सामुदायिक सिकाई केन्द्र : समुदायका व्यक्तिको जीवनस्तर उकास्न महत्वपुर्ण

चन्द्रकान्त खनाल
रुपन्देही/३ पुस-शुध्दोधन गाउँपालिका २ खडवा बनगाई सामुदायिक सिकाई केन्द्रमा विविध तालिमको शुभारम्भ गरिएको छ । तालिमको शुध्दोधन गाउपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्याले उद्घाटन गरेका छन् । उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष बस्यालले सामुदायिक सिकाई केन्द्रले बालबालिका युवायुवतीहरुको हितमा काम गर्ने संस्था बनेको बताए ।


उनले समुदाय सिकाई केन्द्रलाई मानिसहरू मिलेर समुदायको विकासका लागि समुदायबाटै स्थापना र व्यवस्थापन गर्नेगरी अनौपचारिक प्रकृतिको स्वायत, स्वशासित स्थानीय शैक्षिक संस्था भनेकै सामुदायिक सिकाइ केन्द्र बनेको बताए ।


जहाँ समुदायका मानिसहरूको आवश्यकता र चाहना अनुसारको कार्यक्रम सञ्चालन गरिएको छ । समुदायको सशक्तीकरणका लागि सामुदायिक सिकाइ केन्द्र एक निर्विकल्प संस्था रहेको र सामुदायिक सिकाइ केन्द्रले समुदायका व्यक्तिहरूको जीवनस्तर उकास्न सिकाइ र कमाइसँगै लगेर सफल भएको धेरै नै उदाहरण खड्वा बनगाई सामुदायिक सिकाई केन्द्र रहेको अध्यक्ष बस्यालले बताए ।


खडवा बनगाई सामुदायिक सिकाई केन्द्रको आयोजनामा र शुध्दोधन गाउपालिका मानपकडी रुपन्देहीको कार्यालय र शुध्दोधन दुई वडा कार्यालय भुजौली रुपन्देहीको आर्थिक सहयोगमा सिलाई कटाई तालिम अन्तरगत (आधारभूत एडभान्स र डिजाइनर).कम्प्युटर तालिम अन्तरगत (आधारभूत एडभान्स, ग्राफिक्स डिजाइन र एकाउन्टिग्ङ प्याकेज),कुक तालिम (अन्तरगत आधारभूत र एडभान्स),डल तथा कुसन तालिम,उद्घोषण तालिम,ब्युटीपार्लर(आधारभूत र एडभान्स) लगायतका तालिमको कम्प्युटर हल तथा कम्प्युटर ल्याप समुउद्घाटन कार्यक्रम भएको छ ।


खडवा बनगाई सामुदायिक सिकाई केन्द्रका अध्यक्ष तथा रुपन्देही जिल्ला समन्वय समितिका अध्यक्ष उमाकान्त चापागाईंको अध्यक्षतामा भएको कार्यक्रमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराईले वोल्दै खडवा बनगाई सामुदायिक सिकाई केन्द्रको मार्फत यस गाउँपालिकाका युवायुवतीलाई सो रोजगारी माध्यम बनेको बताए । “यस खडवा बनगाई सामुदायिक सिकाई केन्द्रले धेरै सिकाई हरुको तालिम दिदै आएको छ” उनले भने ।


सिकाई केन्द्रबाट तालिमप्राप्त गरेका युवायुवती हरुले कार्यान्वयन ल्याउनुपर्नेमा जोड दिए । खडवा बनगाई सामुदायिक सिकाई केन्द्रका अध्यक्ष तथा रुपन्देही जिल्ला समन्वय समितिका अध्यक्ष उमाकान्त चापागाईंले आफ्नो क्षमता अनुसार शिक्षा र सीप आर्जन र परिष्कृत गर्दै स्वरोजगार बन्ने अवसर प्राप्तिमा यस सामुदायिक सिकाइ केन्द्र एक सशक्त माध्यम बन्दै आएको र सामुदायिक सिकाइ केन्द्रले व्यक्तिको शारीरिक, मानसिक, सामाजिक विकास र विस्तारका साथै ज्ञान र सीपबाट सूचित गर्दै सशक्तीकरण गर्न र समयको माग र समुदायको आवश्यकता अनुसार विभिन्न तालिमको व्यवस्था गर्दै आएको चापागाईंले बताए ।


उक्त कार्यक्रममा एमाले शुध्दोधन गाउपालिका २ का उपाध्यक्ष होम केसी,नेपाली कांग्रेस शुध्दोधन गाउपालिका २ का उपसभापति भोलानाथ चौधरी ,बनगाई माविका प्रअ गोकुलराज घिमिरे, शुध्दोधन ४ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता केसवराज अधिकारी, शुध्दोधन गाउँपालिका शिक्षा शाखा प्रमुख चन्द्रकान्त शर्मा, शुध्दोधन २ का वडा अध्यक्ष कमल खड्का, लगायतले सामुदायिक सिकाई केन्द्रले युवायुवतीको हितमा महत्त्वपूर्ण कार्य गरेकोमा धन्यवाद तथा शुभकामना ब्यक्त गरेका थिए ।


सो कार्यक्रममा सामुदायिक सिकाई केन्द्रका सल्लाहकार भीमबहादुर रानाको स्वागतमा र कार्यक्रम संचालन सामुदायिक सिकाई केन्द्रका सदस्य नगेन्द्र दुवाले गरेका थिए ।