ताप्लेजुङ/ ५ असार – ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले कक्षा ११ र १२ अध्ययन गर्ने सबै विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने भएको छ । ‘निःशुल्क शिक्षा हामी सबैको इच्छा’ कार्यक्रम घोषणा गर्दे गाउँपालिका भित्रका कक्षा ११ र १२ अध्ययन गर्ने सबै विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गरेको हो ।
एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण गर्ने गाउँपालिका भित्रको एक जना विद्यार्थीलाई गाउँपालिकाको खर्चमा निःशुल्क पढाउने नवौँ गाउँ सभामार्फत घोषणा गरेको गाउँपालिकाले जनाएको छ । तर एमबीबीएस अध्ययन पश्चात दुई वर्ष गाउँपालिकाभित्रको स्वास्थ्य कार्यालयमा अनिवार्य सेवा गुर्न पर्ने सर्त राखेको छ ।
प्रत्येक वडाका एक जना उत्कृष्ट विद्यार्थीलाई प्राविधिक शिक्षा निःशुल्क पढाउने व्यवस्था गरेको जानकारी दिएको छ । साथै पालिका भित्रका ४१ वटै विद्यालयका विद्यार्थीको पोसाकमा एकरुपता कायम गर्ने नीति लिएको छ ।
त्यसै गरी एसईई दिने विद्यार्थीका लागि एसईई दिनु भन्दा दुई महिना अगाडि देखि निःशुल्क कोचिङ कक्षा चलाउने निर्णय गरेको छ । उपाध्यक्ष छात्रवृत्ति कार्यक्रम अन्तर्गत दलित, महिला र अपाङ्गता परिचयपत्र प्राप्त विद्यार्थीको भर्ना शुल्क, मासिक शुल्क, रजिष्ट्रेसन शुल्क र परीक्षा शुल्कवापतको रकम गाउँपालिकाले ब्यहोर्ने भएको छ ।
यस्तै प्रत्येक वर्षको एसईई परीक्षामा पालिकाभित्रबाट सर्वोत्कृष्ट नतिजा ल्याउने एक छात्र र एक छात्रालाई एक–एक थान ल्यापटपसहित सम्मान गरिने भएको छ । साथै कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने एक छात्र र एक छात्रालाई नगद रकमसहित पुरस्कृत गर्ने घोषणा गरेको छ



