विषयगत शिक्षण सिकाइका लागि युरो स्कुल र काठमाडौं विश्वविद्यालय बिच सहकार्य

काठमाडौं/२२ मंसिर-युरो स्कुल छाउनी काठमाडौं र काठमाडौं विश्वविद्यालय, स्कुलअफ एडुकेशन बिच शिक्षण सिकाइ कृयाकलाप, शैक्षिक विकास, शिक्षण सिकाइ, उपलब्धी मूल्याङ्कन लगायत विभिन्न किसिमका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न सहकार्य गर्ने सम्झौता भएको छ ।


एक्काइसौं शताब्दीको शैक्षिक चुनौतीलाई आत्मसात् गर्दै विश्वव्यापी नागरिक उत्पादन गर्ने, व्यावहार कुशल समसामयिक र युगानुकुल सिप गराउने शिक्षक वर्गको व्यवसायिक क्षमता अभिबृद्धि गर्न आवश्यक व्यवसायिक सिप, ज्ञान र तालिम सञ्चालन गर्ने उद्देश्यले सम्झौता गरिएको हो ।


प्रगतिशील शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको युरो स्कुल छाउनी काठमाडौंले शिक्षक वर्गको पेसागत मर्यादा र विश्वव्यापी आवश्यकताको पूर्तिका लागि काठमाडौं विश्वविद्यालयसँग विषयगत शिक्षण सिकाइ क्रियाकलापहरू सञ्चालन, नियमन, अनुगमन तथा पृष्ठपोषण गर्दै मर्यादित र गुणस्तरीय शिक्षाको विकासमा योगदान पुग्ने उद्देश्यले सम्झौता गरिएको जनाएको छ ।


तीनबर्षे कार्यकाल सहितको सम्झौतापत्र अनुसार विद्यालयको आवश्यकता, शिक्षक विकास र विद्यार्थीहरूको जीवनोपयोगी, जिवन्त शिक्षाको गुणस्तरीयताका लागि कक्षा व्यवस्थापन, आवधिक योजना निर्माण, सिकाइ सहजीकरणका विधि तथा उपायहरूको खोजी, विविध क्षमताहरूको पहिचान र मूल्याङ्कन लगायतका विषयहरूमा कार्यक्रम सञ्चालन हुनेछन् । युरो स्कुलको तर्फबाट प्रधानाध्यापक रोहिणी प्रधान र काठमाडौं विश्वविद्यालयको तर्फबाट स्कुल अफ एजुकेसनका डीन प्रा.डा. बालचन्द्र लुईंटेलले हस्ताक्षर गरेका छन् ।


हस्ताक्षर कार्यक्रममा युरो स्कुलका प्रबन्ध निर्देशक मनोज पराजुली, अनुसन्धान तथा विकास प्रमुख एकराज अर्याल र काठमाडौं विश्वविद्यालयको तर्फबाट स्टिेम विभाग प्रमुख विनोद प्रसाद पन्त, कार्यक्रम संयोजक डा. पार्वती ढुङ्गाना, एशोसियट डीन धनपति सुवेदी , शैक्षिक नेतृत्व विभाग प्रमुख डा. शेषकान्त पंगेनी, प्रा.डा.लक्ष्मण ज्ञवाली, डा. हेमराज काफ्ले लगायतको उपस्थिति रहेको थियो ।