नक्कली प्रमाणपत्रधारी शिक्षिकाविरुद्ध अख्तियारले हाल्यो मुद्दा

काठमाण्डौं/२५ पुष– तनहुँको मनपाङस्थित श्री जन जौ कुमारी शाही प्राथमिक विद्यालयका शिक्षिकाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएकोले अख्तियारले उनीविरुद्ध मुद्दा हालेको छ ।
अस्थायी शिक्षकको रुपमा कार्यरत तृतीय श्रेणीकी शिक्षिका अनिता पोखरेल वाग्लेले प्रावि शिक्षक पदमा नियुक्त हुन माध्यमिक शिक्षा परिषद, क्षेत्रीय कार्यालय वाराणसी भारतबाट हाइस्कुल उत्तीर्ण गरेको झुट्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको खुलासा भएको छ । नक्कली प्रमाणपत्र पेश गरेको खुलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आज शुक्रबार उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
नक्कली प्रमाणपत्र पेश गरी शिक्षण पेशामा संलग्न रहेको भन्ने उजुरीको आधारमा वाग्लेलाई अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । अनुसन्धानको क्रममा उनले २०५६ साल मंसिर १० गते प्राथमिक शिक्षकको रुपमा अस्थायी नियुक्ति लिई २०७५ साल चैत्र ८ गतेसम्म विद्यालयमा कार्यरत रही सार्वजनिक पदको दुरुपयोग गरी त्यसको लाभ तथा सुविधा प्राप्त गरेको देखिएकोले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय सहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।