विद्यालयमा बहुकक्षा र बहुशिक्षणको व्यवस्था गर्न सुझाब

स्याङ्जा /१७ माघ – शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विद्यालयमा बहुकक्षा र बहुशिक्षणको व्यवस्था गर्न सके शैक्षिक गुणस्तरमा सुधार आउने सरोकारवालाहरूले सुझाब दिएका छन् । स्याङ्जाको चापाकोटस्थित श्री गंगालाल माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहमा सो सुझाब दिएका हुन् ।


शिक्षामन्त्री प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा सरोकारवालाहरूले चापाकोट क्षेत्रका शिक्षामा रहेका विभिन्न समस्या र चुनौती औँल्याएका थिए । उनिहरूले कृषि क्याम्पसको अलपत्र अवस्था, दरबन्दीको अभाव, चापाकोट क्याम्पस सञ्चालनमा समस्या, गंगालाल माविको भवन निर्माणको अवस्था, स्कूल बसको आवश्यकता लगायतको विषय उठाएका थिए । यसैगरी चापाकोटलाई शैक्षिक हब बनाउनुपर्ने, शिक्षा नीतिमा सुधार गर्नुपर्ने र शैक्षिक पलायन रोक्नुपर्नेमा जोड दिए ।


भट्टराईले स्थानीयका समस्यालाई ध्यानपूर्वक लिएको बताउँदै विभिन्न समस्याहरूको समाधानका लागि पहल गर्ने बताइन । उनले बालविकास कक्षा देखी कक्षा १२ सम्म अनिवार्य तथा निःशुल्क शिक्षाका लागि सरकारले योजना बनाइरहेको, शिक्षामा १० प्रतिशत बजेट अपुग रहेको स्वीकार गर्दै बजेट वृद्धिका लागि आवश्यक पहल गर्ने, कृषि क्याम्पस सञ्चालनका लागि कृषि विश्वविद्यालयसँग समन्वय गर्ने, शिक्षा ऐनका लागि यसै अधिवेशनमा विधेयक पेस गरी यथाशीघ्र ऐन ल्याउने जानकारी दिइन ।


साथै संगीत, खेल, योग, ध्यान जस्ता विषयलाई आगामी वर्ष विद्यालय शिक्षाको पाठ्यक्रममा समावेश गरिने, दरबन्दी पुनरावलोकन भइरहेको र दरबन्दी मिलान गरी यथोचित वितरण गर्ने, २०८२ सालदेखी शिक्षकको योगदानमा आधारित निवृत्तिभरण शुरु हुने, कालीगण्डकी संस्कृति र सभ्यतामा सहयोग गर्ने, सामुदायिक विद्यालयमा खानेपानीको महसुल निःशुल्क गर्नका लागि खानेपानी मन्त्रालयसँग कार्यप्रारम्भ भएको र शिक्षकको स्वास्थ्य उपचारमा ४०% छुट दिनको लागि व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयसँग सहकार्य भइरहेको बताईन ।