काठमाडौं/३ पुस-उच्च शिक्षा अध्ययनका लागि रुस गएका नेपाली विद्यार्थीहरु अलपत्र परेका पछि विशेष कदम उठाउन परराष्ट्र मन्त्रालयलाई आग्रह गरिएको छ । शैक्षिक परामर्श संस्थाहरुको झुठा र अव्यवहारिक आश्वासनमा परेर उच्च शिक्षाका लागि रुस गएका अधिकांस नेपाली विद्यार्थीहरु अलपत्र परेपछि परराष्ट्र मन्त्रालयलाई आग्रह गरिएको हो ।
उनीहरुलाई पढाइ भन्दापनि आर्थिक अवसर तथा युरोप छिर्न सकिने प्रलोभनमा पारी रुस पठाइएको र शैक्षिक परामर्श संस्थाहरुले भने सस्तो अवसर नपाउनुका साथै दैनिकी समेत कष्टकर रहेको भन्दै विद्यार्थीहरुले नेपाली राजदूतावास मस्कोमा सम्पर्क गरेका छन् ।
साथै नेपाली विद्यार्थीहरुसँग रुस पठाए बापत मोटो रकम असुलेको तर, रुस पुगेपछि अवसर प्राप्त गर्न नसकेको र दैनिकी जिवन नै कष्टकर भएको विद्यार्थीहरुको भनाई छ । उनीहरु नेपाल फर्किनुपर्दा पनि जीवनभरिका लागि ऋणपासो बनेको, पारिवारिक स्थिति कमजोर भएको, ऋण गरि रुस आएको र अलपत्र परेकै कारण मानसकि रुपमा समेत विक्षिप्त भएको भन्दै उद्धारका लागि दूताबासलाई आग्रह गरेका छन् ।
त्यसैगरी केही नपाली विद्यार्थीहरु परिवारले तथा रुसमा रहेका नेपाली समुदायको सहयोगमा उद्धार गरि नेपाल फर्किएको मस्को स्थित नेपाली राजदुतावासले जानकारी दिएको छ । यसरी रुसमा अफ्ठेरो परी नेपाल फर्कन सहजिकरण्का लागि अनुरोध गर्दै राजदूतावासमा सम्पर्क गर्ने नेपाली विद्यार्थीहरुको संख्या दिनानु दिन बढ्दो रहेको राजदूत मिलन राज तुलाधरले बताएका छन् ।
उनले विद्यार्थी भिसामा रुसी महासंघ आउँदा नितान्त अध्ययन गर्ने बाहेक अन्य युरोप छिर्न पाइन्छ वा अवसर धेरै पाइन्छ भन्ने प्रलोभनमा नपर्न विद्यार्थी तथा अभिभावकहरुलाई आग्रह गरेका छन् । साथै यस अघि पनि नआउन सूचना जारी गरिएपनि नेपाली विद्यार्थीहरुको आगमनमा कमी नआएकोले यस विषयमा थप कदम चाल्न आवश्यक देखिएकोले विशेष पहल उठाउन र आवश्यक व्यवस्था गरीदिन परराष्ट्र मन्त्रालयलाई आग्रह गरिएको छ ।
परराष्ट्र मन्त्रालयले यस विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, वैदेशिक अध्ययन अनुमति शाखालाई पत्र लेखेको छ । वैदेशिक अध्ययन अनुमति शाखाले यस सवालमा एक दुइदिनमा निर्णय गर्ने जनाएको छ ।



