सम्बन्धनका लागि १ सय ७० बढी कलेजको आवेदन

काठमाडौं/४ पुस-पोखरा विश्वविद्यालयबाट नयाँ शैक्षिक संस्थाको सम्बन्धनका लागि १ सय ७० बढी कलेजले आवेदन दिएका छन् । विश्वविद्यालयले नयाँ सम्बन्धनका लागि आवेदन माग गरेपछि १ सय ७० बढी कलेजले आवेदन दिएका हुन ।


त्यसैगरी सम्बन्धन प्राप्त सबै कलेजहरुले कोटा थपका लागि आवेदन दिएको विश्वविद्यालयले जनाएको छ । सम्बन्धन प्राप्त गरेका कलेजहरुको कार्यक्रम थप, समुह थप र विद्यार्थी सिट संख्या थपका लागि आवेदन माग गरेको थियो ।


आवेदन दिएका १ सय ७० कलेज मध्येबाट २० वटा कलेजहरुलाई मात्रै छनोट गरी नयाँ सम्बन्धन दिइने रजिष्ट्रार दिपक भण्डारीले बताए । उनले विभिन्न मापदण्डका आधारमा कलेज छनोट गरिने बताए छन् । कलेज नै नभएको स्थान, भौतिक संरचना राम्रो भएको कलेज, व्यवस्थापन लगायत कार्यविधिले निर्धारण गरेको मापदण्डका आधारमा २० वटा कलेज छनोट गरिने भण्डारीले जानकारी दिए ।


विश्वविद्यालयको भदौं २९ गतेको कार्यकारी परिषद्को निर्णय अनुसार नयाँ शैक्षिक संस्थाको सम्बन्धन तथा सम्बन्धान प्राप्त गरेका कलेजहरुको कार्यक्रम थप, समुह थप र विद्यार्थी सिट संख्या थपका लागि आवेदन माग गरेको थियो ।


पोखरा विश्वविद्यालय साउन १४ मा सम्पन्न २२ औं साधारण सभाको बैठकले विश्वविद्यालयबाट सम्बन्ध प्राप्त गरेका कलेजहरुको विशिष्टिकरण तथा कार्यक्रम प्रतिस्थापनको कार्य सम्बन्धि महाविद्यालय, कलेजहरुलाई स्वैच्छिक अवसर दिई सो को प्रक्रिया अगाडी बढाउन स्विकृत दिने निर्णय गरेको थियो ।


त्यसैगरी नयाँ शैक्षिक संस्थाका लागि कार्यक्रम सञ्चालन गर्न इच्छुक सातै प्रदेशका शैक्षिक संस्थाहरुबाट आवेदन माग गरीएको र संचालनका लागि इच्छुक शैक्षिक संस्थाहरुबाट भदौं ३० गतेदेखि कार्तिक २ गतेसम्ममा आवेदन दिनुपर्ने गरी सूचना जारी गरिएको थियो ।


साथै सम्बन्धान प्राप्त गरेका कलेजहरुको कार्यक्रम थप, समुह थप र विद्यार्थी सिट संख्या थपका लागि भदौं ३० गतेदेखि कार्तिक ९ गतेसम्ममा आवेदन माग गरिएको थियो ।