काठमाडौँ /५ कार्तिक – कुनै पनि विद्यार्थीमा रहेको ज्ञान, सिप, अभिवृत्ति, मूल्य र कार्य गर्न सक्ने क्षमताको समग्रतालाई सक्षमता भनिन्छ । नेपालको वर्तमान विद्यालय तहको पाठ्यक्रम सक्षमतामा आधारित पाठ्यक्रम हो । सक्षमताले विद्यार्थीले के कुरा जान्दछ भन्नेभन्दा पनि के गर्न सक्छ (What a student can do) भन्नेमा जोड दिन्छ। उदाहरणका लागि सञ्चार सक्षमता भन्नाले केवल लेख्न वा बोल्न जान्नु मात्र होइन, बरु विभिन्न माध्यम (मौखिक, लिखित, डिजिटल) बाट प्रभावकारी रूपमा आफ्नो विचार व्यक्त गर्ने, अरूको कुरा सुन्ने र बुझ्ने तथा सहकार्य गर्ने क्षमताको विकास गर्नु हो। सक्षमता तहगत र विषयगत रुपमा विकास गर्ने प्रचलन छ । नेपालको पाठ्यक्रममा सक्षमतालाई प्रारम्भिक बाल शिक्षा तथा विकासका सक्षमता, आधारभूत तहका सक्षमता र माध्यमिक तहका सक्षमताका रुपमा उल्लेख गरिएको छ भने आधारभूत तह अन्तर्गत कक्षा १-३ का सक्षमता, कक्षा ४-५ का सक्षमता र कक्षा ६-८ का सक्षमता रहेका छन् । त्यसै गरी माध्यमिक तहअन्तर्गत कक्षा ९-१० का सक्षमता र कक्षा ११-१२ सक्षमताको रुपमा विकास गरिएका छन् । यी दुवै आधारभूत र माध्यमिक तहका सक्षमतालाई विषयगत सक्षमताको रुपमा समेत निर्धारण गरिएको छ ।
सक्षमताका आधारमा विषयगत रुपमा विद्यार्थीबाट अपेक्षा गरिएका विशिष्ट र मापनीय उपलब्धिलाई सिकाइ उपलब्धि भनिन्छ । यी सिकाइ उपलब्धि कक्षागत रुपमा तयार गरिएका छन् । सिकाइ उपलब्धि भन्नाले कुनै खास अवधि (जस्तै: एक एकाइ, एक पाठ, एक कक्षा) को अन्त्यमा विद्यार्थीले हासिल गरेको वा प्रदर्शन गर्न सक्ने विशिष्ट र नाप्न सकिने ज्ञान, सिप र अभिवृत्ति हो। यो सक्षमताभन्दा विशिष्ट (Specific) हुन्छ र यसले सक्षमताको एउटा सानो अंशलाई मात्र समेट्छ । यो केवल परीक्षाको अङ्कमा मात्र सीमित नभई विद्यार्थीले प्राप्त गरेको ज्ञान, सिप, अभिवृत्ति र व्यवहारगत परिवर्तनको समग्रता हो। नेपालको सन्दर्भमा हेर्ने हो भने, कक्षा १ देखि कक्षा १२ सम्म हरेक विषयको कक्षागत रुपमा कक्षागत सिकाइ उपलब्धि तयार गरिएको छ । यिनै सिकाइ उपलब्धि हासिल भए नभएको लेखाजोखा गरी हासिल नभएसम्म निरन्तर रुपमा सहयोग गरी सिकाउनुपर्ने प्रावधान वर्तमान पाठ्यक्रमले उल्लेख गरेको छ । यो लेख विद्यार्थीको सिकाइ उपलब्धि बढाउनका लागि केही रचनात्मक र व्यावहारिक उपायहरूमा केन्द्रित छ ।
सिकाइ उपलब्धि बढाउने पहिलो उपाय :
शिक्षकले चारओटा सामग्रीको गहन अध्ययन गरी सिकाइ योजना बनाउनुपर्छ । ती सामग्रीअन्तर्गत पाठ्यक्रम, शिक्षक निर्देशिका, पाठ्यपुस्तक र स्रोत तथा सन्दर्भ सामग्रीको अध्ययन पर्दछन् । आफूले अध्यापन गर्ने विषयमा वर्षभरिमा कतिओटा क्षेत्र वा एकाइ वा विधा छन् र ती क्षेत्र एकाइ र विधाअन्तर्गत जम्मा कति सिकाइ उपलब्धि छन् ? जम्मा सिकाइ उपलब्धिमध्ये आजको दिनको पिरियडमा कुन सिकाइ उपलब्धि हासिल गराउने हो भन्ने कुरा शिक्षकलाई अनिवार्य जानकारी हुनुपर्छ र विद्यार्थीलाई समेत ती सिकाइ उपलब्धिको बारेमा थाहा हुनुपर्छ र शिक्षकले थाहा दिनुपर्छ । विद्यार्थीले हासिल गर्ने सिकाइ उपलब्धिको बारेमा उनीहरुलाई जानकारी गराउनले ती उपलब्धि पूरा गर्न विद्यार्थीको ध्यान केन्द्रित हुन्छ जसले विद्यार्थीलाई सिकाइमा उत्प्रेरणा गराउँछ ।
सिकाइ उपलब्धि बढाउने दोस्रो उपाय :
सिक्नको लागि उपयुक्त सिकाइ वातावरण निर्माण गर्नु महत्वपूर्ण कार्य हो । विद्यालय केवल ज्ञान दिने ठाउँ मात्र नभई विद्यार्थीका लागि सुरक्षित, आनन्ददायक र उत्प्रेरक स्थल हुनुपर्छ। कक्षाकोठाको भौतिक संरचना, सरसफाइ, बसाइ, प्रकाश र हावाको व्यवस्थापनले विद्यार्थीको मनस्थितिमा सीधा प्रभाव पार्छ। साथै, शिक्षक र विद्यार्थीबीचको सम्बन्ध सौहार्दपूर्ण हुनुपर्छ। जब विद्यार्थीले शिक्षकलाई आफ्नो मित्र र मार्गदर्शकको रूपमा लिन्छ, तब सिकाइ प्रक्रिया सहज र प्रभावकारी हुन्छ। यसका लागि शिक्षकहरूले विद्यार्थीलाई सम्मान गर्ने, उनीहरूको जिज्ञासालाई कदर गर्ने र उनीहरूको रचनात्मकतालाई प्रोत्साहन गर्ने बानीको विकास गर्नुपर्छ। भयमुक्त वातावरणमा मात्र विद्यार्थीले स्वतन्त्र रूपमा प्रश्न सोध्न र आफ्नो विचार व्यक्त गर्न सक्छन्, जुन सिकाइको आधारभूत तत्त्व हो।
सिकाइ उपलब्धि बढाउने तेस्रो उपाय :
शैक्षिक सामग्रीको व्यवस्थापन र प्रयोग पनि महत्त्वपूर्ण हुन्छ। नेपालका अधिकांश विद्यालयहरूमा अझसम्म पनि पर्याप्त शैक्षिक सामग्री उपलब्ध छैनन्। यसले गर्दा विद्यार्थीले किताबी ज्ञानमा मात्र सीमित रहनुपर्छ। यसको समाधानका लागि सरकार र विभिन्न संस्थाहरूले शैक्षिक सामग्रीको उत्पादन र वितरणमा लगानी बढाउनुपर्छ। डिजिटल पुस्तकालय, शैक्षिक एप्स र भर्चुअल ल्याबको प्रयोग गरी विद्यार्थीलाई आधुनिक ज्ञानसँग जोड्न सकिन्छ। विद्यालय र समुदायको साझेदारीमा स्थानीय स्रोतसाधनको प्रयोग गरी सिकाइलाई थप जीवन्त बनाउन सकिन्छ। यसको लागि प्रत्येक शिक्षकले विषयगत रुपमा उल्लेख गरेका सिकाइ उपलब्धि र विषयवस्तुको प्रकृतिअनुसारको सामग्रीको वर्गीकरण (मूल्य नपर्ने, कम मूल्य पर्ने र मूल्य धेरै पर्ने) गरी सामग्रीको पहिचान, सङ्कलन, निर्माण र प्रयोग तथा भण्डारण गर्नुपर्छ । सामग्रीको पहिचान, निर्माण र प्रयोगमा विद्यार्थीको सहभागिता हुनुपर्छ जसले सिकाइलाई दिगो बनाउन मदत गर्दछ ।
सिकाइ उपलब्धि बढाउने तेस्रो उपाय :
सिकाइ सहजीकरणमा नवप्रवर्तन (Innovation in learning facilitation) र उत्प्रेरणा महत्वपूर्ण पक्ष हुन् । घोकाएर र घोकाउन लगाएर गरिने शिक्षणले विद्यार्थीको स्मरणशक्ति त बढाउला, तर उनीहरूको प्रयोग गर्ने, विश्लेषण क्षमता, समीक्षा गर्ने, समस्या समाधान गर्ने र सृजनशीलतालाई सीमित गर्छ। विद्यार्थीको उपलब्धि बढाउने विभिन्न उपायहरु मध्ये शिक्षण पद्धतिलाई शिक्षक–केन्द्रितबाट विद्यार्थी–केन्द्रिततर्फ रूपान्तरण गर्नु हो। नेपालमा अझै पनि परम्परागत शैलीमा शिक्षकले व्याख्या गर्ने र विद्यार्थीले नोट लेख्ने चलन बढी छ। यसो गर्दा विद्यार्थी केवल श्रोता मात्र बन्न पुग्छन्। तर सिकाइ उपलब्धि बढाउन विद्यार्थीलाई सक्रिय सहभागी बनाउनु जरुरी छ। शिक्षकले कक्षामा प्रश्न सोध्ने, समूहगत कार्य दिने, परियोजना (project work) गर्न लगाउने, छलफल र बहस गराउने अभ्यास गर्नु पर्छ। सिकाइ सहजीकरण गर्दा विषयवस्तुको प्रकृतिअनुसार परियोजना तथा समस्या समाधानमा आधारित सिकाइ (Project and Problem Based Learning) लाई प्राथमिकता दिनुपर्छ। यस विधिमा, विद्यार्थीलाई व्यक्तिगत वा समूहमा कुनै सामाजिक वा वैज्ञानिक समस्यामा आधारित परियोजना दिइन्छ। विद्यार्थीले त्यस परियोजनाको समाधान खोज्न अनुसन्धान गर्ने, तथ्याङ्क सङ्कलन गर्ने, विश्लेषण गर्ने र निष्कर्ष निकाल्ने काम गर्छन्। यसले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रूपमा प्रयोग गर्न सिकाउँछ। उदाहरणका लागि, “विद्यालय वा घर वरपरको वायु प्रदूषणको अवस्था र समाधान” विषयमा एउटा परियोजना दिन सकिन्छ। यस परियोजनामा विद्यार्थीले आफ्नो गाउँ वा टोलमा वायु प्रदूषणको अवस्था पहिचान गर्ने, स्रोतहरू पहिचान गर्ने, त्यसका कारणहरू खोज्ने, स्थानीय मानिसहरूसँग अन्तर्वार्ता लिने र सम्भावित समाधानहरूमाथि छलफल गर्छन्। अन्तमा, उनीहरूले आफ्नो अनुसन्धानको नतिजा र समाधानका उपायहरू समावेश गरी एक प्रतिवेदन तयार गरी प्रस्तुतीकरण तयार गर्छन्। यस किसिमको परियोजनाले विद्यार्थीलाई केवल प्रदूषणको परिभाषा घोक्नभन्दा त्यसको गहिराइमा बुझ्न, कारण पत्ता लगाउन र समाधान खोज्न प्रेरित गर्छ। यसले उनीहरूमा समालोचनात्मक र सिर्जनात्मक सोच (Critical and creative thinking) र समस्या समाधान गर्ने सिप (Problem-solving skills) को विकास गर्छ। यसरी विद्यार्थीलाई अनुभव र गतिविधिबाट सिक्ने अवसर दिइँदा उनीहरूको बौद्धिक, सामाजिक र भावनात्मक पक्ष एकैसाथ विकास हुन्छ।
सिकाइमा प्रेरणा (motivation) ठूलो शक्ति हो। विद्यार्थीले गर्ने सानो प्रगतिलाई पनि शिक्षकले प्रशंसा वा सकारात्मक प्रतिक्रिया दिएमा उनीहरू अझै उत्साही हुन्छन्। “हप्ताको उत्कृष्ट विद्यार्थी” घोषणा गर्ने, सानो पुरस्कार दिने वा मात्र मौखिक रुपमा प्रोत्साहन दिने जस्ता अभ्यासहरूले पनि विद्यार्थीलाई उर्जा दिन सक्छ। प्रोत्साहनको अभावमा विद्यार्थी निराश हुन सक्छन्, जसले सिकाइ उपलब्धिमा नकारात्मक असर पार्छ। त्यसैले शिक्षकले विद्यार्थीमा आत्मविश्वास जगाउने र सकारात्मक वातावरण सिर्जना गर्ने अभ्यास गर्नुपर्छ । यो कार्यले विद्यार्थीहरुमा नयाँ विषयवस्तु सिक्ने, सिकाइको प्रतिबिम्बन गर्ने बानीको विकास हुन्छ र जसले उपलब्धि बढाउन मदत गर्दछ ।
सिकाइ उपलब्धि बढाउने चौथो उपाय :
कक्षाकोठामा सामान्यतया तीन क्षमताका बालबालिका हुने गर्छन् । पहिलो क्षमतामा शिक्षकले एकपटक विषयवस्तुसम्बन्धी कुरा गर्दा बुझ्ने अर्थात् तीव्र क्षमताका बालबालिका, दोस्रो क्षमतामा शिक्षकले कक्षामा छलफल र अन्तर्क्रिया तथा क्रियाकलाप गराउँदा बुझ्ने खालका विद्यार्थीको सङ्ख्या धेरै हुन्छ जसलाई औसत सिकाइका बालबालिका पनि भनिन्छ भने तेस्रो क्षमतामा दुई चार पटक छलफल र अन्तरक्रिया तथा क्रियाकलाप गराउँदा समेत नबुझ्ने बालबालिका जो थोरै सङ्ख्यामा हुन्छन् । एउटा शिक्षकले एउटा पिरियडमा कक्षामा भएका सबै बालबालिकाहरुलाई पिरियडमा समावेश भएको सिकाइ उपलब्धि शतप्रतिशत हासिल गराउने सम्भावना अत्यन्त कम हुन्छ । यसको लागि विश्वव्यापी रुपमा अवलम्बन गरिएको सहकार्यात्मक सिकाइ (Collaborative learning) को तरिका प्रोत्साहन गर्नुपर्छ । यस प्रकारको सिकाइमा आफूले जानेको अनुभव र सिकाइ साथीलाई अनिवार्य रुपमा सिकाउने गरिन्छ । मैले मात्र सिक्ने नभइ कक्षामा भएका हामी सबैले सिक्नै पर्छ भन्ने कुरा यस प्रकारको सिकाइले जोड दिन्छ । समूहमा काम गर्दा विद्यार्थीले एक-अर्काबाट सिक्ने अवसर पाउँछन्। उनीहरूमा सहयोगको भावना, नेतृत्व गर्ने क्षमता र सामाजिक सिपको विकास हुन्छ। शिक्षकले समूहमा रहेका हरेक विद्यार्थीलाई आफ्नो विचार व्यक्त गर्ने अवसर दिनुपर्छ र उनीहरूको योगदानलाई मूल्याङ्कन गर्नुपर्छ। यसले कक्षाकोठालाई केवल ज्ञान ग्रहण गर्ने ठाउँबाट ज्ञान उत्पादन गर्ने ठाउँमा रूपान्तरण गर्छ। तसर्थ विद्यार्थीको सिकाइ उपलब्धि बढाउन सहकार्यात्मक र सहयोगात्मक सिकाइ तरिका अपाउनुपर्छ ।
सिकाइ उपलब्धि बढाउने पाँचौ उपाय :
विद्यार्थीको सिकाइ उपलब्धि बढाउने अर्को उपाय प्रविधिमा आधारित सिकाइ (Technology-Based Learning) हो। अहिलेको डिजिटल युगमा प्रविधिको सही सदुपयोगले विषयवस्तुको अवधारणा प्रष्ट पार्न तथा सिकाइलाई रोचक र प्रभावकारी बनाउन मदत गर्दछ। कक्षाकोठामा स्मार्ट बोर्ड, प्रोजेक्टर र शैक्षिक एप्सको प्रयोगले जटिल विषयवस्तुलाई सरल र दृश्यमय (Visual) बनाउँछ।
विद्यार्थीको सिकाइ उपलब्धि बढाउन कम्प्युटर, इन्टरनेट, मोबाइल एप, शैक्षिक भिडियो, अनलाइन पुस्तक र डिजिटल टुल्स प्रयोग गर्नु अत्यन्तै प्रभावकारी हुन्छ। प्रविधिको प्रयोगले सिकाइलाई रोचक, सजिलो र व्यावहारिक बनाउँछ। नेपालमा पनि ग्रामीण क्षेत्रसम्म स्मार्टफोन र इन्टरनेट विस्तार भइसकेकाले शिक्षकले डिजिटल सामग्रीको प्रयोग गर्न सक्ने सम्भावना बढेको छ। उदाहरणका लागि, अङ्ग्रेजी पढाउँदा केवल अनुवाद गर्ने नभई भाषा सिकाउने एप प्रयोग गरेर सुनाइ, बोलाइ र लेखाइ अभ्यास गर्न लगाउँदा विद्यार्थीको दक्षता उल्लेखनीय रूपमा बढ्छ। यसको साथै विद्यार्थीहरूलाई विभिन्न अनलाइन प्लेटफर्महरू (जस्तै: Khan Academy, Coursera) मार्फत अन्तर्राष्ट्रिय स्तरको ज्ञान प्राप्त गर्नसमेत प्रेरित गर्न सकिन्छ जसले विद्यार्थीको सिकाइ उपलब्धि बढाउन मदत गर्दछ ।
सिकाइ उपलब्धि बढाउने छैठौ उपाय :
सिकाइ क्रियाकलापको अभिन्न अङ्गको रुपमा मूल्याङ्कनको प्रयोग गर्नु अर्को महत्वपूर्ण पक्ष हो । प्रत्येक दिन पाठ्यक्रमले अपेक्षा गरेका सक्षमता तथा सिकाइ उपलब्धि हासिल गराउनको लागि गरिने क्रियाकलापको क्रममा तथा क्रियाकलाप पश्चात विद्यार्थीले के कति बुझे बुझेनन्, क्रियाकलाप के कति गर्न सके सकेनन्, सिकाइको कार्यसम्पादन स्तर (learning performance level) कस्तो छ, जस्ता पक्षमा लेखाजोखा गर्ने र सिक्न नसकेका विषयवस्तुलाई निरन्तर रुपमा सहयोग गर्दै जाने कार्यले सबै विद्यार्थीलाई सिकाइ उपलब्धि हासिल गराउन सकिन्छ । वर्तमान पाठ्यक्रमले कक्षा १ देखि ३ सम्म सिकाइका लागि मूल्याङ्कन (Assessment for learning), कक्षा ४ देखि १२ सम्म आन्तरिक मूल्याङ्कन (उपस्थिति र सिकाइ क्रियाकलापमा सक्रियता तथा सहभागिता, प्रयोगात्मक तथा परियोजना कार्य, त्रैमासिक परीक्षा) र बाह्य मूल्याङ्कन (विशिष्टीकरण तालिकाअनुसार (तहगत प्रश्नः ज्ञान, बोध, प्रयोग र उच्च दक्षता, literal comprehension, Reorganization, Inference, Evaluation/Reflection) को प्रावधान राखेको छ । तसर्थ पाठ्यक्रममा आधारित, सक्षमतामा आधारित र विद्यालयमा आधारित मूल्याङ्कन गरी विद्यार्थीले हासिल गरेको सिकाइ उपलब्धिको सही तरिकाले लेखाजोखा गर्दा पक्कै पनि विद्यार्थीको उपलब्धि बढाउन सकिन्छ । हरेक पाठ वा एकाइको अन्तमा माथि उल्लिखित विभिन्न तहका प्रश्न सोध्ने र छलफल तथा प्रस्तुतीकरण गर्न लगाउने र आवश्यक पृष्ठपोषण दिने, एकाइ वा पाठको सिकाइ सहजीकरण पश्चात् विभिन्न तहगत प्रश्न बनाई पाठगत वा एकाइ परीक्षा लिई प्रत्येक प्रश्नमा दिइने सुझाव तथा पृष्ठपोषणले निरन्तर सुधार गर्न मदत पुग्दछ जसको कारणले त्रैमासिक तथा वार्षिक परीक्षामा विद्यार्थीले कम भन्दा कम त्रुटी गर्ने सम्भावना हुन्छ । नेपालमा अझै पनि एकैचोटी त्रैमासिक वा वार्षिक परीक्षामा तहगत प्रश्न सोध्ने तर पृष्ठपोषण दिने कार्य नगर्नाले उपलब्धि कमजोर देखिएको छ । त्रैमासिक वा वार्षिक रुपमा परीक्षा लिने प्रणालीले विद्यार्थीलाई परीक्षाकेन्द्रित बनाउँछ र उनीहरूलाई घोक्न मात्र प्रेरित गर्छ। यसको विकल्पमा सिकाइका लागि मूल्याङ्कन (Assessment for learning) प्रणाली लागू गर्नुपर्छ। सिकाइका लागि मूल्याङ्कन प्रणालीमा, विद्यार्थीको प्रगतिलाई वर्षभरि नै मूल्याङ्कन गरिन्छ। यसमा गृहकार्य, कक्षा कार्य, पाठ तथा एकाइ परीक्षा, मासिक परीक्षा, परियोजना कार्य, प्रयोगात्मक कार्य, मौखिक प्रस्तुतीकरण र समूहगत कार्यलाई मूल्याङ्कनको आधार बनाइन्छ। यसले शिक्षकलाई विद्यार्थीको कमजोरी पहिचान गर्न र समयमै सुधारका उपायहरू अपनाउन मद्दत गर्छ। साथै यस प्रकारको मूल्याङ्कनले शिक्षकलाई आफूले अवलम्बन गरेका सिकाइ सहजीकरणका तरिका (Technique), विधि (Methods) र उपागम (Approaches) कति प्रभावकारी छन् भनेर मूल्याङ्कन गर्न सहयोग गर्छ। उदाहरणका लागि, कक्षाको सुरुमा सोधिएको प्रश्नले विद्यार्थीको विषयवस्तुमा पूर्व सिकाइ अनुभव कति छ भन्ने कुराको जानकारी दिन्छ भने क्रियाकलापको बिच वा अन्त्यमा सोधिने प्रश्नले विद्यार्थीले विषयवस्तु कति बुझे भनेर तत्काल थाहा पाउन सकिन्छ। सिकाइका लागि मूल्याङ्कनको अलावा आवश्यकताअनुसार स्व-मूल्याङ्कन (Self-Assessment) र सहपाठी मूल्याङ्कन (Peer-Assessment) लाई पनि समावेश गर्नुपर्छ। विद्यार्थीले आफ्नै र साथीको कामको मूल्याङ्कन गर्दा उनीहरूमा जिम्मेवारीबोध र समालोचनात्मक र सिर्जनात्मक तथा समस्या समाधान गर्ने क्षमताको विकास हुन्छ। शिक्षकको मुख्य भूमिका मूल्याङ्कन गर्ने मात्र नभई विद्यार्थीलाई उनीहरूको प्रदर्शन र सिकाइको विस्तृत पृष्ठपोषण (Feedback) दिने पनि हुनुपर्छ। यो प्रतिक्रिया रचनात्मक र सुधारउन्मुख हुनुपर्छ। विद्यार्थीलाई केवल अङ्क मात्र नदिई उनीहरूको प्रदर्शनमा कहाँ सुधार आवश्यक छ भनेर स्पष्ट जानकारी दिनुपर्छ। मूल्याङ्कन प्रणालीलाई विश्वसनीय बनाउनका लागि प्रश्नपत्र निर्माणमा पनि सुधार आवश्यक छ। प्रश्नपत्रले केवल विद्यार्थीको स्मरणशक्ति मात्र नभई उनीहरूको विश्लेषण गर्ने, संश्लेषण गर्ने, मूल्याङ्कन गर्ने, समीक्षा गर्ने, विवेचना गर्ने, तर्क दिने, समस्या समाधानको खाका तयार गर्ने र सृजनशीलताको पनि परीक्षण गर्नुपर्छ। यसका लागि शिक्षकहरूलाई प्रश्नपत्र निर्माणसम्बन्धी तालिम दिनु जरुरी छ। साथै, मूल्याङ्कनलाई निष्पक्ष बनाउनका लागि उत्तरपुस्तिका परीक्षणमा निश्चित मापदण्ड अर्थात् उत्तरकुञ्जिका (Marking Scheme) को प्रयोग गर्नुपर्छ।
सिकाइ उपलब्धि बढाउने सातौं उपाय :
सबैभन्दा महत्त्वपूर्ण पाटो शिक्षकको निरन्तर क्षमता विकास (Continuous Professional Development) हो। शिक्षकको क्षमता विकास भयो भने त्यसको प्रभाव विद्यार्थीको सिकाइमा पर्छ । विद्यार्थीको सिकाइको गुणस्तर प्रत्यक्ष रूपमा शिक्षकको क्षमतामा निर्भर गर्छ। नेपालको सन्दर्भमा, शिक्षकको क्षमता विकास गर्नको लागि शिक्षक पेसागत विकास प्रारुप २०८० ले १० तरिकाले शिक्षकको पेसागत क्षमता विकास गर्ने विधिहरु उल्लेख गरेको छ । ती विधिमा सेवा प्रवेश तालिम, छोटो अवधिको कष्टमाइज्ड तालिम, एक महिने प्रमाणीकरण तालिम, शिक्षक मेन्टरिङ, स्व निर्देशित सिकाइ, पाठ अध्ययन, कार्यमूलक अनुसन्धान, सिकाइ सञ्जाल, सहपाठी कक्षाकोठा अवलोकन र स्वमूल्याङ्कन रहेका छन् । प्रारुपले १० ओटा विधिहरुको माध्यमबाट शिक्षकको क्षमता विकास गर्ने प्रावधान राखेपनि प्रत्येक शिक्षकले ती तालिम सघन रुपमा पाएको अवस्था भने छैन । शिक्षकले केवल पेसागत विकासका विधिहहरुको जानकारी मात्र पाएर हुँदैन, त्यसलाई कक्षाकोठामा कसरी लागू गर्ने भन्ने व्यावहारिक ज्ञान पनि प्राप्त गर्नुपर्छ । यसको लागि तालिम प्रदायक निकायले प्रभावकारी संयन्त्रको विकास गरी प्राविधिक सहायता (Technical backstopping) प्रदान गर्नुपर्छ । तालिम प्रदायक निकायले शिक्षकको क्षमता विकासका लागि विभिन्न कार्यक्रमहरू जस्तो सेवाकालीन तालिम (In-service training), कार्यशाला (Workshop) र सेमिनारहरूलाई नियमित रूपमा आयोजना गर्नुपर्छ। यी तालिमहरू सैद्धान्तिक मात्र नभई व्यावहारिक हुनुपर्छ। शिक्षकहरूलाई नवीनतम प्रविधिको प्रयोग, विद्यार्थी मनोविज्ञान, रचनात्मक शिक्षण विधि र मूल्याङ्कनका नयाँ तरिकाहरूका बारेमा प्रशिक्षण दिनुपर्छ। यसका साथै, शिक्षकहरूलाई शैक्षिक अनुसन्धानमा संलग्न हुन प्रोत्साहन दिनुपर्छ। जब शिक्षक आफैँ अनुसन्धानमा लाग्छन्, तब उनीहरूले आफ्नै शिक्षण विधि र विद्यार्थीको सिकाइमा सुधार गर्न सक्छन्। शिक्षकलाई केवल पेसागत रूपमा मात्र नभई व्यक्तिगत रूपमा पनि सहयोग र प्रेरणा दिनु आवश्यक छ। उनीहरूलाई आफ्नो कामप्रति गर्व गर्ने वातावरण सिर्जना गर्नुपर्छ। शिक्षकको पारिश्रमिक र सेवा सुविधामा सुधार ल्याउनुपर्छ ताकि उनीहरू पेसाप्रति समर्पित हुन सकून्। साथै, शिक्षकको कार्यसम्पादनको मूल्याङ्कन प्रणालीलाई वस्तुनिष्ठ र वैज्ञानिक बनाउनुपर्छ। राम्रो प्रदर्शन गर्ने शिक्षकलाई सम्मान र पुरस्कृत गर्ने परिपाटीको विकास गर्नुपर्छ।
विद्यार्थीको सिकाइ उपलब्धि बढाउने आठौं उपाय :
विद्यार्थीको सिकाइ केवल विद्यालयमा मात्र निर्भर हुँदैन। अभिभावक र समुदायको भूमिका पनि अत्यन्त महत्त्वपूर्ण हुन्छ। घरमा अभिभावकले गृहकार्य तथा परियोजना कार्य गर्न सघाउन पुर्याउने, पठन संस्कृतिकोलागि उपयुक्त वातावरण बनाइदिने, अध्ययनको लागि समय मिलाउने, समय समयमा विद्यालयमा पुगेर आफ्नो बालबालिकाको सिकाइको प्रगतिको अवस्था बुझ्ने र प्रभावकारी सिकाइको लागि सुझाव तथा पृष्ठपोषण दिने, सिकाइ सामग्री उपलब्ध गराउने र प्रेरणा दिने हो भने विद्यार्थीको उपलब्धि स्वाभाविक रूपमा बढ्छ। समुदायले विद्यालयमा सहयोग पुर्याउने, पुस्तकालय वा सिकाइ सामग्री निर्माण गर्ने, शिक्षक र विद्यार्थीलाई प्रोत्साहित गर्ने कार्य गर्नुपर्छ। विद्यालय, घर र समुदायबीचको सहकार्य भएमा विद्यार्थीलाई सिकाइका लागि समग्र वातावरण तयार हुन्छ जसले विद्यार्थीको सिकाइ उपलब्धि बढाउन मदत पुग्दछ ।
सिकाइ उपलब्धि बढाउने नवौं उपाय :
विद्यार्थीको सिकाइ उपलब्धि बढाउने महत्वपूर्ण पक्ष भनेको विद्यार्थीको नतिजा विश्लेषण हो । नतिजा विश्लेषण सामान्यतया त्रैमासिक र वार्षिक परीक्षाको गर्नुपर्छ । कक्षा १ देखि कक्षा ३ सम्मको नतिजा विश्लेषण गर्दा कार्यसञ्चयिका (Portfolio) लाई मुख्य आधार लिनुपर्ने हुन्छ । यस कार्यसञ्चयिकामा विशेषतः प्रत्येक विषयमा रहेका थिमगत सिकाइ उपलब्धिमा विद्यार्थीको सिकाइ स्तर (१,२,३,४) तथा प्रत्येक थिममा नियमित सिकाइ पछिको मूल्याङ्कन र थप सहायतापछिको मूल्याङ्कन र उपलब्धि प्रतिशतको आधारमा नतिजा विश्लेषण गर्नुपर्छ भने त्रैमासिक रुपमा विश्लेषण गर्दा तीन महिनाको अन्तमा विद्यार्थीको उपलब्धि प्रतिशत, विषयगत ग्रेड र समग्र जिपिएको आधारमा विश्लेषण गर्नुपर्ने हुन्छ । यसै गरी वार्षिक रुपमा नतिजा विश्लेषण गर्दा विषयगत रुपमा वर्ष भरिमा विद्यार्थीले हासिल गरेको उपलब्धि प्रतिशत, ग्रेड र समग्र जिपियको विश्लेषण, विद्यार्थीले गरेका कक्षा कार्य, परियोजना कार्य, थिमगत अभ्यास, सिर्जनात्मक कार्य तथा सहक्रियाकलापहरुको विश्लेषण गर्नुपर्छ र प्रत्येक विद्यार्थी र अभिभावकलाई त्यसको बारेमा जानकारी दिई सुधारको लागि सुझाव तथा पृष्ठपोषण दिनुपर्छ । जसले गर्दा विद्यार्थीको सिकाइको वास्तविक अवस्थाको जानकारी भई उपलब्धिमा सुधारमा मदत पुग्दछ ।
कक्षा ४ देखि कक्षा १२ सम्मको नतिजा विश्लेषण गर्दा आन्तरिक मूल्याङ्कनमा आधारहरुः उपस्थिति तथा सिकाइ क्रियाकलापमा सहभागिता तथा सक्रियता, परियोजना तथा प्रयोगात्मक कार्य र त्रैमासिक परीक्षा तथा बाह्य मूल्याङ्कनका साधनअन्तर्गत विशिष्टीकरण तालिकाअनुसारका सोधिएका प्रत्येक प्रश्नमा विद्यार्थीको प्रतिक्रियाको विश्लेषण गर्नुपर्ने हुन्छ । यसको साथै आन्तरिक र बाह्य मूल्याङ्कनमा विद्यार्थीको ग्रेड, समग्रमा जिपिए प्राप्तिको विश्लेषण गर्नुपर्छ । संज्ञानात्मक सिकाइ उपलब्धिको लेखाजोखा गर्नको लागि पाठ वा एकाइ परीक्षा, त्रैमासिक र वार्षिक परीक्षामा सोधिएका प्रश्नको विश्लेषण समेत गर्नुपर्ने हुन्छ । विश्लेषण गर्दा सबल पक्ष र सुधार गर्नुपर्ने पक्षको बारेमा विषयगत रुपमा विश्लेषण गरी छलफल गर्नुपर्छ । यी सबै कार्य गर्नुको मुख्य उद्देश्य बालबालिकाहरुले गरेका सबल पक्ष र सुधार गर्नुपर्ने पक्षको जानकारी प्राप्त गरी थप सुधारको लागि योजनाबद्द कार्यलाई अगाडि बढाउनु हो । नतिजा विश्लेषणले विद्यार्थी तथा शिक्षकले गरेका कार्यहरुमध्ये सबल पक्ष र सुधार गर्नुपर्ने पक्षको जानकारी गराई कमीकमजोरी सुधार गर्ने अवसर दिन्छ जसले विद्यार्थीको सिकाइ उपलब्धि बढाउन सहयोग गर्दछ ।
निष्कर्षः
विद्यार्थीको सिकाइ उपलब्धि बढाउनु एक एकीकृत र बहुपक्षीय प्रयास हो। यो केवल सरकार, शिक्षक वा अभिभावकको एकल जिम्मेवारी होइन, बरु सबै सरोकारवालाहरूको सामूहिक प्रयत्नबाट मात्र सम्भव हुन्छ। यसका लागि हामीले शिक्षाप्रतिको आफ्नो सोच र दृष्टिकोणमा परिवर्तन ल्याउनु आवश्यक छ। शिक्षालाई केवल जागिर खाने साधनका रूपमा मात्र नभई व्यक्तिगत र सामाजिक रूपान्तरणको माध्यमका रूपमा हेर्नुपर्छ। माथि उल्लेखित उपायहरूलाई कार्यान्वयन गर्नका लागि तीनओटै सरकारले दीर्घकालीन, मध्यमकालीन र तत्कालीक शैक्षिक योजना बनाउनुपर्छ। ती योजनामा पाठ्यक्रम परिमार्जन, शिक्षकको निरन्तर क्षमता विकास, आधुनिक शिक्षण विधिहरूको प्रयोग, वैज्ञानिक मूल्याङ्कन प्रणालीको विकास र शैक्षिक पूर्वाधारमा लगानीलाई प्राथमिकता दिनुपर्छ। साथै, शिक्षा क्षेत्रमा हुने लगानीलाई अनुत्पादक नभई भविष्यको सबैभन्दा ठूलो लगानीका रूपमा लिनुपर्छ। नेपालमा विद्यार्थीको सिकाइ उपलब्धि बढाउने सम्भावनाहरू प्रशस्त छन्। हाम्रा विद्यार्थीहरूमा प्रतिभाको कमी छैन, केवल उनीहरूको प्रतिभालाई प्रस्फुटन गराउन सक्ने सही वातावरण र मार्गदर्शनको आवश्यकता छ। जब प्रत्येक विद्यार्थीले आफूलाई महत्त्वपूर्ण र सक्षम ठान्छन्, तब उनीहरू आफ्नो सिकाइमा पूर्ण रूपमा संलग्न हुन्छन्। यसले उनीहरूको व्यक्तिगत विकास मात्र नभई राष्ट्रको समग्र विकासमा पनि योगदान पुर्याउँछ। सिकाइ उपलब्धि बढाउने कार्य चुनौतीपूर्ण हुन सक्छ, तर असम्भव छैन। जब हामी परम्परागत शिक्षणका सीमाहरूलाई तोड्न सक्छौँ र विद्यार्थीलाई केन्द्रमा राखेर काम गर्न सुरु गर्छौँ, तब शिक्षाले वास्तविक रूपमा रूपान्तरणकारी भूमिका खेल्न सक्छ। यसले नयाँ पुस्तालाई २१ औँ शताब्दीका चुनौतीहरूको सामना गर्न सक्षम बनाउँछ र समृद्ध नेपालको सपनालाई साकार पार्न मद्दत गर्छ।
शिक्षा कुनै पनि राष्ट्रको विकासको आधारशिला हो। विद्यार्थीको सिकाइ उपलब्धि नै शिक्षाको वास्तविक सफलताको मापन हो। नेपालजस्तो विकासोन्मुख देशमा अझै पनि विद्यार्थीको सिकाइ उपलब्धि अपेक्षाअनुसार उचाइमा पुगेको देखिँदैन। अझ पनि विद्यार्थीको उपलब्धि ५० प्रतिशतको हाराहारिमा रहेको छ । कतिपय विद्यालयमा विद्यार्थीहरू परीक्षा पास गर्ने मात्रतर्फ ध्यान दिन्छन् भने, कतिपयमा अझै पनि पाठ्यपुस्तक कण्ठ गर्ने प्रवृत्ति विद्यमान छ । यस्तो अवस्थामा विद्यार्थीको सिकाइ उपलब्धि बढाउन रचनात्मक, व्यवहारिक र नवीन उपायहरूको आवश्यकता हुन्छ। सिकाइ उपलब्धि भनेको केवल अङ्कमा मात्र सीमित नभई ज्ञान, सिप, मूल्य र व्यवहारमा देखिने परिवर्तन हो। तसर्थ विद्यार्थीको सिकाइ उपलब्धि बढाउने कार्य कुनै एक पक्षको जिम्मेवारी मात्र होइन, सबैको साझा जिम्मेवारी हो। शिक्षकले विद्यार्थी–केन्द्रित शिक्षण पद्धति अपनाउनुपर्छ, विद्यालयले आवश्यक सुविधा र अनुकूल वातावरण सिर्जना गर्नुपर्छ, अभिभावकले घरमा सहयोग पुर्याउनुपर्छ र समुदायले विद्यालयलाई सहयोग गर्नुपर्छ। साथै, प्रविधि, विद्यार्थी केन्द्रित शिक्षण, निरन्तर मूल्याङ्कन र सकारात्मक प्रेरणालाई प्रभावकारी रूपमा प्रयोग गर्न सकियो भने विद्यार्थीको उपलब्धि उल्लेखनीय रूपमा बढाउन सकिन्छ। अन्ततः शिक्षा केवल परीक्षा पास गर्ने साधन नभई जीवन परिवर्तन गर्ने शक्ति हो भन्ने आत्मबोध विद्यार्थीमा गराउन सके मात्र सिकाइ उपलब्धि बढ्नेछ र राष्ट्रले अपेक्षा गरेका लक्ष्य र अपेक्षा पुरा गर्न सकिन्छ । (लेखक युवराज अधिकारी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शैक्षिक गुणस्तर परीक्षण केन्द्रका निर्देशक हुन् ।)



