ट्युटोरियल्स वा डिजिटल सामग्रीहरूको प्रयोग गर्छन्। यसले शिक्षा क्षेत्रमा ठूलो समस्या सिर्जना गरेको छ ।


अवस्था अझ जटिल हुन्छ जब यी शिक्षकहरूले आफ्ना विद्यार्थीसँग नियमित रूपमा गृहकार्य वा परीक्षणहरू पनि हुदैन जसले गर्दा सिक्नु पर्ने कुरा नसिकी विद्यार्थीहरूलाई माथिल्लो कक्षामा उन्नति गरिन्छ । कक्षामा समय सीमित बिताउनु नै उनीहरूको कर्तव्य हो भन्दछन । जब विद्यार्थीहरू प्रश्न गर्छन्, उनीहरूको जवाफ प्रायः ‘कसैले सिक्ने छैन’ वा ‘निरर्थक हो’ जस्तो हुन्छ । तिनीहरूले नयाँ सोच र नयाँ दृष्टिकोणलाई समेत स्वागत गर्न चाहँदैनन् । यसले विद्यार्थीहरूको रुचि घटाउँछ र उनीहरूको भविष्यप्रति चिन्ता ल्याउँछ ।


यस्ता शिक्षकहरू जसले विद्यार्थीसँग नजिक जान्ने प्रयास गर्छन् र आफैँलाई ‘सस्तो साथी’ जस्तो प्रस्तुत गर्छन्, त्यो केवल क्षणिक आत्मसन्तुष्टिको लागि मात्र हो। यिनीहरूको ध्यान केवल सामाजिक सम्बन्धमा केन्द्रित हुन्छ, जसबाट शिक्षा र ज्ञानको बृद्धि असम्भव हुन्छ। यदि शिक्षक केवल साथी बन्न चाहन्छ तर गुरु बन्दैन भने, विद्यार्थीहरूको मनमा कुनै पनि बौद्धिक उन्नति हुन्न ।


तर, अर्कोतर्फ, त्यहाँ त्यस्ता शिक्षकहरू छन् जसले विद्यार्थीलाई मात्र विद्यार्जनमा नभई, वास्तविक जीवनका मूल्य र नैतिकताहरू पनि सिकाउन महत्त्व दिन्छन्। यिनीहरूले अनुशासन, कर्तव्य र राष्ट्रियता जस्ता गुणहरूलाई कक्षामा स्थान दिन्छन्। यस्ता शिक्षकहरूले न त नयाँ प्रविधि र ज्ञानको हर्षित स्वागत गर्न डराउँछन्, न त उनीहरूले असाइनमेन्ट, कार्य, वा कठोर मापदण्डहरू सिर्जना गर्नमा जुझाइन्छन्। यी शिक्षकहरूको उद्देश्य केवल विद्यार्थीलाई बौद्धिक दृष्टिकोणमा मात्र होइन, जीवनका हरेक पक्षमा सशक्त र सक्षम बनाउनु हो। तर, अफसोचको कुरा, यस्ता शिक्षकहरू प्रायः विद्यार्थीहरूसँग लोकप्रिय हुँदैनन्। उनीहरूलाई पढ्नको लागि जिम्मेवारी र नैतिकतासहितका पाठहरू दिन्छन्। विद्यार्थीहरू भने यस्ता शिक्षकहरूको कठिनाइ र दबाबलाई मन पराउँदैनन् । यिनीहरूले आफूलाई रुचाइने, ‘शिक्षकका साथी’ बन्न खोज्ने शिक्षकहरूको तुलनामा कम लोकप्रियता प्राप्त गर्छन्। तर, यस्ता शिक्षकहरू साँचो शिक्षणका वास्तविक नायक हुन् । यस्ता शिक्षकहरूलाई प्रायः विद्यार्थीहरू ‘कठोर’ र ‘कडाइका शिक्षक’ को रूपमा हेर्छन् ।


तर, साँचो शिक्षा भनेको केवल मिलनसार र लचकता व्यवहार देखाउनु मात्र होइन। यो भनेको यस्ता गुणहरूको सिकाइ हो जुन व्यक्तिको चरित्र निर्माण गर्छ र भविष्यलाई उज्ज्वल बनाउँछ। अनुशासन, मेहनत, नैतिकता र जिम्मेवारी जस्ता पक्षहरूलाई पालना गर्नु, केवल विद्यार्थीलाई पाठ्यक्रममा मात्र होइन, जीवनका हरेक क्षेत्रमा सफल बनाउन मद्दत गर्छ ।


कसरी शिक्षकको आवश्यकता पर्छ भन्ने प्रश्न हामीलाई समाजको पाटोबाट सोध्नुपर्छ । यदि हामी चाहन्छौँ कि हाम्रा बच्चाहरू जीवनका सम्पूर्ण क्षेत्रमा सशक्त, नैतिक र बुद्धिमान बनुन् भने हामीलाई शिक्षकको पद्धति र प्रवृत्तिमा परिवर्तन ल्याउनुपर्छ। केवल ज्ञान होइन, जीवनका गुण र कर्तव्य सँगै प्रस्तुत गर्नु, विद्यार्थीको चेतना र विवेकलाई उजागर गर्नु मात्र साँचो शिक्षा हो । आजको शिक्षिका–शिक्षकले केवल अनलाइन प्रयोग, अनलाइन परीक्षण र कृत्रिम प्रविधिको आधारमा सिकाइ र सन्देश दिनु मात्र होइन, उनीहरूले विद्यार्थीसँग वास्तविक सम्बन्ध बनाउन आवश्यक छ । उनीहरूले विद्यार्थीलाई जिम्मेवारी, नैतिकता र रचनात्मकता सिकाउनु पर्नेछ, जसले भविष्यका कच्चा ज्ञानलाई सबै पक्षमा सिद्ध बनाउन सक्छ। केवल त्यस्ता शिक्षकहरू नै हामीलाई साँचो शिक्षा र गुणको महत्त्व बुझाउँछन् । साथै शिक्षकहरूले राजनैतिक दलहरूसँग को आबद्धता त्यागी स्वतन्त्र र विवेकी बनि समाज र राजनीतिलाई समेत दिशानिर्देश दिन सक्नुपर्दछ ।


अन्ततः, असफल शिक्षकलाई भन्दा, तिनीहरू जो आफ्नो शिक्षकत्वका प्रत्येक क्षणमा विद्यार्थीको जीवनलाई रूपान्तरण गर्न तयार छन्, तिनीहरू नै साँचो शिक्षा दिन्छन्। यस्तो शिक्षण जीवन, जो केवल कक्षामा होइन, जीवनका हरेक क्षेत्रका लागि तयार पार्छ, यही भनेको साँचो र प्रभावकारी शिक्षा हो। विद्यार्थीको भविष्यका लागि, यसलाई मनन गर्दै हामीलाई यस्ता शिक्षाप्रणाली र शिक्षकहरूको आवश्यकता छ जसले शिक्षा र मानवता दुवैलाई एकसाथ अघि बढाउँछन्। तसर्थ के हामी असफल शिक्षकहरू हौ ? पछिल्लो समयमा शिक्षा क्षेत्रमा , समाजमा घट्ने घटनाहरूले पनि अधिकांश शिक्षक असफल झोले शिक्षक रहेको प्रस्ट रूपमा देखाई सकेको छ । त्यसैले शिक्षा क्षेत्र सुधार गर्न शिक्षकहरू सुध्रिनु आवश्यक छ ।


(लेखक अर्जुन जंग रायमाझी, शिव माध्यमिक विद्यालयका शिक्षक हुन् ।)