महानगरपालिका स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न


काठमाण्डौं /१७ पुष– विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले महेन्द्र भृकुटी मा. वि. द्वारा आयोजना गरिएको महानगरस्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा ललितपुर महानगरपालिकामा रहेका सम्पूर्ण सामुदायिक माध्यामिक विद्यालयलाई समेटेर महेन्द्र भृकुटी रोहिणी शाह कप लोक नृत्य प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता आयोजना विद्यालय व्यवस्थापन समितिका प्रमुख सल्लाहकार तथा नाष्टका प्राज्ञ डा. ऋषिविक्रम शाहको प्रायोजनामा महानगरस्तरकै पहिलो कार्यक्रम गरिएको कार्यक्रम संयोजक मिना बस्नेतले बताइन् ।


प्रतियोगितामा महेन्द्र भृकुटी मा.वि.लगायत श्री मच्छिन्द्र मा.वि. लगनखेल, बाल विनोद मा.वि. न. टोल, आदर्श सौल युवक मा.वि. बुङमती, महाँलक्ष्मी मा.वि. नखिकोट, जन उदय मा.वि. भैसेपाटि, श्री कृष्ण मा.वि. धापाखेल, श्री पद्म प्रकाश मा.वि. धापाखेल, यशोधरा मा.वि. हरिसिद्दि मा.वि., हरिसिद्दि, युवा प्रतिभा मा.वि. खोकना, जाल्पा मा.वि., धापाखेल, प्रभात मा.वि.त्यागल, टिका मा.वि. सानेपा, श्रमजित किशोर मा.वि. लुखुशी, प्रगती मा.वि. कुपन्डोल र श्री शान्ति मा.वि., बकुम्बहाल गरी जम्मा १८ वटा स्कूलहरूको सहभागिता रहेको थियो भने प्रतियोगितामा प्रत्येक स्कूलका ६ देखि १० जना सम्म विद्यार्थीहरूले सहभागी जनाएका थिए ।
उक्त प्रतियोगिताका निर्णायक मण्डलमा नेपाली कला नृत्यकार श्री नारायणदेवी प्रधान, अनिता ताम्राकार र कृष्ण भक्त महर्जन रहेका थिए । निर्णायकहरूले प्रतियोगीहरूको नृत्यलाई मात्र नभएर तिनीहरूको हाउभाउ, भेषभूषा र श्रृङ्गारको समेत मूल्याङ्कन गरेका थिए । महेन्द्र भृकुटी मा.वि.को प्राङ्गणमा भएको सो कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि चिरीबाबु महर्जनले समय समयमा भईरहने यस्ता कार्यक्रम तथा प्रतियोगिताबाट विद्यार्थीहरूमा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न सहयोग मिल्ने बताए ।


प्रतियोगितामा श्रमजित किशोर मा.वि प्रथम भएको छ । राउटे नृत्य प्रस्तुत गरेको श्रमजित मा.विले १८ वटा विद्यालयलाई पछाडि पार्दै प्रतियोगिताको उपाधि हासिल गरेको हो । त्यस्त,महेन्द्र भृकुटी मा.वि दोस्रो, बालकुमारी मा.वि तेस्रो भएको छ भने आदर्श सौल युवक मा.वि र श्री पद्म प्रकाश मा.वि चौथो भएका छन् । उत्कृष्ट कोरियोग्राफी भने श्री कृष्ण मा.वि ले प्राप्त गरेको छ ।


प्रथम भएको स्कूलले ट्रफीसहीत प्रमाणपत्र र नगद रु १५,००० प्राप्त गरेको छ भने द्धितीय भएको स्कूलले ट्रफीसहीत प्रमाणपत्र र नगद रु १०,००० र तृतीयले ट्रफीसहीत प्रमाणपत्र र नगद रु ५,००० र सान्त्वना हुनेले नगद रु २,००० सहित प्रमाणपत्र प्रदान गरीयो त्यस्तै उत्कृष्ट कोरियोग्राफरले नगद रु २,००० र प्रमाणपत्र हासिल गरेका छन् । उत्कृष्ट हुने विद्यालयलाई प्रमुख अतिथि तथा ल.पु.म.न.पाका मेयर चिरीबाबु महर्जनले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।