राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्ती आज

काठमाण्डौं/२७ पुष– आज पुष २७ अर्थात् आईतबारका दिन नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्तीका अवसरमा विभिन्न कार्यक्रम गरी राष्ट्रिय एकता दिवस मनाइँदैछ ।
वि सं. १७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले २२ से र २४ से राज्यमा विभाजित स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । विश्वमा उपनिवेश चलाउन सफल अङ्ग्रेज सेनासमेत उनको नेतृत्वमा पराजित भएको थियो । अङ्ग्रेजले समेत हराउन नसकेको मुगल सेनालाई पृथ्वीनारायणले १८१९ मा मकवानपुरमा पराजित गरेका थिए । यसपछि भारतमा उपनिवेश चलाईरहेका अङ्ग्रेज पनि उनीसँग डराएका थिए ।
तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ । ‘दिव्योपदेश’ पृथ्वीनारायण शाहका भनाई हुन । जसलाई पछि कृतिका रुपमा प्रकाशित गरिएको छ । नेपालको भौगोलिक एकीकरणको भूमिकामा महत्वपूर्ण योगदान दिएका शाहको निधन विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भएको थियो ।
पृथ्वी जयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएको थियो तर हाल कटौती गरिएकामा पुनः बिदा दिई देशभर पृथ्वी जयन्ती तथा एकता दिवस मनाईनुपर्ने माग हुन थालेको छ ।
यसैगरी, राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता तथा राष्ट्रप्रमुख पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्तीको अवसरमा उहाँप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीद्वारा आज जारी सन्देशमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा राष्ट्रिय एकता दिवसका अवसरमा हार्दिक शुभकामना सहित नेपाल प्राचीनकालदेखि नै स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा रहिरहन हाम्रा पूर्वजहरुको वीरता, कार्यकुशलता र बुद्धिमत्तापूर्ण भूमिका रहेको र ऐतिहासिक यस दिनमा राष्ट्रिय एकतालाई थप सुदृढ पार्दै सदाचार र सुशासनलाई अझ बलियो बनाएर समृद्ध, स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशामा सम्बद्ध सबै पक्ष परिचालित हुनुपर्ने उल्लेख गरेकोे छ ।