शिक्षकको गुनासो : पर्याप्त तालिम र स्रोत साधन नहुँदा शिक्षण सिकाई प्रभावकारी हुन सकेन

काभ्रे/१४ मंसिर-शिक्षण सिकाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर पर्याप्त तालिम पाउन नसकिएको र पर्याप्त स्रोत साधन पनि उपलब्ध हुन नसकेकाले यसबारे सबैले सोच्नुपर्ने शिक्षकहरुले बताएका छन् ।


काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसन (रूपान्तरण कार्यक्रम) र नमोबुद्ध नगरपालिका– ८, काभ्रे अवस्थित दाप्चा माध्यमिक विद्यालयको सहकार्यमा आयोजित कार्यशालामा शिक्षकहरुले पर्याप्त स्रोत साधन उपलब्ध तालिम नहुँदा प्रभावकारी शिक्षण सिकाई हुन नसकेको बताएका हुन ।


कार्यशालामा कक्षा कोठामा शिक्षण सिकाईलाई अझ कसरी प्रभावकारी बनाउन सकिन्छ र त्यसका समस्या के के हुन र समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा सहभागी शिक्षकहरू विच व्यापक छलफल गरिएको थियो ।


छलफलमा सहभागी शिक्षक विजय खनालले शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन शिक्षकले ल्यापटप, कम्प्युटर, ईन्टरनेट, प्रोजेक्टर, युट्युब आदिको माध्यमबाट शिक्षण सिकाई गर्न सके शिक्षण सिकाई अझ प्रभावकारी हुने र विद्यार्थीहरू सिकाई प्रति उत्प्रेरित हुने बताए । यसका लागि यी प्रविधिको उचित व्यवस्था गर्नसके शिक्षण सिकाई उपलब्धि मूलक हुने उनको भनाई छ ।

त्यसैगरी, शिक्षक किशोर अधिकारीले अभिभावकले घरमा आफ्ना छोराछोरीको पढाइमा उचित ध्यान दिनुपर्ने, बेलाबेला अभिभावक पनि आफ्ना छोराछोरीको पढाइबारे बुझ्न र चासो राख्न समय समयमा विद्यालय आउनु पर्ने र विद्यालयमा शिक्षकले पनि विद्यार्थीको पढाइलाई आधुनिक प्रविधिसँग जोड्नु पर्ने बताए ।


शिक्षक पशुपति विश्वकर्मा र माधव शर्माले पनि आधुनिक प्रविधिको प्रयोग गरी विद्यार्थीलाई क्रियाकलापसँग जोडेर शिक्षण सिकाइ क्रियाकलाप गर्न सकेमा सिकाइ प्रभावकारी हुने बताए । सबै शिक्षकहरू आधुनिक प्रविधिसँग त्यति परिचित नभएकाले पनि त्यसलाई कक्षाकोठामा प्रयोग गर्न नसकिएकोमा जोड दिए ।


अर्का शिक्षक उद्धव गौतमले खेलकुद, गीत संगीत र आधुनिक प्रविधिबाट पठनपाठन गर्नुपर्ने सबैले भन्ने गरेता पनि यसको माध्यमबाट शिक्षण सिकाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर पर्याप्त तालिम पाउन नसकिएको र पर्याप्त स्रोत साधन पनि उपलब्ध हुन नसकेकाले यसबारे सबैले सोच्नुपर्ने भनाई राखे । शिक्षक शारदा थापा अधिकारीले विद्यार्थीहरूलाई संगीत र खेलकुदको माध्यमबाट सिकाउन सके शिक्षण सिकाइ अझ बढी प्रभावकारी हुने बताए ।


शिक्षक लोकेन्द्र घटाल र ईन्दिरा पराजुलीले अंग्रेजी र नेपाली जस्ता भाषा विषय शिक्षण गर्दा भाषिक सीप र व्याकरण सिकाउन युट्युब र श्रव्य दृश्य माध्यमबाट शिक्षण गर्न सके शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी हुने बताए । यस्ता प्रविधिले शिक्षण सिकाई प्रभावकारी र दिगो हुने शिक्षक रूषा श्रेष्ठ र लक्ष्मी श्रेष्ठले पनि भनाइ थियो । अर्का शिक्षक उत्तम तिमिल्सिनाले विद्यार्थीलाई सिकाइ प्रति उत्प्रेरित गर्ने र सिकाइ उपलब्धिलाई प्रभावकारी बनाउने उपायको खोजी गर्नुपर्ने धारणा राखे ।


शिक्षक सावना श्रेष्ठले गीत संगीत, खेलकुद र आधुनिक प्रविधिको प्रयोगबाट बालकक्षा र स–साना बालबालिकालाई प्रभावकारी ढंगले सिकाउन सकिने बताए । त्यसैगरी शिक्षक निता अधिकारीले शिक्षक र विद्यार्थी दुवैको सहभागितामा सिकाईलाई प्रविधिसँग जोड्न सकेर समय समयमा यस्ता तालिम सञ्चालन गर्न सके सिकाई दिगो र प्रभावकारी हुने भनाइ व्यक्त गरे ।


दाप्चा माविका प्रधानाध्यापक दिनेश प्रसाद अधिकारीले कार्यशाला अत्यन्तै उपयोगी भएको र यसको लागि सक्दो पहल गर्ने पनि बताए । विद्यालयमा गरिने यस्ता छलफल, कार्यशाला तथा तालिमले सिकाइलाई शिक्षक, विद्यार्थी र अभिभावक सँग जोड्न सकिने, आधुनिक र व्यवहारिक शिक्षासँग अपडेटभई आधुनिक विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने बनाउन सकिने र शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी र सार्थक हुने कुरामा सहभागी सबैको जोड थियो । कार्यशालाको सहजीकरण डा.पार्वती ढुङ्गानाले गरेकी थिइन ।


(यो समाचार खबर एजुकेसनका लागि दाप्चा माविका अंग्रेजी बिषय शिक्षक लोकेन्द्र घटाल र सामाजिक बिषय शिक्षक विजय खनालले तयार पार्नु भएको हो भने तस्वीर दिनेश प्रसाद अधिकारी र विजय खनालले खिच्नु भएको हो । )