काठमाडौँ /६ मंसिर – मदन भण्डारी मेमोरियल कलेजले आफ्नो पुस्तकालय आम सर्वसाधारणका लागि खुला गर्ने भएको छ । पठन संस्कृतिको विकासका लागि कलेजले विद्यार्थीलगायत आम सर्वसाधारणका लागि पुस्तकालय खुला गर्ने निर्णय गरेको हो ।
हाललाई अध्ययन गर्न चाहने जोसुकै अध्येताका लागि पुस्तकालयको सुविधा पुस्तकालय परिसरमै बसेर लिनुपर्ने व्यवस्था गरिएको छ । समाज, संस्कृति, साहित्य, भाषालगायतका विविध विषयमा नेपाली र अंग्रजी भाषामा लेखिएका करिब १० हजार पुस्तक कलेजको पुस्तकालयमा उपलब्ध छन् ।
पठन संस्कृति विकास गर्नु नेपाली समाजमा अझै पनि चुनौतीको विषय बनिरहेको अवस्थालाई मध्यनजर गरी पुस्तकालयमा आम मानिसको पहुँच विस्तार गर्दै लैजाने पहल सुरु गरेको कलेजले जानाएको छ ।
पुस्तकालय प्रयोगकर्ताले त्रिवि केन्द्रीय डिजिटल पुस्तकालय र यस मार्फत विश्वका विभिन्न डिजिटल डाटाबेस ‘सर्च’ गरी अध्ययन गर्न पाइने प्रबन्ध पनि मिलाइएको कलेजले जनाएको छ । पुस्तकालयबाट वर्षभरिमा सबैभन्दा बढी किताब अध्ययनका लागि लैजाने तीन जना विद्यार्थीलाई पुरस्कृत गरिने कलेजले जनाएको छ ।
यसैगरी क्याम्पसमा आवधिक रूपमा किताबमाथिका परिचर्चा सञ्चालन भइरहेका छन् । यस क्रममा लेखक र समीक्षकहरूलाई आमन्त्रण गरी शिक्षक र विद्यार्थीसँग अन्तरक्रिया गराउने काम नियमित भइरहेका छन् । अनुसन्धान तथा खोजलाई प्रश्रय दिन तथा नयाँ ज्ञान उत्पादन गर्नका लागि कलेजले ‘जर्नल अफ प्रोडक्टिभ डिस्कोर्स’ र ‘श्वेतशार्दुल’ जस्ता जर्नलहरू पनि प्रकाशन गर्दै आएको छ । यस कलेजले समय समयमा काठमाडौँबाहिरका विभिन्न शैक्षिक संस्थाको पुस्तकालय क्षमता अभिवृद्धिका लागि सहयोग स्वरूप पुस्तकहरू उपलब्ध गराउँदै आएको छ ।
सृजनशील, व्यवहारिक र आलोचनात्मक चेतको शैक्षिक जागरण अभियानमा विगत दुई दशकभन्दा लामो समयदेखि क्रियाशील मदन भण्डारी मेमोरियल कलेजको मुख्य ध्येय पठनलाई सोख होइन, संस्कृति बनाउनु रहेको छ ।



