काठमाण्डौं /५ असार- बर्षायाम सुरुवातीसँगै बाढीले सिन्धुपाल्चोकको हेलम्बुमा तथा मेलम्ची बजारमा रहेका केहि सार्वजनिक विद्यालय र केहि संस्थागत विद्यालयहरु बगाएको छ । केही दिनदेखि आएको बाढीले सार्वजनिक तथा संस्थागत विद्यालयहरु बग्नुका साथै भौतिक रुपमा क्षति भएको हो ।
कोभिड -१९ महामारीको संक्रमण रोकथामका लागि बन्द गरिएका विद्यालय खुल्न नपाइ बाढीका कारण प्रभावित भएका छन् । नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना अभियानमा लाग्नेबेला हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका नदी छेउछाउका केही विद्यालयहरु डुबानमा परेका छन् । साथै यो क्षेत्रका धेरै विद्यालयहरु उच्च जोखिममा रहेका छन् ।
हेलम्बुमा रहेको इस्ट पोइन्ट बोर्डिङ पनि बाढीले बगाएको छ । यस्तै मेलम्ची नगरपालिका ६ तालमाराङमा रहेको तेर्से माविमा पनि नदीले क्षति पुर्याएको छ । कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयको एउटा भवन नदीले बगाएको हो । समता निकेतन स्कुल मेलम्ची, मेलम्ची कमिटी स्कुल, सरस्वती मावि ग्याल्थुम,भूमेश्वरी मावि किउल हेलम्बु, गोल्मादेवी मावि हेलम्बु लगायत आधा दर्जन बढी विद्यालय बाढीबाट प्रभावित भएको पत्रकार टङ्क खड्काले जनाएका छन् ।



