गुट बनाएर निवार्चनमा जाने परिपाटिको अन्त्य गर्दै इक्यानले चयन ग¥यो सर्वसम्मतमा नयाँ कार्यसमिति

काठमाडौं/२७ पुष– नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले प्रकाश पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबारदेखि सुरु भएको इक्यानको १४ औं साधारणसभाले पाण्डेको अध्यक्षतामा आइतबार बिहान सर्वसम्मतमा नयाँ कार्यसमिति चयन गरेको हो । संघको प्रथम उपाध्यक्षमा देविदास भट्टराई, द्वितिय उपाध्यक्षमा शेषराज भट्टराई र तृतिय उपाध्यक्षमा कृष्णहरि केसी सर्वसम्मत चयन भएका छन् ।
यस्तै, महासचिवमा दीपकराज भुसाल चयन भएका छन् भने प्रथम सचिवमा बासुुदेव दाहाल र द्वितिय सचिवमा बीके श्रेष्ठ चयन भएका छन् । यसैगरी, प्रकाश श्रेष्ठ कोषाध्यक्ष र कर्ण गुरुङ सहकोषाध्यक्ष भएका छन् । संघको सदस्यहरुमा सुष्मा आचार्य, रत्न भट्टराई, पुष्पराज भट्टराई, आशिक कार्की, विकल्पराज पोख्रेल, आर्यन उप्रेती, भवनाथ हुँमागाई, सुभास गौतम र शिव त्रिपाठीलाई चयन गरिएको छ ।
इक्यानले यसपटक वार्षिक साधारण सभासँगै नयाँ कार्यसमिति चयन गरेको हो । अघिल्ला वर्षहरुमा इक्यानले महाधिवेशनमा नयाँ कार्यसमिति चयन गर्दै आएको थियो । इक्यानले एकसातादेखि नै यसपटकको कार्यसमिति सर्वसम्मतमा चयन गर्ने कसरत गरेको थियो । अध्यक्षमा प्रकाश पाण्डे सर्वसम्मत भएपनि अन्य पदमा अत्याधिक आकांक्षी भएपछि उनीहरुलाई मिलाउन मुस्किल भएरहेको थियो । बिहिबार अध्यक्षसँगै उपाध्यक्ष, महासचिव सर्वसम्मत गर्ने सहमति जुटेको थियो भने सचिव, कोषाध्यक्ष र सदस्यहरुमा सहमति जुट्ने सकेको थिएन ।
सहमति नजुटेको पदका लागि शनिबार राती निर्वाचन नै गर्ने भनेर कार्यतालिका समेत सार्वजनिक गरिएको थियो भने सँगसँगै आकांक्षीहरुलाई सहमतिमा ल्याउने प्रयास पनि भइरहेको थियो । सर्वसम्मतीका लागि पटकपटक प्रयास गरिरहेको ईक्यानले अन्तिम समयमा सहमतिको वातावरण तयार गरी सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
५ महिना अघि नै भएको इक्यानको नयाँ कार्यसमिति चयन प्रक्रियामा निवर्तमान अध्यक्ष विष्णुहरि पाण्डेले सम्पूर्ण सदस्यहरुलाई सर्वसम्मत गराउन ठूलो भूमिका खेलेका छन् । दुई समूहमा गुट बनाएर निवार्चनमा जाने इक्यानको परिपाटीलाई अन्त्य गर्दै सर्वसम्मतमा सबैलाई मिलाएर नयाँ कार्यसमिति चयन गर्ने वातावरणको सिर्जना गर्ने श्रेयलाई उनैलाई जान्छ । पाण्डेले आफ्नो कार्य अविध सकिने भन्दा पनि इक्यानका सम्पूर्ण सदस्यलाई कसरी मिलाएर लैजाने भनेमा बढी केन्द्रीत हुदा नै इक्यानले सर्वसम्मतमा नयाँ कार्यसमिति प्राप्त गर्न सफल भएको हो ।
इक्यानको १४ औं साधारण सभाको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले गरेका थिए । उनले शैक्षिक परामर्श दातृ निकायले शैक्षिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि ठूलो योगदान पु¥याएको बताए ।