प्याब्सकले फुटसल कप आयोजना गर्ने

काठमाडौं/१९ मङ्सिर-निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) ले मंगलबारदेखि दुई दिनसम्म फुटसल आयोजना गर्ने भएको छ । संगठनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फुटसल प्रतियोगिताबारे जानकारी गराएको हो ।


संगठनका अध्यक्ष गेन्द्र लामाले दुई दिनसम्म चल्ने प्रतियोगितामा ३२ वटा विद्यालयका विद्यार्थीहरूको टीम सहभागी हुने बताए । भाटभटेनी फुटसल ग्राउण्ड चुच्चीपाटीमा हुने प्रतियोगिताको तयारी भइरहेको प्याब्सकका महासचिव राजन श्रेष्ठले जनाए । प्रतियोगितामा प्याब्सक सदस्य विद्यालयले मात्रै सहभागिता जनाउन पाउने श्रेष्ठको भनाई छ । विद्यार्थीको सीप विकास गर्ने उद्देश्यले प्याब्सकले यस प्रकारका कार्यक्रम आयोजना गर्दै आएको पनि महासचिव श्रेष्ठले जानकरी दिए ।


प्रतियोगितामा प्रथम हुने टिमले १० हजार रुपिँया नगद सहित ट्रफी र प्रमाणपत्र, दोस्रो हुने टिमले ५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र तथा तेस्रो हुने टिमले ३ हजार नगद सहित ट्रफी र प्रमाणपत्र पाउने प्रतियोगिता आयोजक समितिका संयोजक राजु पुडासैनीले जानकारी दिए ।


अठार वर्ष अघि स्थापना गरिएको प्याब्सकले पटक–पटक शैक्षिक सहित सिर्जनात्मक कार्यक्रम गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिए । प्याब्सकले यसअघि प्रिन्सिपल बीच पनि फुटसल प्रतियोगिता गराएको थियो । विद्यार्थी बीच खेलाइने यो सातौं प्रतियोगिताभएको आयोजकले जनाएको छ ।


प्याब्सकमा काठमाडौँको उत्तरी बेल्टका ४० भन्दा बढी निजी तथा आवासीय विद्यालयहरू समावेश छन् ।