काठमाडौंं/१६ साउन-विश्वविद्यालय अनुदान आयोगले उच्च शैक्षिक संस्थाहरुलाई नेशनल रजिष्ट्री मा दर्ता हुन आग्रह गरेको छ । नेपालमा सञ्चालित उच्च शैक्षिक संस्थाहरु हालसम्म राष्ट्रिय स्तरमा दर्ता तथा औपचारीक अभिलेखिकरणको व्यवस्था नभएकोले नेशनल रजिष्ट्री मा दर्ता हुन आग्रह गरेको हो ।
उच्च शिक्षा प्रदायक संस्थाहरुको नेशनल रजिष्ट्री कायम गरी अलग्गै पहिचान नम्बर प्रदान गर्ने, संस्थाको प्रोफाई तयार गरी आवधिक रुपमा अद्यावधिक गर्ने र समग्र सूचनालाई एकिकृत प्रणालिमा ल्याउने उदेश्यले आयोगले निर्णय गरेको समेत जनाएको छ ।
साथै सम्पूर्ण उच्च शैक्षिक संस्थाहरु केन्द्रीय क्याम्पस,आंगिक, सामुदयिक,निजी, गुठी, तथा विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालभित्र सञ्चालित संस्थाहरुलाई भदौ मसान्त भित्र अनिवार्य रुपमा नेशनल रजिष्ट्री दर्ता गर्न निर्देशन दिएको छ ।




