अहिलेको बजेटबाट निःशुल्क शिक्षा सम्भव छैन : शिक्षाविद् कुशियत

काठमाडौँ /१९ जेठ – सरकारले पुरानै कार्यक्रमलाई निरन्तरता दिएको शिक्षामा रूपान्तरण गर्ने कुनै नयाँ कार्यक्रम नल्याएको शिक्षाविद् प्रा.डा. विनय कुशियतले बताएका छन् । बजेटको संरचनामा अनिवार्य तथा निःशुल्क शिक्षाको सम्भावना नदेखिएको उनको भनाई छ ।


उनले अनुसन्धान लगायतका विषयमा बजेट थोरै भएको, विदेशी सहायता पनि घटेको बताउँदै शिक्षामा बजेट बढाउनका लागि अन्य स्रोतहरूको पनि खोजीनुपर्नेमा स्थानीय तह र अन्य स्रोत खोज्नेमा कुनै संकेत नदेखिएको बताए । बजेट हेर्दा निजीको सम्भावना झन बढेको भन्दै निजीसँगको साझेदारी गर्न पनि बजेट वृद्धि गर्न आवश्यक रहेको विचार व्यक्त गरे ।


उनले भने ‘सरकारसँग संचित कोष पनि घटेको छ । विदेशी सहायता पनि घटेको छ । सरकारले अन्य स्रोत खोज्ने संकेत पनि देखाएन । करबाटै आएको रकम मात्रै हेरिएको छ, यसरी हेर्दा निःशुल्क शिक्षा भनेपनि सम्भावना देखिएन । शिक्षामा बजेट वृद्धि गर्ने हो भने खोजयुक्त प्रणाली लागु गर्नुपर्छ । उत्पादन नहुने क्षेत्रलाई पहिचान गरेर त्यता बजेट हाल्नु भन्दा शिक्षामा लगाउनु राम्रो हुन्छ ।’


यसैगरी विदेशतिर पनि निजी विद्यालयहरूले सरकारलाई सहयोग गर्ने गरेको उल्लेख गर्दै निजीलाई सरकारले सहयोग गर्नुपर्ने र निजीले पनि सरकारलाई सहयोग गर्नुपर्ने अवस्था आएको उनको भनाई छ । कक्षा ८ सम्मको शिक्षालाई सरकारले पूर्ण जिम्मेवार नलिए निःशुल्क शिक्षाबाट पछि हट्नुपर्ने बताए ।