सुर्खेत/२८ जेठ
मन्त्री ज्यू हामी त सक्षम छौं हामीलाई केहि चाहिँदैन
हामी त सुर्खेतका शिक्षक,
लुम्बिनीको बारेमा पढाउँदा काक्रेविहार देखाउछौंं
रारा तालको बारेमा पढाउँदा बुलबुले ताल देखाउछौं
यार्सागुम्बाको परिचय दिदा मकैमा लाग्ने गवारो देखाउछौं
इलामको चिया बगानको व्याख्या गर्दा हिमाली जडीबुटीको मुन्टा देखाउछौं
त्यसैले शिक्षकलाई भर्मण गर्न जरुरी छैन पर्यटन भत्ता र काज चाहिँदैन
मन्त्री ज्यू हामी त कर्मशील
विद्यालय नजिक होटल छैनन् मकै, भट्ट, रोटी खान्छौं
सरकारी साइकल विद्यालयमा छैनन् हिडेरै विद्यालय जान्छौं
बत्तिको आवस्यकता छैन प्राकृतिक स्वच्छ हावापानी खान्छौं
बहुकक्षा शिक्षण गर्दै फूलबारी र करेसाबारी खन्छौं
त्यसैले त निरोगी छौँ हामी उपचार गर्न अस्पतालमा छुट चाहिँदैन
मन्त्री ज्यू हामी त देश भक्त
हाम्रा सन्तान विदेश पलायन हुने वातावरण हुदैन
स्वदेशमा बस्छन त्यसैले हामी वृद्धआश्रम जानु पर्देन
बजेट भाषण खोक्ने, प्राणदाता, न्यायकर्मी सबै हाम्रा चेला
शिक्षकको अपमान देख्दा जलिरहन्छ मन बेला बेला
त्यसैले त हाम्रा सन्तानलाई छात्रवृत्तिको कोटा चाहिँदैन
मन्त्री ज्यू हामी त निर्जीव प्राणी
घुम्ने कुर्ची चाहिँदैन हामीलाई चकटी र मुडा भए पुग्छ
सुरक्षाकर्मिको आवश्यक छैन घरमा भोटे कुकुर भुक्छ
सन्ततिलाई मन्दविष रुपी धन चाहिँदैन गास भए पुग्छ
झुपडीमा बसे पनि शिक्षक आनन्दले सुत्छ
त्यसैले त हामीलाई आराम चाहिँदैन
मन्त्री ज्यू हाम्रा बिद्यार्थी पनि त सन्तोषी
मन्त्रालयमा घन्टी बजाएर टेबुलमा खाजा आउनेलाई
महंगीले सगरमाथा चढिसक्यो ज्ञान छ र कसलाई?
रित्तो झोला भोको पेट खाली खुट्टा विद्यालय आउँछन्
साथीको खाजा के छ भनि झोला झोला चिहाउँछन्
त्यसैले त खाजाको बास्ना सुँघेर अघाउछन्, खाजा भत्ता रु १५ धेरै हुन्छ उनीहरुलाई
मन्त्री ज्यू हामी त समाजसेवी
आमाको स्नेहलाई बिर्साउने ममता बनेर
नाँच्दै, गाँउदै, हँसाउदै अक्षर चिन्न र लेख्न सिकाएर
आमा कामबाट नआउदा चार बजे सम्म बच्चा कुरेर बस्छौं
दैनिक रु २६६को ज्याला काफी छ, इसिडीका शिक्षक समाजसेवी हौँ
त्यसैले त हामीलाई तलब बृद्दी चाहिँदैन
मन्त्री ज्यू हामी त ढुंगे युगमा छौँ
धन्य हाम्रो सरकार सत्रौं सताब्दीमा नै रहेछ
बर्षौं पुरानो दर रु४०० छात्रवृत्ति दिदै आएको छ
छुवाछुत अन्त्य भन्छ दलित छात्रवृत्ति पोशाक भत्ता बाँड्दै
किंकर्तव्यविमूढ छौ शिक्षक, गैर दलितको नाङ्गोपन हेर्दै
त्यसैले त महंगीलाई बुझ सरकार रु ४००को केहि आउँदैन, वास्तविक गरिबले न्याय पाउँदैन
मन्त्री ज्यू हामी त बहुनामी
उचित न्याय दिएर टुङ्गो लगाउ सरकार, हामी सत्र प्रकारलाई
स्थानीय श्रोत, राहत, गुठि, प्यापशन, करार, अस्थाई अनि स्थाइ
बालविकास, पिसिएफ, सट्टा, लियन, कतै के के हुन् खै ज्यालादारी
आँगन उही दाइँ उही नाम किन राख्छौ थरीथरी
त्यसैले त हामीलाई धेरै थरी नाम चाहिदैन
मन्त्री ज्यू हामी त अन्यायमा नपर्ने शिक्षक
बसी बसी तलब खान्छन् भन्ने हाम्रा चेलाहरुलाई
के थाहा खाए खा नखाए घिच भनेर दिएको विदालाई
कृषि प्रधान देशको तिम्रो नारा बचाउने डलरे खेतीको सम्मान गर्न
मुटु माथि ढुंगा राखि बाध्य हुन्छौं वर्षे बिदा गर्न
त्यसैले त बर्षे बिदा नहटा सरकार घर बिदा र संचित बिदाको व्यवस्था चाहिँदैन
चन्द्रा भण्डारी न्योपाने
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय,बीरेन्द्रनगर ५ चिसापानी, सुर्खेत



