विद्यार्थीले गणित कसरी सजिलै सिक्न सक्छन ?

काठमाडौँ/५ कार्तिक – भनिन्छ, गणित भगवान/प्रकृतिले फुर्सदमा बनाएको संसारकै सुन्दर विषय हो । यो सम्पूर्ण विषयहरू विज्ञान, सामाजिक, अर्थशास्त्र, नेपाली, साहित्य, संगीत, अङ्ग्रेजी, जनसङ्ख्या आदिहरूको आमा विषय हो । गणित जीवन हो, अक्सिजन हो, आत्मा हो । गणित विना यो संसार निमेष भर पनि चल्न सक्दैन भन्ने कुरामा सबै जना एक ठाउँमा उभिएको पाइन्छ । ३०० विसिमा गणित जन्मिदा यसको नाम जियोमेट्रि थियो । यसका पिता  Euclid हुन् । त्यतिखेरको समयमा गणित भनेको ज्यामिति र ज्यामिति भनेको गणित थियो । तर आज आएर यसको दायरा फराकिलो भइसकेको छ । गणितमा मुख्यतया चारवटा मुख्य संरचनाहरू हुन्छन् :
१. Quantity– Arithmetic
२. Qmructure– lAgebra
३. Change– Calculus
४. Space– Geometry


गणित यति धेरै सुन्दर हुँदाहुँदै किन विद्यार्थीहरू गणितमा यति धेरै अनुत्तीर्ण हुन्छन त ? किन राम्रोसँग सिक्न सकिरहेका छैनन त ? किन गणितका गुरुहरूले राम्रोसँग सिकाउन सकिरहनु भएको छैन त ? यो आजको समयको प्रश्न हो । हुन त बालबालिकाहरूलाई गणित सिकाउनका लागि विभिन्न दर्शनहरू, सिद्धान्तहरू नआएका पनि होइनन, विभिन्न शिक्षण विधिहरू एवं रणनीतिहरू पनि गणितका गुरुहरूले प्रयोग नगर्नु भएको पनि होइन । शिक्षा तालिम केन्द्रहरू मार्फत गणित सिकाउनका लागि गणित शिक्षकहरूलाई राज्यले लाखौँ रकम विनियोजन गरेर तालिम नदिइएको पनि होइन ।

जीवनमा कहिल्यै कक्षाकोठामा प्रवेश नगर्नुभएको आदरणीय व्यक्तित्वहरूलाई गणितमा यसरी धेरै अनुत्तीर्ण भैरहदा १००% अर्थात् पुरा कि पुरा दोष शिक्षकहरूलाई मात्र लगाउन पछि पर्नु हुन्न ।


यस्ता अनेकौँ उपायहरू अपनाउदा पनि बालबालिकाहरूले सोचेजस्तो गणित सिक्न सकिरहेका छैनन् । फेरी हामी गणित शिक्षक अझ म जस्तो कक्षाकोठामै प्रयोगात्मक तरिकाले दुई दशक दुई वर्ष गणित शिक्षण गरेको गणित शिक्षकले अब केही गरी गणित सिकाउन सकिदैन भन्ने छुट छैन । जीवनमा कहिल्यै कक्षाकोठामा प्रवेश नगर्नुभएको आदरणीय व्यक्तित्वहरूलाई गणितमा यसरी धेरै अनुत्तीर्ण भैरहदा १००% अर्थात् पुरा कि पुरा दोष शिक्षकहरूलाई मात्र लगाउन पछि पर्नु हुन्न । जसले जे भने पनि राम्रो भने पनि नराम्रो भने पनि हामी गणितका गुरुहरूले हाम्रो कर्म, धर्म छोड्दैनौ र छोड्नु पनि हुदैन । किनकी हाम्रो हातमा लाखौँ विद्यार्थी भाइबहिनीहरूको भविष्य छ, सपना छ, जुन साकार पार्नु पनि छ । मेरो दुई दशकको विद्यालय शिक्षणको अनुभव, विभिन्न तालिमको ज्ञान र अनुभव, मास्टर डिग्री सम्मको अध्ययनको ज्ञान र सीपको आधारमा निम्नानुसारका क्रियाकलापहरू अपनाउन सकेमा बालबालिकाहरूले गणित सजिलै सिक्न सक्छन् ।


१.गणितको जन्म अनुसारको शिक्षण गर्नुपर्ने :


गणितको जन्म र विकास जसरी भएको हो, त्यसरी नै शिक्षण गरेको अवस्थामा बालबालिकाहरूले गणित राम्रोसँग सिक्न सक्छन् भन्ने कुरा विभिन्न अनुसन्धानका प्रतिवेदनहरूमा अध्ययन गर्न सकिन्छ । जस्तै : ज्यामितिको साध्य प्रमाणित गर्दा सबैभन्दा पहिला अवलोकन चरण , त्यसपछि प्रयोगात्मक चरण र त्यसपछि मात्र सैद्धान्तिक चरण सिकाउनुपर्दछ ।


२. कक्षाकोठाको आकार उपयुक्त बनाउनुपर्ने :


महान गणितज्ञ प्रोफेसर एसएम मास्केका अनुसार कक्षाकोठाको आकार ठुलो भएमा गणितीय न्याय हुदैन । कक्षाकोठामा विद्यार्थी सङ्ख्या ३० जना भन्दा कम भएमा गणित शिक्षण सिकाइ क्रियाकलाप उपयुक्त हुने देखिन्छ । कुनै पनि कक्षामा ३० जनाभन्दा बढी विद्यार्थीहरू भएको अवस्थामा सेक्सनहरू बाडेर शिक्षण सिकाइ गरेमा विद्यार्थी बालबालिकाहरूले गणित राम्रोसँग सिक्ने देखिन्छ ।


३. चित्र, व्यवहारिक उदाहरण र खेल :


“एक तस्विर हजार शब्द भन्दा राम्रो छ” भने झैँ सिकाइका चित्र प्रयोग गर्दा सिकाइ अर्थपूर्ण र व्यवहारिक हुने देखिन्छ । एउटा चित्रबाट धेरै कुरा सजिलै सिकाउन सकिन्छ । त्यस्तै, व्यवहारिक उदाहरणहरू दिदै सिद्धान्त, नियमहरू सिकाउन सकेको अवस्थामा सिकाइ चिरस्थायी हुने देखिन्छ । अहिलेको २१ औँ शताब्दीका बालबालिकाहरूलाई गेमिफिकेशन अर्थात् खेलको माध्यमबाट खेल खेल्दा खेल्दै विषयवस्तु सिक्दछ्न । यस्ता खेलहरू डिजिटल वा भौतिक जे पनि हुन सक्छन । यस्तो शिक्षण सिकाइ अभ्यास संसारको राम्रो अध्ययन अध्यापन हुने देश फिनल्याण्ड, स्विटरल्याण्ड आदि देशमा पनि भएको पाइन्छ ।


४. विद्यार्थी बालबालिकाहरूलाई कक्षाकोठामा स्वतन्त्र छलफल गर्न दिने :


“Qmudent must be a Leader, Teacher must be a Lerner” हुनुपर्दछ । कक्षाकोठामा विद्यार्थीहरूलाई फक्रिन, फुल्न दिनुपर्दछ । बालबालिकाहरू ज्ञानका भण्डार हुन, हामी शिक्षकहरूले एकोहोरो जबरजस्ती आफूले जानेका कुराहरू घोकाउनुभन्दा उनीहरूलाई स्वतन्त्र रूपमा छलफल गर्न दिदा उनीहरू सिर्जनशील भई नयाँ नयाँ ज्ञानका कुराहरू विस्फोट हुन सक्दछन, जसले गर्दा गणितीय विषयवस्तुहरू राम्रोसँग सिक्न सक्छन् ।


५. इच्छाशक्ति जगाउदै भविष्यको बाटो देखाउनुपर्ने :


कुनै पनि कुरा सिक्न इच्छाशक्ति चाहिन्छ । इच्छाशक्ति यति ठुलो कुरा हो कि यदि भित्रैबाट बालबालिकाहरू गणितीय विषयवस्तुहरू सिक्न तयार छन भने जस्तोसुकै गणितीय धारणाहरू सजिलै सिक्न सक्छन । त्यसैले बालबालिकाहरूलाई इच्छाशक्ति जगाउदै भविष्यको लागि इन्जिनियरिङ, पाइलट लगायत विभिन्न क्षेत्रमा जान सकिन्छ भनेर मार्गदर्शन गर्नु पर्दछ ।


निष्कर्ष :
त्यसैले उपयुक्त वातावरण प्रदान गर्न सकिएमा जस्तोसुकै गणितीय ज्ञान पनि बालबालिकाहरूले सिक्न सक्छन भन्ने कुरा विभिन्न अनुसन्धानले देखाउछ । कक्षाकोठाभित्र शिक्षकले बालबालिकाहरूलाई पढाउने होइन, सिकाउने हो । बालबालिकाहरूको वैयक्तिक भिन्नता पहिचान गरी व्यवहारिक उदाहरण दिई चित्रात्मक तरिकाले रुची जगाउदै खेल माध्यमबाट सिकाउन सकेमा बालबालिकाहरूले गणितीय ज्ञानहरू सजिलै सिक्छन भन्ने मेरो बुझाई छ ।


(लेखक भरत प्रसाद जैसी श्री वाराही मा.वि., व्यास–११,तनहुँका गणित शिक्षक हुन् । तथा पाठ्यक्रम विकास केन्द्रका, गणित विषय विज्ञ–२०८२ हुन् ।)