बाँके/१२ मंसिर-नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका सुर्य ढकालले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न सकेमात्र देशको विकास हुने बताएका छन् । बाँके जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित भएका ढकालले आइतबार बिहान आफुले अध्ययन गरेको विद्यालय पुगेर शिक्षा क्षेत्रलाई सरकारले प्राथमितामा राखेर काम गर्नुपर्ने बताएका हुन् ।
प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि ढकाल आफुलाई कखारा सिकाएका गुरुहरुको आशिर्वाद लिन र विद्यार्थीहरुसँग भेटघाट गर्न भन्दै बर्दियामा रहेको विद्यालय युवक मावि जोगि गाउँ पुगेका थिए । उनले विद्यालयमा पुगेर राज्यले शिक्षकहरुका समस्यालाई ध्यान दिनुपर्ने र शिक्षकहरुको सम्मान गरेमात्र शिक्षामा परिवर्तन ल्याउन सकिने बताएका छन् ।
उनले भने “उच्च ज्ञान भएका व्यक्तिहरुलाई राज्यले प्राथमिकता दिएर शिक्षक बनाउनु पर्छ । हरेक क्षेत्रमा पुग्ने जनशक्ति उत्पादन गर्ने भनेको विद्यालय लगायत शैक्षिक संस्थाहरु हुन । त्यसकारण शिक्षकहरुलाई अरुको भन्दा बढी सेवा सुविधा दिएर भएपनि सबैको पहिलो राजाइमा शिक्षण पेशा बनाउनु पर्छ ।”
साथै विद्यार्थी भाईबहिनीहरु माझ आफ्ना अनुभव साट्दै र पढाइ भन्दा पनि बढी सिकाईमा ध्यान दिन आग्रह गरेका छन् । आफु बाँकेका जनताको मतले निर्वाचित भए पनि अध्ययन गरेको स्कुल युवक माविको स्तरोन्नतिको लागि सधै लागिपर्ने बताए । उनले १० कक्षा सम्म युवक माविमा अध्ययन गरेका थिए ।
तब त शिक्षक हुनुमा गर्व लाग्छ
जब विभिन्न शुभकामना कार्यक्रमहरु छाडेर सबै भन्दा पहिला नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका सुर्य ढकाल विद्यालय पुगे प्रधानाध्यापक नरेस चौधरी आश्चर्यमा परे । उनले शिक्षक प्रति देखाएको सम्मानको प्रशंशा गर्दे शिक्षक हुनुमा गर्व लागेको बताए । उनले खुशी व्याक्त गर्दै यसरी लेखेका छन् :
भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको परिणाम आउँदा सडकको विजय जुलुसमा राताम्य भएर मतदाताको विचमा हुनु पर्ने बाँके जिल्ला बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित एक उम्मेदवार सबै भन्दा पहिले आफु कखारा सिकेको विद्यालय र हात समातेर भविष्य कोर्न सिकाउने गुरुआमालाई सम्झिन्छ र प्रअको अनुमति लिई प्रारम्भिक शिक्षा हासिल गरेको विद्यालय प्रवेश गर्दछ । सरस्वतीको पवित्र स्थलमा आएर गुरुआमासँग आशिर्वाद लिन्छ ।
आफु राज्यको माननिय पदमा पुग्दाको श्रेय गुरुआमालाई दिन्छ । विद्यालय र गुरुआमासँग विजयको शुभकामना र आशिर्वाद लिन पुग्ने माननीय सुर्य ढकाल ज्यूले शिक्षक प्रति देखाएको सम्मानको प्रशंशा गर्ने ओजिलो शब्द म संग छैन । आफु पढेको विद्यालयलाई गरेको माया र शिक्षकको सम्मान गर्ने वहाँको संस्कारी व्यवहारले म मा कुदेको अमित छाप कहिल्यै मेटिने छैन् ।
सलाम छ बाँके जिल्ला प्रतिनिधि सभा क्षेत्र नं १ बाट विजयी हुन भएको माननिय सुर्य ढकाल ज्यू । वहाँको राजनीतिक यात्रा सफलताको शिखर चुमोस, शिक्षा क्षेत्रमा रहेको समस्या र वेतिथिहरुको समाधानको भरपुर अपेक्षा । यी र यस्ता जनप्रतिनिधिहरुले शिक्षकप्रति देखाएको सम्मानले त होला शिक्षक हुनुमा गर्व लाग्छ । युवक मा वि जोगीगाउँ बर्दिया ।



