सरकारले शिक्षकलाई धोका दियो, पराजित गर्ने गरी आन्दोलन गर्नोस : सापकोटा

काठमाडौँ /१३ भदौ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नीप्रसाद सापकोटाले सरकारले शिक्षकहरूलाई धोका दिएको बताएका छन् । शिक्षक आन्दोलनलाई सशक्त बनाउने भन्दापनि सरकारलाई पराजित गर्ने गरी प्रभावकारी आन्दोलन गर्न सुझाब दिँदै सो कुरा बताएका हुन् ।


शिक्षकका मागका बारेमा नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०को पूर्ण समर्थन रहेको र शिक्षक परिवर्तनका संवाहक भएकोले सबैले सम्मान गर्नुपर्ने उनको भनाई छ । उनले जहाँ शिक्षकको सम्मान हुँदैन त्यो देश अधोगतितिर जाने उल्लेख गर्दै शिक्षकको सम्मान गर्न नसक्ने सरकारले अरू कुनै काम पनि गर्न नसक्ने विचार व्यक्त गरे ।


सापकोटाले प्रधानाध्यापक महासङ्घको सदस्य हुन नपाउने जस्ता प्रावधान ल्याउनुमा सरकारको केही न केही बद्नियत रहेको र प्रधानाध्यापकबाट शिक्षकहरूलाई च्याप्न खोजिएकोले चलाखी पूर्ण तरिकाले सरकारसँग संवाद गर्न सुझाए । साथै संवादमा जाँदा पराजित गर्ने गरी तयारी गरेर जान, सरकारले जवाफ दिन नसक्ने गरी तयारी गर्न सुझाब दिँदै आत्मसम्मान हुनेगरी माग सम्बोधन हुनुपर्नेमा जोड् दिए ।


साथै शिक्षकहरूले अहिलेसम्म जायज माग राखेकोले आफू सधैँ शिक्षकको पक्षमा रहने प्रतिबद्धता व्यक्त गरे ।


नेपाल शिक्षक महासङ्घले पहिलो चरणका आन्दोलनको कार्यक्रम अन्तर्गत आज तेस्रो दिन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय, पेरिसडाँडामा धर्ना दिएका थिए । महासङ्घले घोषणा गरेका आन्दोलनका कार्यक्रम अनुसार आजदेखि २० गतेसम्म केन्द्रमा सबै पार्टी कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउनुका साथै २ घण्टा प्रतिनिधि मूलक धर्ना दिने कार्यक्रम रहेको छ ।


२०७५, २०७८, २०८० र २०८१/८२ मा सरकारसँग भएका सहमति लागु गर्न, अस्थायी शिक्षकका लागि ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला पदपूर्ति (हालको ६० प्रतिशत–४० प्रतिशत को सट्‍टा) आवधिक बढुवा, म्याद सकिएको अध्यापन अनुमति पत्रको नवीकरण, विद्यालय कर्मचारीको तलब र पद, बालकक्षा शिक्षकको सेवा, संस्थागत विद्यालयका शिक्षकको सुरक्षा, द्वन्द्वपीडित शिक्षकको उपदान र शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरणको विरोध गरेको छ ।