काठमाण्डौं/२१ पुष– बोर्डिङ स्कुलमा अध्ययनरत १० बर्षीय तौफिक धुनियाँलाई कुट्ने शिक्षक शैलेन्द्र बराईलाई आईतबार मर्चवारको ईलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
रूपन्देही सम्मरीमाई गाउँपालिका–६ मर्चवारको ज्ञानदीप बोर्डिङ स्कुलको कक्षा ५ मा कम्प्युटर पढाउने २२ वर्षे शिक्षक बराईले तौफिकलाई होमवर्क नगरेको भन्दै गत बुधबार लठ्ठीले हानेका थिए । १४ जना विद्यार्थी रहेको उक्त कक्षाकोठामा अघिल्लो दिन दिएका होमवर्क नगरेको भन्दै उनले तौफिक धुनियाँसहित ६ जना विद्यार्थी जगिन्दर हरिजन, निरज केवट, रबिन्द्र प्रजापति, रामकुमार लोध र रिन्का बरइलाई उभ्याएर लठ्ठीले हानेको थियो ।
शिक्षकले हातखुट्टामा लठ्ठी बर्षाउन थालेपछि छेक्ने क्रममा धुनियाँको हात, खुट्टा र आंखामा गहिरो चोट लागेको हो । उपचारपछि धुनियाँ राति ९ बजे घर फर्किएका थिए । उनको आँखा सुन्निएर हेर्न सक्ने अवस्थामा छैन ।
धुनियाँका बुवा रोजगारीका लागि साउदी अरब छन् । घरमा आमा, हजुरबुबा, हजुरआमा र उनका दुई बहिनी छन् । कुटपिट हुँदा आईतबार धुनियाँका परिवारले हुलाकमार्फत् उजुरी गरेपछि शिक्षक बराईलाई आईतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खड्ग खत्रीले जानकारी दिए।
बालबालिकासम्बन्धीको कसुर ऐन, २०७५ अन्तर्गत घर विद्यालय वा जुनसुकै स्थानमा बालबालिकालाई शारिरीक र मानसिक दण्ड दिने र अनैतिक व्यवहार गर्नेलाई करिब एक वर्ष जेल सजाय र ५० हजारसम्म जरिवाना हुन सक्ने डिएसपी खत्रिले बताए ।
पक्राउ परेका शिक्षकले आफ्नो गल्ती स्वीकार गरेका छन् । घटनाको अनुसन्धान प्रक्रिया पूरा गरी उनलाई बालबालिकाविरुद्धको अपराध अन्तर्गत मुद्धा चलाउने प्रहरीको तयारी रहेको छ ।